सरोज खनालसँग ‘जिन्दगीको सफल मोडमा’ देखिइन् गीतकार जानकी

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७७, आईतवार

काठमाडौं । गीतकार जानकी पन्त जूनको शब्द रचनामा रहेको गीत ‘जिन्दगीको सफल मोडमा’ को भिडियो सार्वजनिक भएको छ । भूपेन्द्र रायमाझीको सङ्गीत र सङ्गीता शाक्यको स्वर रहेको यस गीतको भिडियो कुमुद इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भरखरै सार्वजनिक भएको हो । गीतमा जीवनको कुनै मोडमा कसैको साथ पाएर मन पुलकित भएको र खुशी छचल्किएको भावहरु पोखिएको छ ।

वरिष्ठ कलाकार सरोज खनाल र जानकी स्वयंको अभिनय रहेको यो भिडियो वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा तयार भएको हो भने भिडियोको सम्पादन र कलर करेक्शन पनि वीरेन्द्रकै रहेको छ । यस भिडियोका सिनेम्याटोग्राफर रामसिंह भाट हुन् ।


सकारात्मक सन्देश बोकेको यस भिडियोमा ‘जीवन अमूल्य छ एउटा पीडा हुँदैमा, एउटा चोट लाग्दैमा र एकपटक असफल हुँदैमा जीवनबाट हार खानु हुँदैन’ भन्ने कथा प्रस्तुत गरिएको छ । भिडियोको कथा अनुसार जीवनबाट हार खाएर आत्महत्या गर्न लागेकी युवतीलाई एक युवकले बचाउँछ । युवक सङ्गीतज्ञ भएको कारण उसले युवतीलाई सङ्गीत सिकाउँछ । युवतीको गीत रेकर्ड हुन्छ र अन्ततस् उसले म्युजिक अवार्ड जित्छे । भिडियोमा यसरी आत्माहत्याको स्थितिदेखि कसैको साथ, प्रेरणा, लगन र आत्मविश्वासबाट हासिल भएको सफलताको चरण सम्मका कुराहरु देखाएको छ । युवतीलाई बचाउने सङ्गीतज्ञको भूमिकामा सरोज खनाल र विक्षिप्त अवस्थादेखि म्युजिक अवार्ड जित्ने कलाकारको भूमिकामा जानकी पन्त जूनले अभिनय गरेका छन् । भिडियोका निर्माता कुमुद पन्त हुन् ।

कलाप्रेमी, चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जूनको अध्यक्षतामा हालै नेपाल फिल्म सोसाईटीको १५ सदस्यीय कार्यसमिति रहेको यूके शाखा गठन भएको छ । युके शाखा गठन भएसँगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई ऐक्यवद्ध गराउँदै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन लागिपर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष जूनले बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु