• सुप्रसिद्ध निबन्धकार शंकर लामिछानेप्रति हार्दिक श्रद्धाञ्जली !

    म्यूजिक खबर
    प्रकाशित: १० माघ २०७८, सोमबार

    आज वि. स. २०७८ माघ १० गते सुप्रसिद्ध निबन्धकार शंकर लामिछानेको सम्झना र योगदानको चर्चापरिचर्चा गर्ने दिन हो । गत बर्षहरुमा झैँ आज गर्ने कार्यक्रम ओमिक्रोन भाइसरका कारण सरकारी निर्णय तथा सामाजिक यर्थाथसमेतलाई ध्यानमा राखी शंकर लामिछाने प्रतिष्ठानले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । सो कुरा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले बताएका छन् ।

    नेपाली निबन्धमा देवकोटापछि लामिछाने नै विशिष्ट निबन्धकारको रूपमा रहेका छन् । लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय मानिन्छ । यी विशेषताहरु आजका निबन्धहरूमा भने त्यसको अभाव देखिन्छ । ५० वर्षपछिका लागि लेख्ने लामिछानेले हृदय र मस्तिष्क दुवैलाई छोएर लेख्ने गरेका थिए ।

    विसं १९८४ चैत ५ गते काठमाडौँमा जन्मिएका लामिछानेको निधन २०३२ साल माघ १० गते भएको थियो । उनका गौथलीको गुँड (कथासङ्ग्रह), विम्ब प्रतिविम्ब (निबन्ध सङ्ग्रह), ‘ एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ (निबन्धसङ्ग्रह, मदन पुरस्कार–२०२४) ‘गोधुली संसार’लगायत कृति प्रकाशित छन् ।

    नेपालमा पहिलो पटक २०१९ सालमा जापानबाट ‘हाइकु’ भित्र्याउनमा लामिछानेको देन रहेको छ । उनका निबन्धमा चिन्तन, मानवीय सन्देश, महिलालाई हेर्ने दृष्टिकोणमा संवेदनशीलता, सामाजिक धरातल र बस्तुनिष्ठता पाइन्छ ।

    जीवन निर्वाहका क्रममा प्राध्यापनसहित पुस्तकालयकर्मी, क्युरियो व्यापारी र साहित्यिक पत्रकारसमेतको भूमिका उनले निर्वाह गरेका थिए ।

    प्रतिष्ठानले रू. ५० हजार नगदसहित “शंकर लामिछाने निबन्ध पुरस्कार” र रू. २५ हजार नगदसहित “शंकर लामिछाने युवा निबन्ध पुरस्कार” प्रदान गर्दै आएको छ । प्रतिष्ठानले विभिन्न सर्जकहरुलाई अभिनन्दित पनि गर्दै आएको छ भने क्रुतिहरु पनि प्रकाशन गर्दै आएको छ ।

    शंकर लामिछानेका विशेषताहरु :

    १. शंकर लामिछाने रेडियो नेपालका प्रथम गीतकार हुन्, उनको शब्दमा नातिकाजीको संगीतमा हरिप्रसाद रिमालले गाए , मेरो मुटूको टुक्रा ..

    २. शंकर लामिछाने नेपालमा हाइकु भित्र्याउने स्रष्टा हुन् ।

    ३. शंकर लामिछानेले नै थापाथली बबरमहल चोकको नाउँ माइतीघर राखिदिए, जसलाई पछि काठमाडौं महानगरपालिकाका मेयरले माइतीघर मण्डला बनाए । ( कारण, शंकर लामिछानेको सल्लाहमा सुमनाञ्जली फिल्मको पहिलो फिल्मको नाउँ माइतीघर राखिएको हो। )

    ४. वि. सं. २०१८ साल भदौ २५ गते आगलागी भएर बन्द भएको जनसेवा सिनेमा हलका अन्तिम म्यानेजर पनि शंकर लामिछाने नै थिए ।

    ५. शंकर लामिछाने जीवनमा एकपटक होटल शंकरका म्यानेजर पनि भए ।

    ६. नेपालमा विज्ञान कथा लेख्ने पहिलो कथाकार पनि शंकर लामिछाने नै हुन् ।

    ७. महाकवि देवकोटाका शिष्य शंकर लामिछाने कै पहलमा देवकोटा, शंकर र तत्कालीन भारतीय राजदूत भगवान सहायले त्रिभुवन विश्व विद्यालयको निम्ति कीर्तिपुरको जग्गा लिजमा लिएका थिए ।

    ८. शंकर लामिछाने द माउन्टेन इज योँग नामक सिनेमाका लियाजन अफिसर भए तर सिनेमा चैँ पूरा भएन ।

    ९. शंकर लामिछानेले नेपालमा सुरु सुरुमा विज्ञापन पनि लेखे ।

    १०. शंकर लामिछानेले पारिजातको “शिरीषको फूल” र पिटर जे कार्थकको “प्रत्येक ठाउँ प्रत्येक मान्छे”मा लेखेको भूमिका चर्चित छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु