सिक्किम साहित्य उत्सव भव्यरूपमा सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७८, आईतवार

सिक्किम । हाम्रो वार्ता टेलिभिजनको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित सिक्किम साहित्य उत्सव भव्यरुपमा सम्पन्न भएको छ । राजधानीस्थित मनन केन्द्रमा आयोजित कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको मुख्य अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईको उपस्थिति रहेको थियो । त्यस्तै, नेपालका प्रसिद्ध कवि नवराज पराजुली, कालेबुङबाट मनोज बोगटी, दार्जीलिङबाट कवियत्री पवित्र लामा र सिक्किमबाट कवि र प्रविण राई जुमेलीले कविता वाचन गरेका थिए।

यस अवसरमा साहित्यकार डा. राजेन्द्र भण्डारी, चेतनराज श्रेष्ठ, गुप्त प्रधान,केएन शर्मा, बिनाश्री खरेल र शशी शेर्पालाई अभिनन्दन गरिएको थियो । सो अवसरमा सिक्किम विश्वविद्यालयका सह-प्राध्यापक देवचन्द्र सुब्बा र चेतन राज श्रेष्ठले किताब पठन र नेपाली भाषाको प्रयोगबारे चाखलाग्दो वार्ता प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मुख्यमन्त्री तामाङले सर्वप्रथम यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई बधाई दिए। नेपाली भाषाको महत्त्वबारे बोल्दै उनले २० अगस्त भाषा मान्यता दिवस रहेको कारण यस वर्षदेखि सरकारले २० अगस्तको दिन सराकरी विदा घोषित गरिसकेको बताए । उनले भने, “नेपाली भाषाले मान्यता प्राप्त गरेपछि देशको संसदमा पनि नेपाली भाषामा शपथ ग्रहण गर्ने प्रावधान रहेको छ ।”

राज्यका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नेपाली भाषामा शपथ ग्रहण गरेको बताए । नेपाली भाषालाई बढावा दिने उद्देश्यले सरकारले विभिन्न प्रकारको पहल सुरू गरिने अवगत गराए । सरकारले बोर्ड गठन गर्ने र यसलाई कानुनी मान्यता दिनको निम्ति सिक्किम विधानसभामा पारित गर्ने घोषणा गरे। पूर्वज साहित्यकारहरूलाई अपतन फोलेशिप घोषणा गर्ने र यसलाई शीघ्र लागु गरिने आश्वासन दिए । उनले भने, “यदि कुनै पनि लेखक साहित्यकारहरूले आर्थिक समस्याको कारण पुस्तक प्रकाशित गर्न नसकेको खण्डमा सरकारले पुस्तक प्रकाशमा सहयोग गर्नेछ । सिक्किमले चलचित्र क्षेत्रलाई बढावा दिनको निम्ति नयाँ नीति तयार गरेको र ७० प्रतिशत चलचित्र सिक्किममा निर्माण गरेको र स्थानीय कलाकारहरूलाई अवसर प्रदान गरेमा राज्य सरकारको तर्फबाट सहयोग पुऱ्याइने छ ।”

नेपाली सिने जगतका नायक भुवन केसी पनि अतिथको रुपमा कार्यक्रममा उपस्थित रहेको थियो।
कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले साहित्यबाट समाजलाई हेर्ने दृष्टिकोण फरक रहेको हुने र यसमा हुने साहित्यकार लेखकले विरोधमा मात्र नलेखेर समाजिक विषयका मुद्दाहरुमाथि पनि लेख्नु पर्ने बताए ।

उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी स्कुलका विद्यार्थीहरुलाई लिएर कविता, वाकपट्टुता, पुस्तक निरुपण र चित्रकला प्रतिय‍ोगिता राखिएको थियो । प्रथम र दोस्रो हुने विद्यार्थीहरुलाई मुख्य अतिथिबाट पारितोसिक र प्रमाण पत्र वितरण गरिएकाे थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु