• शब्दचित्रमा लक्ष्मी प्रसाद जोशी (एल.पी.जोशी)

    म्यूजिक खवर
    प्रकाशित: ३ असार २०७६, मंगलवार
    LP Joshi-Laxmi Prasad Joshi

     

    म्यूजिकखबर/काठमाडौं
    एल.पी.जोशीको पूरा नाम लक्ष्मी प्रसाद जोशी हो । उनी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार हुन् । उनले आफै संकलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भएका छन् । उनको जन्म धनकुटामा भएको हो ।
    रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो, ऐयाया ‘ आक्काका‘सान्नानी’, पुराना चर्चित पूर्वेली लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीले गाएको यो गीत मन नपराउने सायदै कोही होलान् । नेपाली लोकसङ्गीतका पारखीहरुबीच लोकप्रिय गायकका रुपमा परीचित उनी पुराना गाउँ र बस्तीका गीतहरु गाएर नै चर्चाको शिखरमा पुग्न सफल भएका हुन् । नेपाली समाजको मैलिकतामा रहेर शब्द संकलन तथा सृजना गर्न माहिर उनका गीत पछिल्ला समयका युवा पुस्ताले नजाने पनि बुढापाकाको मुखबाट भने अझै बिलाउन सकेको छैन ।

    ’‘रिटिङ रिटिङ नबजाऊ बिनायो
    बिनायोले मन मेरो छिनायो… ।’’

    यो गीत वरिष्ठ लोकगायक एल.पी. जोशी नामको पर्याय झैं बन्यो । २०१७ सालमा रेर्कड भएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । सबैको जिब्रोमा झुण्डिएकै छ । उनी जहाँजहाँ पुग्छन्, त्यहाँ यो गीत नगाई धरै पाउँदैनन् । उसो त उनले पूर्वका धेरै राम्राराम्रा लोकभाका पनि गाएका छन् । ‘ओल्लो खोला, पल्लो खोला–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङमट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’जस्ता गीतहरु धेरै लोकप्रिय छन् । उनी यी गीतहरुलाई जीवनकै पर्याय मान्छन् । बिनायोले नै आफूलाई चिनायो ।

    नेपालमा बिनायोलाई पहिलोपल्ट प्रयोग गर्ने उनै हुन् । त्यसैले होला आज बिनायो भन्नेबित्तिकै जो कोहीले पनि पहिला एल.पी.जोशीलाई नै सम्झिन्छन् । नेपालमा बिनायो लोप हुँदै गएको बेला उनले घरमै बिनायो राखेका छन् । फुर्सदमा मन खोलेर बजाउँछन् । उनी भन्छन्– ‘यसरी मुखमा राखेर बिनायो बजाउन जान्ने मान्छे भेट्न पनि मुस्किल छ अहिले त ।’ उनले पहिलोपल्ट चर्चित महाकाव्य मुनामदनलाई गीतिनाटकका रुपमा मञ्चन गरे । प्रवेशीका परीक्षा छोडेरै गायनमा लागे । आफू गायनमा आउनुको श्रेय चाहीँ आफ्नै बुवालाई दिँदारहेछन् उनी ।

    २०१३ सालमा पहिलोपल्ट उनको गीत रेडियो नेपालमा रेर्कड भयो । त्यहाँ गीत गाउनका लागि उनले कुनै पनि ‘भ्वाइस टेस्ट’ को परीक्षा दिन परेन । पहिलो गीतले नै उनलाई गायकका रुपमा स्वीकृति दियो । सँगैका साथीहरुले स्वर परिक्षण गराए । पहिलोपल्ट गीत गाउँदा उनले ८ रुपियाँ पारिश्रमिक पाएका रहेछन् । उतिबेला पनि उनी दरबारीया कार्यक्रमहरुमा गीत गाउँन जान्थे । एउटा कार्यक्रममा गीत गाउँदा ५० रुपियाँ पाउँथे । कति उनका गीतहरु अरुका नामबाट रेर्कड भएछन् । त्यो क्षणलाई उनी जीवनकै दुःखदायी समय भन्छन् ।
    १७÷१८ बर्षको कलिलो उमेरमै उनलाई रेडियो नेपालमा गीत गाउने अवसर मिल्यो । पहिलोपल्ट २०१३ सालमा प्रजातन्त्र दिवसको दिन गीत गाएको सम्झन्छन् उनी । आजसम्म गाएका गीतको संख्या जम्मा ६०÷६५ वटा पगे । तर यहाँ त कुनै गायकले ५० वटा गीत गाए पनि २ सयवटा भनिदिन्छन् । १ सयवटा गाए भने ५ सयवटा भनिदिन्छन् । तर, आफूले नगाएको गीतको संख्या बढाउनु हुँदैन । गीत–सङ्गीतको क्षेत्रमा थुप्रै विकृतिहरुप्रति उनी दुःख व्यक्त गर्छन् ।

    बीपी कोइरालासँग उनी एकप्रकारले नजिक थिए । बीपी २००८ सालमा धनकुटा गएका थिए । उनको कार्यकालमा गृहमन्त्री चिनियाकाजी मारिएपछि बीपीको सर्वत्र विरोध भयो । उतिबेला उनी ‘बालसखा’ भन्ने बालबालिकाको संस्थामा आवद्ध थिए । त्यतिबेला उनले पनि बीपीको विरुद्धमा चर्काचर्का नारा लगाएछन् । बीपीको चिता बनाएर जुत्ताको माला लगाएर बजार परिक्रमा गराए । सो घटना थाहा पाएर बीपीले उनलाई साँझमा भेट्न बोलाए । बीपीले उनलाई आफैँले ल्याएको चिनीया चक्लेट दिए । तर, उनले खाएनन् । उनी सम्झिँदै भन्छन्, ‘उतिबेलैदेखि म बीपीलाई सान्दाजु भनेर सम्बोधन गर्थें ।’

    ७ बर्षपछि पुनः पाँचथरमा उनको बीपीसँग भेट भयो । उनी कांग्रेसको चुनावी प्रचारका लागि गीत गाउँन त्यहाँ पुगेका थिए । उनी भन्छन्, ‘बिपीले धेरैपल्ट चुनावी गीत गाउन सँगै लिएर हिँडे । गीत गाएबापत मैले अलिअलि खर्च पाउँथे । त्यही लोभले उतिबेला पूर्वका पहरा–पहराहरुमा गीत गाउँदै हिँडीयो तर म कांग्रेस चाहीँ थिइँन ।’ उनले सजिलै बीपीको मन जिते । केही समस्या पर्दा बीपीलाई भन्थे । बीपीसँगको सङ्गत बढ्न थालेपछि र कांग्रेसी गीत गाउँदै हिँड्न थालेपछि उनलाई साथीभाइहरुले ‘कांग्रेसी’ पनि भनेछन् । तर, उनी त्यसो गर्नु आफ्नो बाध्यता थियो भन्छन् ।
    राजा महेन्द्रसँग पनि उनको हेलमेल थियो । गीत गाएरै उनी राजा महेन्द्रको नजरमा परेका थिए । २०१९ सालमा महेन्द्र पूर्वी विराटनगरमा आएका थिए । एउटा संस्थाको लोकनृत्य लिएर उनी धरानबाट विराटनगर गए, राजालाई कार्यक्रम देखाउनका लागि । उनी मुखैले सनही बजाउँथे । महेन्द्रका अगाडि उनले पहिलोपल्ट उतिबेलाको चलेको गीत प्रस्तत गरे ।

    ‘केको कोर्काे, केको कोर्काे कुराउनीको कोर्काे लैलै
    अहिलेको त झिल्के मात्रै पोइ त राम्रो पोरको नै लैलै ।’

    यो गीत सुुनेर राजा मञ्चमै दिल खोलेर हाँसेछन् । कमै मात्र खित्का छोडेर हाँस्ने राजालाई गीत गाएर हसाउँन सकेकोमा उनी मख्ख पनि भएछन् । त्यही गीत सुनेर उनलाई मन पराएका राजाले फर्कने बेलामा काठमाण्डौं आउन निम्ता गरे, लोकगीतको प्रतियोगितामा भाग लिन । उतिबेला दरबारमा लोकगीत प्रतियोगिता हुने गर्दथ्यो । कार्यक्रममा गाए बापत अलिअलि खर्च पनि आउँथ्यो । उनीपछि साथीभाइहरुको टोली बनाएर दरबार पुगे । निर्णायकमा धर्मराज थापा र लक्ष्मण लोहनी थिए । उनी पहिलो प्रतियोगितामा प्रथम भए । २०२२ मा उनी सोभियत रुस गए । सांस्कृतिक आदनप्रदान कार्यक्रमअन्र्तगत त्यहाँ जाने अवसर मिलेको थियो । उनी शिवशंकर, कृष्णनारायण, तारादेवीसँगको टोलीमा त्यहाँ पुगे ।

    उनी गायक मात्रै होइनन् । उनलाई बहुमुखी प्रतिभाका धनी व्यक्ति भनेर सम्बोधन गरिएन भने उनको व्यक्तित्व र काममाथि अन्याय पर्न जान्छ । उनी एक कुशल चित्रकार पनि हुन् । उनी क्यानभासमा खेल्छन् । कोलाजमा रमाउँछन् । राजा वीरेन्द्रको तस्विर आर्ट गर्दा राजा खुसी भएर उनलाई त्यतिबेला पनि १ हजार रुपियाँ पुरस्कार दिएका थिए, वीरेन्द्रले । र, त्यो तस्विरमा राजाले हस्ताक्षर गरिदिए । उनले तस्विर देखाउँदै भने, ‘यो मेरो जीवनको मीठो सम्झना हो ।’ उनले अरु थुप्रै क्यानभासहरु उतारेका छन् । जीवनजत्तिकै सजीव चित्रकारिताको खुबी छ उनमा ।


    उनी कलाकारितामा पनि पोख्त छन् । नेपालको दोस्रो चलचित्र ‘हिजोआजभोलि’मा उनले नेपालकी पहिलो नायिका भुवन चन्दसँग मूख्य भूमिकमा फिल्म पनि खेलेका छन् । जीवनकालमा जम्मा ९ वटा चलचित्र खेले उनले । किराँत नृत्यलाई पहिलोपल्ट राष्ट्रिय स्तरमा चिनाउने काम पनि उनैले गरे । हाँस्दै भन्छन्, ‘उतिबेला चल्तिको हिरो थिएँ म ।’ जीवनमा १ भन्दा बढिसँग प्रेममा फसेनछन् उनी । प्रेमका बारेमा सन्दर्भ जोड्दा गायन र अभिनयको व्यस्तताले कहिल्यै त्यतातर्फ सोच्न फुर्सदै नभएको जवाफ दिन्छन् । तर, वैंशमा उनका लागि मरिहत्ते गर्ने थुप्र्रै रहेछन् । भन्छन्, ‘अघिपछि हिँड्ने थुप्रै थिए । कति आए कति गए हिसाबै राखिएन ।’

    जीवनसंगी वृन्दाको हौसला र प्रेरणाकै कारण उनी जीवनमा सफल भएको ठान्छन् । भन्छन्, ‘आज जे, जति हाँसिल गरे, यो सबै वृन्दाकै सहयोगको बलबाट सम्भव भएको हो ।’ वृन्दासँग उनले प्रेमविववाह गरेका थिए, भागेर । आज वृन्दा उनको सम्झनामा मात्रै छिन् । १४ महिनाअघि उनी बितीन् । उनी अब बिस्तारै विस्मृतिमा गइरहेछिन् । भावुक हुँदै भन्छन्, ‘उनी बितेपछि मेरो बिनायोको तार छिनेजस्तै भएको छ । बिनायो सफा गरिदिने मान्छे छैन अहिले । साथ चाहिने बेलामा दैवले चुँडेर लग्यो, म ठगिएँ ।’ भेटमा उनले पत्नी वृन्दाको वियोगमा लेखिएको एउटा कविता पनि पढेर सुनाए ।

    धनकुटाबाट दमक आउँदा उनले शिक्षकको रुपमा जागिर पनि खाएँ । दमकलाई नै उनले कर्मथलो बनाए । गायन जीवनको लामो समय उनले मोफसलमै बिताए । काठमाण्डौंमा बस्नेहरुले मोफसललाई सधैं हेला गर्ने गरेको उनको ठम्याइ छ । तर, आफूले मोफसलमै बसेर धेरै काम गरेकोमा खुसी पनि छन् । मोफसलमै बसेर उनले गीत र कविताको संयक्त सङ्ग्र्रह ‘अनावृत्त’ पनि प्रकाशन गरेका छन् । जीवनको उत्तराद्र्धमा अहिले उनी दमक बजारमा पसल गरेर जीवन चलाइरहेका छन् । भन्छन्, ‘जीवनमा धेरैथोक गरियो । अझै धेरै गर्नु छ । त्यो भन्दा बढि अझै धेरै दुःखहरुलाई भोग्नु छ ।’ उनी जीवनलाई दुःखको पर्याय ठान्छन् । उनी अनवरत संघर्षमै छन् ।
    –कुराकानीमा आधारित

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु