बलिउडका प्रसिद्ध गीतकार समीर अन्जानलाई गीतकार संघको अभिनन्दन

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०८०, आईतवार
Song writer Sameer Anand

काठमाडौं । बलिउडका प्रसिद्ध गीतकार समीर अन्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । गीतकार संघ नेपाल र लुकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा गीतकार संघ नेपालको तर्फबाट अभिनन्दन गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व एवं पूर्व मन्त्री एवं प्रतिष्ठित गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा प्रसिद्ध गीतकार समीरलाई अभिनन्दनपत्र, दोसल्ला र ढाका टोपी लगाएर सम्मान गरिएको हो ।

कार्यक्रममा लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरका संरक्षक वसन्त चौधरी, उपाध्यक्ष हरिहर शर्माको आतिथ्यता रहेको थियो । काठमाडौंको मल्ल होटलमा भएको कार्यक्रममा गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
समीरले विश्वमै सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका छन् ।

समारोहमा बोल्दै गीतकार समीरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिको यो भूमिमा आएर सम्मानित हुन पाउँदा आफू निकै प्रफुल्लित भएको बताए । हिमालय र पहाडका बिचबाट काठमाडौं उत्रिने क्रममा आउँदा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर र लिएर जाने बताए । उनले नेपालका बारेमा केही न केही लेख्ने बताउँदै नेपाल प्रवेशसँगै लेखिएको गीत गाएर सुनाएका थिए । उनले गीतकार संघ नेपाललाई अभिनन्दन कार्यक्रम आयोजनाका लागी धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै गीतकार तथा कवि बसन्त चौधरीले विश्वका सबै कुनामा बस्ने हिन्दी गीत मन पराउनेहरुका लागि समीर ‘अन्जान’ नभएको बताए । उनले समीरका बारेमा उल्लेख गर्दै नेपालमा अभिनन्दन गर्न पाउनु सौभाग्यशाली भएको बताए ।

त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले यसपटक समीर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको भन्दै त्यसका लागि लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिए ।

गीतकार समीरका ‘नजरके सामने’, ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’, ‘चोरी चोरी चुपके चुपके’, ‘यारा ओ यारा’, ‘तेरे नाम’ लगायतका गीत लोकप्रिय छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु