चलचित्र निर्माता थापाविरुद्ध पक्राउ पूर्जी जारी

म्यूजिक खबर
प्रकाशित: २० चैत्र २०७९, सोमबार

काठमाडौं । निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म प्रसाद २ का निर्माता सुवास थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उच्च अदालत पाटनले थापा विरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । केशव पाण्डेले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट पक्राउको अनुमती ल्याएको हो ।

काठमाडौं परिसर प्रमुख दानबहादुर कार्कीले थापाविरुद्ध उजुरी परेको र उनी फरार रहेको बताए । प्रसादको निर्माता रहेका उनले प्रसाद–२ को निर्माता बनाउँछु भन्दै पाण्डेसँग ६२ लाख ५० हजार लिएर पछि अर्कैलाई निर्माता बनाएर फिल्मको छायाँकन सक्काएका थिए ।

थापाले कलाकार, प्राविधिक र फिल्म सुटिङ गरेको कास्कीको होमस्टेको समेत पैसा नदिई फरार भएपछि कलाकार संघ, प्राविधिक संघ र चलचित्र विकास बोर्डमा उजुरी परिसकेको छ। पाण्डेले निर्माता संघमा समेत उजुरी दिएको बताए ।

उनले थापाको बदमासी खुलाउँदै चलचित्र विकास बोर्डमा उजुरी दिन खोज्दा बोर्डका अध्यक्ष भुवन केसीको निर्देशनमा निवेदनै दर्ता नगरेको बताए । प्रसाद–२ का वितरक गोपाल कायस्थले केसीलाई प्रभावमा पारेर फिल्म रिलिज गराउने तयारी गरेका छन् । प्रहरीले बोर्डमा समेत थापा विरुद्ध पक्राउ आदेश आएको जानकारी गराउँदै उनी बोर्डमा आए जानकारी दिन पत्राचार गरिसकेको छ ।

फिल्मको आवरणमा ठगी गर्दै आएका उनले प्रसाद–२ छोराको नाममा दर्ता गरेर सेन्सर पास गराउने प्रयास गरेका छन्। फरार रहेका थापालाई सुनिलकुमार थापाले समेत सघाइरहेका छन् । बैंकिङ कसुरमा फरार रहेका थापाले फेसबुकमा लेख्दै फिल्म रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु