सुमित खड्काको एकल साँझ ‘देशको आवाज–४’ भव्यरुपमा सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०८०, मंगलवार

काठमाडौं । राष्ट्रभाव बोकेका गीतहरु गाएर छुट्टै पहिचान बनाएका गायक सुमित खड्का एकल साँझमा गुञ्जिएका छन् ।

‘राष्ट्रको लागि संगीत’ भन्ने नारा सहितको ‘देशको आवाज–४’ नाम दिइएको एकल साँझमा उनले राष्ट्रभावले ओतप्रोत भएका करिब डेढ दर्जन गीतहरु गाएर सुनाए । असोज २७ गते शनिबार, राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित साँझमा गायक खड्काले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ राष्ट्रिय भाव बोकेका १६ गीतहरु प्रत्यक्ष वाद्यवादनसहित एकल प्रस्तुति दिएका थिए ।
कार्यक्रममा गायक खड्कालाई लोकप्रिय गायिकाद्वय प्राश्ना शाक्य र अन्जु गौतमले साथ दिएका थिए ।

चलचित्र पाश्र्व गायन, आधुनिक गायनमा आफूलाई निरन्तर क्रियाशील रहँदै आएका गायक खड्काको एकल साँझमा – हाम्रो गौरव हाम्रो झन्डा, हिमाल पहाड तराई, राजनीति, यो देश हाम्रो देश, पहिलो भाइ पहाडमा, कहाँ म जन्मे, यो देशको हावा, उत्तरका सेता हिमाल, सारा संसार, हिमाल हेरेर, नेपालीको मनमा, म हुँ एउटा मान्छे, तिम्रो पनि रगत, हामी पहिले नेपाली, बिरको छोरा, हाम्रो देश हामी नेपाली लगायतका गीत गाएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका सदस्य भीम पराजुली, वरिष्ठ संगीतकार शक्ति वल्लभ, चलचित्र निर्माता तथा अभिनेत्री दीपाश्री निरौलालगायत कलाकारहरुको उपस्थिति रहेको थियो । सो अवसरमा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासलाई सम्मान गर्नुका साथै सुप्रसिद्ध राष्ट्रिय गीतकारहरुको गीति संगालो ‘देशको आवाज–४’ को विमोचन पनि गरिएको थियो ।

विगतका वर्षहरुमा पनि राष्ट्रका लागि संगीत अन्तर्गत गीत गाउँदै आएका गायक खड्काले यस वर्ष बढ्दो वैदेशिक रोजगारीका क्रममा देश छाडेका युवाहरुलाई लक्षित गरी देशप्रेमको भावना जगाउने खालका गीतहरु समावेश गरिएको बताएका छन् ।

नेपाल सांस्कृतिक महासंघको सहकार्यमा स्पार्क एडभरटाइजिङले आयोजना गरेको कार्यक्रमलाई मोरङ समाज काठमाडौंले प्रवर्द्दन गरेको थियो । यसअघि उनले ‘देशको आवाज’, ‘देशको आवाज–२’ र ‘देशको आवाज–३’ को एकल प्रस्तुति दिइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु