गायक गायिकाले जिते ‘सेलिब्रेटी रनिङ प्रतियोगिता’, सुरज पण्डित र विनिता अन्तराले ५०–५० हजारको पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ३० कार्तिक २०७६, शनिबार

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ र कान्ति सांस्कृतिक केन्द्रको आयोजनामा भएको तीन किलोमिटरको ‘सेलिब्रेटी रनिङ प्रतियोगिता’मा गायक गायिकाले पुरस्कार चुम्न सफल भएका छन् । तीन किलोमिटरको सडक दौडमा पुरुषतर्फ गायक सुरज पण्डित प्रथम हुन सफल भएका छन् भने महिलातर्फ गायिका विनिता स्याङतान अन्तरा प्रथम भएकी छन् । प्रथम हुनेले ५० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।


त्यस्तै पुरुषतर्फ गायक तथा संगीतकार धनु ग्याङ्मीले दोस्रो स्थान चुम्न सफल भने भने गायक राजकुमार श्रेष्ठले तेस्रो स्थान चुम्न सफल भए । महिलातर्फ नायिका तथा कोरिग्राफर पवित्रा आचार्यले दोस्रो स्थान चुम्न सफल भइन् भने मोडल तथा रेस्लर अस्मिता जुरेलीले तेस्रो स्थान हासिल गर्न सफल भइन् । दोस्रो हुनेलाई ३२ हजार नगद र तेस्रो हुनेलाई २० हजार नगद राशिसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा गायक, गीतकार जगतमर्दन थापा, अभिनेत्री लक्ष्मी गिरी, नेवारी भाषाको चलचित्रकी कलाकार जया श्रेष्ठ, वरिष्ठ चलचित्र अभिनेता टीका पहाडी, चलचित्रकर्मी लक्ष्मण विक्रम बस्नेत, चलचित्रकर्मी स्मारिका श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कलाकारले देशलाई संकट पर्दा होस् सरकारले सही काम नगर्दा होस् कुनै पनि समयमा आवाज उठाउन सक्नुपर्छ । कलाकारले देशको आवाज गीतसंगीत, चलचित्रमार्फत उठाउन सक्नु नै वास्तविक कलाकारिता भएको शर्माले बताए । उनले कलाकारका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै संस्कृति विनाको समाज अपुरो रहने बताए ।


त्यस्तै चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालकै रहेको हुँदा कुटनीतिक तबरबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । आफ्नो देशको सीमा रक्षाका लागि कलाकारहरु तयार रहेको बताउँदै निरौलाले कलाकारहरुको दौड प्रतियोगिताले नयाँ सन्देश दिन सफल भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु