लोकसेवाको एउटा उत्तरमा सुरक्षा – प्रश्न के होला ?

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७९, सोमबार

काठमाडौं । पहिलो पटक नेपाली अभिनेत्री विश्वप्रसिद्व फिल्म फेस्टिभल कान्सको रेड कार्पेटमा पुगिन् ।

गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनेकी थिइन् ।

उक्त उपलब्धि नेपाल मात्र नभएर एसियामा नै प्रसंशाको विषय बन्यो । भारतिय कतिपय अभिनेत्रीले पन्तको नाम लिएका थिए ।

आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् ।

तर नेपाली फिल्मबाटै कसले कान्समा पहिलोपटक हिंड्ने अवसर पाउनेछ भन्ने त्यो भविष्यको कुरा हो ।

नेपालमा भने नेपालको पहिलो अभिनेत्री पन्तको नाममा यो पहिलो रेकर्डको रुपमा स्थापित भएको छ । यो अब हाजिरी जवाफ प्रतियोगितामा मात्र हैन लोक सेवा आयोगमा सोधिएको प्रश्न समेत बनेको छ ।

कान्स रेडकार्पेटमा हिंडेकी सुरक्षा नेपाली मात्र होइन, विश्व मिडियामा चर्चाको विषय बनिन् । उनको यो चर्चालाई नेपालको लोकसेवा आयोगले पनि पछ्याएको छ ।

असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा यसबारे प्रश्न सोधिएको छ ।

प्रश्न नम्बर १९ मा लोकसेवाले सोधेको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् रु प्रश्नमा चारवटा विकल्प छन्– प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर ।

लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै सुरक्षाले खुशी व्यक्त गरेकी छन् । ‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ उल्लेख गर्दै उनले हर्ष व्यक्त गरेकी छन् ।

लोकसेवाको प्रश्नलाई सरकारी अभिलेखको एउटा आधार पनि मानिने भएकाले सुरक्षा मात्र होइन, नेपाली फिल्म उद्योगकै लागि यो खुशीको विषय बनेको छ । अधिकांश कलाकारहरुले सुरक्षाको यो उपलब्धिलाई प्रसंशाको विषय बनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु