• सुशान्त आत्महत्यामा गर्लफ्रेन्ड रिया चक्रवर्ती पक्राउ

    म्यूजिक खबर
    प्रकाशित: २४ भाद्र २०७७, बुधबार

    एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्याको विषयलाई लिएर उनकी गर्लफ्रेन्ड रिया चक्रवर्ती पक्राउ परेकी छन् । सुशान्तको मृत्यु भएको ८४ दिनपछि अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी हुन् । लगातार तीन दिनसम्म सोधपुछ गरेपछि नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले मंगलबार सुशान्तकी प्रेमिका रियालाई हिरासतमा लिएको हो । भारतीय मिडियाका अनुसार मंगलबार रियाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

    रियाले आफूलाई छुटाउन तत्काल जमानतको अपिल गर्न सक्छिन् । तर, एनसिबी उनको जमानत नगराउने पक्षमा छ । यसको निर्णय अदालतबाट हुनेछ । जमानत रद्द भए रियालाई थप अनुसन्धानका लागि जेल पठाइनेछ । यदि रियाले जमानतका लागि अदालतमा अपिल नगरे उनी एनसिबीको नियन्त्रणमै रहने छिन् । जमानत मिलेमा घर जान सक्छिन् ।

    सुशान्त आत्महत्याको केसमा रियासँग एनसिबीले तीन दिनमा २० घन्टा सोधपुछ गरेको थियो । सोमबार रियाका भाइ सोविक चक्रवती र सुशान्तको घरका म्यानेजर सामुअल मिरान्डासँग पनि एनसिबीले बयान लिएको थियो । दुवै अहिले एनसिबीको हिरासतमै छन् । सोमबार रियाले एनसिबीसमक्ष आफूले लागुऔषध कारोबार गरेको स्वीकार गरेकी थिइन् । उनले सुशान्तकै निर्देशनमा सबै काम गरेको बताएकी थिइन् ।

    बिहारका डिजिपी गुप्तेश्वर पाण्डेले सुशान्त आत्महत्याको मुद्दामा रियाविरुद्ध थुप्रै प्रमाण एनसिबीले फेला पारेको दाबी गरेका छन् । रियाका वकिलले भने सुशान्त पहिलादेखि नै लागुऔषध सेवन गर्ने व्यक्ति भएको बताएका छन् । मानसिक तनावबाट मुक्ति पाउनकै लागि सुशान्तले लागुऔषध वर्षौंदेखि प्रयोग गरेको उनको दाबी छ ।

    यसैबीच, सुशान्तकी बहिनी प्रिया सिंहले वान्द्रा प्रहरीमा रिया र दिल्लीको राममनोहर अस्पतालका डा।तरुण कुमारविरुद्ध एफआइआर दर्ता गरेकी छिन् । प्रियाले दर्ता गरेको एफआइआरमा व्यक्तिलाई आत्महत्या गर्न उक्साएको र आपराधिक क्रियाकलापमा संलग्न बाध्य पारेको जनाएकी छिन् । डा। तरुण कुमारले परिवारको सल्लाहविना केवल रियाकै निर्देशनमा सुशान्तलाई ‘डिप्रेसन’को औषधि दिएको आरोप सुशान्तकी बहिनी प्रियाले लगाएकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु