कवि गौतमले लेखे ‘छठपर्व’को नाममा खण्डकाव्य

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७५, शुक्रबार

काठमाडौं । कवि तथा गीतकार तारानाथ गौतमले हिन्दूहरुको महान चाड छठ पर्वमा केन्द्रित रहेर छन्द कविताको खण्डकाव्य ‘छठपर्व’ बजारमा ल्याएका छन् । चैते छठको अवसर पारेर कवि गौतमले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि पुस्तक लोकार्पण गरिएको हो । गीतकार, साहित्यकार तथा कवि गौतमको यो तेस्रो कृति हो ।

उक्त कार्यक्रममा बिशिष्ट अतिथीमा साहित्यकार, समालोचक तथा लेखक डा.बलदेव ‘गाउँले’ अधिकारी, छन्दका बरिष्ठ कवि प्रभात पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, बरिष्ठ गीतकार तथा गीतकार संघका अध्यक्ष चुणामणी देवकोटा, प्राज्ञ तथा संस्कृतीविद, वरिष्ठ गायक तथा संगीतकार धिरेन्द्र प्रेमर्षि, बरिष्ठ पत्रकार, पत्रकार संघका पूर्वअध्यक्ष तथा साहित्कार धर्मेन्द्र झा, बरिष्ठ संगीतकार शक्ति बल्लभ आदीको उपस्थिति रहेको थियो ।

 

डा. बलदेव गाउँले अधिकारीले कविलाई नयाँ भानुभक्तको उपमा दिए । उनले गौतमलाई कविताका माध्यमले मधेस र पहाडलाई जोड्ने पहिलो महानायक भएको बताए । छन्द कवि प्रभात पोखरेलले छठ पर्वमा कविले आफ्नो सिप अत्यन्त कलात्मक तरिकाले प्रस्तुत गरेको बताए ।

त्यस्तै कार्यक्रममा अनेसासका अध्यक्ष राधेश्याम लेकालीले उदाउँदो सूर्य र अस्ताउँदो सूर्यको उपसना गर्नेहरुका लागि छन्द कविता पक्कै पनि उपयोगी बन्ने बताउँदै मधेश र पहाडलाई जोड्दै सबैको चाडका रुपमा परिभाषित गरेको बताए । कवि लेकालीले स्रष्टाहरुलाई राज्यले हेर्ने दृष्टिकोणमा पनि एकजुट हुन जरुरी रहेको बताए ।

त्यसैगरी संगीतकार शक्ति भल्लवले कवि गौतमले छन्दमा कविता लेख्दा संगीत गर्न धेरै सजिलो हुने बताउँदै राम्रो गीतकारको हैसियत तारानाथ गौतमको भएको बताए । कार्यक्रम संचारकर्मी राधिका अधिकारीले संचालन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु