आफ्नै च्यानलबाट सिर्जना पस्किँदै गीतकार युवराज अधिकारी

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७६, आईतवार
Ubaraj Adhikari

काठमाडौं । पछिल्लो समय गीतसंगीतको व्यापार भनेकै सामाजिक सञ्जालको रहेको छ । त्यसमा पनि यूट्यूब च्यानलबाट व्यवसाय गर्नेहरु धेरै छन् । पहिला जस्तो अडियो, भिडिसी, डिभीडीको ब्यापार अहिले छैन । त्यसमा लगानी गर्नेहरु पनि छैनन् । वास्तविक रुपमा आधुनिक गीतमा लगानी गर्ने गीतकार नै भेटिन्छन् । लोकदोहोरी गीतमा भने गायक, गायिकाले लगानी गर्ने गरेका छन् । तर गायक गायिकाले त लगानीको केही प्रतिफल गीत चलेपछि स्टेजबाट कमाउँछन् तर गीतकारले कहाँबाट र कहिले कमाउने ? यो भने निकै चुनौतिको विषय बनेको छ ।

पछिल्लो समयको सिको गर्दै धेरै कलाकार, गायक, गायिका, गीतकार, संगीतकार आफ्नै यूट्यूब च्यानल निर्माण गरेर आफ्ना लगानीका सिर्जनाहरु सार्वजनिक गर्ने गरेका छन् । त्यही मेसोमा गीतकार युवराज अधिकारी पनि आफ्ना नयाँ र पुराना गीतहरुलाई भिडियो बनाएर वा लिरिकल भिडियो बनाएरै भए पनि आफ्नो च्यानलबाट गीतहरु सार्वजनिक गरिरहेका छन् ।

गीति लेखनको डेढ दशकको यात्रा पार गरिसकेका गीतकार युवराज अधिकारीले गत वर्ष मात्र देउरालीको फूल नामक गीतिसंग्रह बजारमा ल्याएका थिए । सोही एल्बममा समावेश भएका गीतहरु र पुराना आफ्ना केही सिर्जनाहरुलाई ‘Ubaraj Adhikari’ यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।
च्यानलमा उनले आफ्ना ७ वटा गीतको भिडियोलाई सार्वजनिक गरेका छन् । लगानी गरिसकेपछि प्रतिफलको आशामा गीतकारहरु हुँदैनन् । अर्थात् आफ्ना सिर्जना सबैले सुनुन्, सिर्जनाले सबैको मन जित्न सकोस् भन्ने चाहना धेरै लिएका हुन्छन् । तर पछिल्लो समयको बाध्यतामा आफ्नो लगानी अरुलाई दिएर भोकै बस्नुभन्दा जे जस्तो भए पनि आफैं नै यसको व्यवस्थापन गर्नुपर्छ भन्नेमा गीतकारहरु पनि लागेका छन् ।

युवराज अधिकारी युट्यूब च्यानलमा रहेका गीतहरुमध्ये प्रमोद खरेलको स्वर एवं सुरेश अधिकारीको संगीतमा रहेको गीतकार अधिकारीको शब्दमा ‘एक्लै एक्लै’ गीत लिरिकल भिडियो बनाएर अपलोड गरिएको छ । त्यस्तै अधिकारीकै लेखनमा रहेको गीत ‘आँसु आफैं’ को संगीत भने सुरेश अधिकारीको रहेको छ । स्वरुपराज आचार्यको स्वरमा रहेको उक्त गीतको म्यूजिक भिडियो निर्माण गरिएको छ । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा प्रमोद भारद्वाज र सृष्टि खड्काको अभिनय रहेको छ ।

त्यसैगरी गीतकार अधिकारीको लेखनमा रहेको पुरानो गीत ‘विश्वास गरे आफूलाई’ को पनि लिरिकल भिडियो अपलोड गरिएको छ । जसमा पुजन प्रधानको संगीत र कुवेर राईको स्वर रहेको छ । उक्त गीतमा विष्णु अधिकारीको संगीत संयोजन रहेको छ ।

त्यसैगरी गीतकार अधिकारीको शब्दमा रहेको देउरालीको फूल गीतबाट गायिका मीना निरौलाले गत वर्ष आठौं म्यूजिक खबर म्यूजिक अवार्ड चुम्न सफल भएकी थिइन् । त्यस गीतको पुरुष स्वर भने दीप श्रेष्ठको रहेको छ । यस गीतको संगीत पनि सुरेश अधिकारीकै रहेको छ ।
अघिल्लो पुस्ता र पछिल्लो पुस्ताको पुलको काम गर्दै गीतकार अधिकारीले गीति लेखनलाई अगाडि बढाइरहेका छन् । अधिकारीले सरकारी जागिरको व्यस्ततासँगै आफूलाई गीतसंगीतमा पनि सक्रिय गराइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु