भ्वाइस अफ नेपालमा आस्था आउट तृष्णा इन

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७७, बुधबार
voice of Nepal

काठमाडौं । सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचमा तृष्णा गुरुङ आबद्ध भएकी छन् । सिजन–३ का लागि गुरुङ कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’ प्रवेश गरेकी हुन् । सिजन–२ मा आस्था राउत रहेकोमा उनको ठाउँमा गुरुङ आएकी हुन् । अन्य तीनजना कोचमा भने गत सिजनकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।

‘हामीले ७ जनाको नाम भ्वाइसको हेडक्वाटरमा सीभीसहित पठाएको थियौं, त्यसमध्ये तृष्णा गुरुङको नाम छनोट भएर आएको हो,’ ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले भने । लोकपप शैलीमा लोकप्रिय उनका दर्जनौं गीत दर्शकले मन पराएका छन् । गाइने दाजैले सारंगी रेट्दैमा, माया पिरती, गुराँसै फुल्यो उनका सर्वाधिक लोकप्रिय गीत हुन् ।

दोस्रो सिजनमा पनि ‘द भ्वाइस अफ नेपाल’ले कोच परिवर्तन गरेको थियो । पहिलो सिजनका कोच अभया सुब्बा र सनुप पौडेललाई परिवर्तन गर्दै राजु लामा र आस्था राउतलाई भित्राएको थियो । ‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजन अन्तरगत अहिले डिजिटल अडिसनको अन्तिम चरण चलिरहेको छ । डिजिटल अडिसनमा करिब ४० हजारले सहभागिता जनाएको पौडेलले बताए । कार्यक्रम एक महिनाभित्र प्रशारण सुरु हुने बताइएको छ ।

‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा सिडी विजय अधिकारी र दोस्रो सिजनमा राम लिम्बू विजेता बनेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु