‘नालापानी’मा अभिनय गर्न नेपाल आर्मीका जवानको अडिसन (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३० कार्तिक २०७४, बिहीबार
काठमाण्डौ। हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।
त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।
कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाईँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो ।
यसै बिषयमा आधारित रहेर नेपाली चलचित्र ‘नालापानी’ बन्न लागिरहेको छ । प्रोफेसर रामराजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहि चलचित्र बन्नेछ ।
रिमेश अधिकारीले निर्देशन गर्ने यो चलचित्रको लागि कलाकारहरुको अडिसन शुरु भएको छ । अडिसनको शुरुमा नै नेपाल आर्मीको अडिसन भएको छ । चलचित्रमा धेरै दृश्य द्वन्द्वका हुनेछन् जसको कारण पनि दक्ष योद्दा जरुरी छ । योद्दाहरुलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि नेपाल आर्मीका जवानहरुलाई नै अभिनय गराउन लागिएको निर्देशक अधिकारीले बताए । चलचित्रमा युद्दका दृश्य देखाउँदा प्राकृतिक हुनु जरुरी रहेकोले पनि आर्मीबाट नै कलाकारहरु छनौट भईरहेका छन् । यद्यपी प्रमूख भूमिकामा भने नेपाल आर्मीका कलाकार हुनेछैनन् ।
यो चलचित्र लाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक लगायत सहयोग गरेको छ ।
नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर यो चलचित्र निर्माण हुने निर्माता मनोज शाक्यले बताए । झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सम्राट शाक्य कार्यकारी निर्देशक रहेको फिल्ममा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।
भिडियोमा हेर्नुहोस् ‘नालापानी’मा अभिनयका लागि नेपाल आर्मीका जवानको अडिसन:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु