कोमल वलीले सार्वजनिक गरिन् सुन्तलाको रस

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७५, आईतवार

९ बैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ गायिका कोमल वलीले सुन्तलाको रस सार्वजनिक गरेकी छन् । नगरकोट दोहोरी साँझमा आयोजना गरिएको कार्यक्रममा गायिका वलीले गायक प्रेम अर्याल र गायिका सुमना थापा मगरको प्रस्तुति रहेको गीत ‘सुन्तलाको रस’ सार्वजनिक गरेकी हुन् । रविन लामिछानेको शब्द रहेको यस गीतको लय संकलन पनि गायक अर्यालकै रहेको छ । डोलाराज बाह्रघरेको एरेन्ज रहेको यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।


गोर्खा चौतारी म्यूजिकबाट बजारमा ल्याइएको गीत सुन्तलाको रस गाउँतिर गाइने भाकालाई नै मध्यनजर गरि सिर्जना गरिएको छ । मायाप्रेममा नै आधारित रहेको यस गीतको म्यूजिक भिडियोलाई प्रेम अर्याल र प्रनिल तामाङले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा दिनेश थापा, सिर्जना किराँती, ऋतु तामाङ र प्रनिल तामाङकै अभिनय रहेको छ ।
गीत सार्वजनिक गर्दै गायक अर्यालको जन्मदिनको केक समेत काटिएको थियो । कार्यक्रममा गोरखा सांस्कृतिक समाजका वरिष्ठ उपाध्यक्ष सुमन बैरागीले सुन्तला रस गीत गाउँले जनजीवन र बोलीचाली सुहाउँदो गीत बनेको मन्तव्य दिएका थिए । त्यस्तै पत्रकार भीम श्रेष्ठले सुन्तला रस गीतको सफलताको शुभकामना दिँदै गायक अर्याललाई जन्मदिनको शुभकामना दिएका थिए ।


त्यसैगरी लोकदोहोरी व्यवसायी संघकी उपाध्यक्ष धनकुमारी थापा सरुले गायक प्रेम अर्यालको जन्मदिनसँगै नयाँ सिर्जनाले पनि निरन्तरता पाओस् भन्दै सुन्तलाको रस सबैले मन पराइदिनेमा ढुक्क रहेको बताइन् । त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गायिका कोमल वलीले प्रतिभाका धनी गायक अर्यालको क्षमताप्रति नतमस्तक भएको बताएकी थिइन् । कला संस्कृतिसँगै संस्कारको पनि विकास गरौं भन्दै गायिका वलीले समय अनुसार ग्ल्यामर दिनु तर भल्गर नहुनु भनेकी थिइन् ।


कार्यक्रममा गीतसंगीतसँग आबद्ध रहेका व्यक्तित्वहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । कार्यक्रमका सभापति लोकदोहोरी व्यवसायी संघका अध्यक्ष एवं नगरकोट दोहोरी साँझका संचालक विनोद श्रेष्ठले सम्पूर्ण उपस्थित पाहुनाहरुलाई आभार प्रकट गर्दै सुन्तलाको रस गीत सबैले मनपराइदिनेमा ढुक्क रहेको बताएका थिए । गायक एवं गीतकार रविन लामिछानेले स्वागत मन्तव्य दिएका थिए भने गायक प्रेम अर्यालले आफूलाई जन्माउने आमा र गायिका ओलसँग आशिर्वाद लिएर गीत निर्माणको क्रमको अनुभव सुनाएका थिए । कार्यक्रम संचारकर्मी सागर गुरुङले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु