म्यूजिक भिडियोका हिरो: प्रकाश भट्ट

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७०, आईतवार

कुनै बेला चलचित्रहरुको कोरस डान्सरका रुपमा देखिने प्रकाश भट्ट आजभोलि चल्तीका म्यूजिक भिडियो निर्देशकका रुपमा देखिन्छन् । रहरै रहरले नृत्यको प्रशिक्षण लिएर कलाकारितामा होमिएका भट्टको परिचय कोरस डान्सरका रुपमा पनि थियो तर अहिले भने उनको परिचय निर्देशकको रुपमा स्थापित छ । गोरखाको ताकुकोटदेखि अध्ययनका क्रममा काठमाडौं छिरेका प्रकाश भट्टले आफूमा कलाकारिताको मोह जागेपछि नृत्य प्रशिक्षणमा प्रवेश गराएका थिए । नृत्यको प्रशिक्षण लिँदा लिँदै उनले करिब एक दर्जन चलचित्रमा कोरस डान्सरको रुपमा नृत्य गरे । त्यसपछि आफूलाई क्रमशः परिवर्तन गराउँदै लैजाने क्रममा उनले लोक गीत र आधुनिक गीतहरुका म्यूजिक भिडियोतर्फ आकर्षित भए । २०५८ सालतिरबाट कलाकारिताको क्षेत्रमा प्रवेश गरेका प्रकाश भट्ट २०६०÷६१ सम्म आइपुग्दा निर्देशक बनिसकेका थिए । त्यसपछि उनको निर्देशकीय यात्रा क्रमशः अघि बढिरह्यो ।
पछिल्लो समयमा लोकदोहोरीको म्यूजिक भिडियोमा आफूलाई व्यस्त बनाइरहेका निर्देशक प्रकाश भट्टले करिब २५ सयभन्दा माथि म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् । केही वृत्तचित्रको निर्माण निर्देशन पनि गरेका निर्देशक प्रकाश भट्टले मौलिक कला संस्कृतिको जगेर्नाका खातिर धेरै कामहरु गरिसकेका छन् । यसो उनले लोककला संस्कृतिको बारेमा रिसर्चसमेत गरेका छन् । कला संस्कृतिको बारेमा शिक्षा प्रदान गर्न होस् या रिसर्चबाट आफूलाई अझ उच्च कोटीमा राख्न होस् कुनैबेला नेपालका प्राय जिल्लामा उनको उपस्थिति हुने गथ्र्यो । तर आजभोली भने उनी म्यूजिक भिडियोको व्यस्त निर्देशकका रुपमा परिचित भएका छन् । कुनैबेला प्रकाश भट्ट र साइभिजन भनेपछि लोकदोहोरीको क्षेत्रमा निकै चर्चाको नाम हुने गथ्र्यो र आज पनि त्यो नामको उच्चारण संगीतकर्मीमाझ ताजा नै छ ।
कोरस डान्सर हुँदा जति सजिलो हुन्थ्यो त्योभन्दा धेरै गाह्रो निर्देशक बन्दा भएको उनको अनुभव छ । जति जति कलाकारितामा आफूलाई अगाडि बढाउँदै लग्यो उति उति जिम्मेवारी थपिएको महसुस हुन्छ, भट्टले भने । कोरस डान्सर हुँदा म अरुको पछि हिंड्थे. मलाई सजिलो हुन्थ्यो तर अहिले मेरा पछि धेरै जना हिंड्ेका छन् त्यसैले तिनीहरुको जिम्मेवारी ममाथि थपिएको छ, भट्टले भने – ‘टिम क्याप्टेन भएर काम गर्नु भनेको चुनौतिपूर्ण हुन्छ’ । केही चलचित्रमा कोरियोग्राफर बनिसकेका छन् भने निर्देशनको काममा उनको दक्षतापूर्ण कलाशैली प्रस्तुत भइरहेको छ ।
विशेषगरी सालैजो, कौडा जस्ता गीतमा उनको अझ दख्खल छ भने लोकदोहोरीमा त उनको नाम परिपूरक बनिसकेको छ । आजभोली प्रकाश भट्टको कलाशैलीलाई पछ्याउनेहरु धेरै छन् । हुन त उनले पनि धेरै कलाकारहरु जन्माए, हुर्काए र बढाए, जो आफूसँगै निर्देशक बनेर हिंड्न सक्ने पनि बनाएका छन् । उनले प्रशिक्षण दिएका थुप्रै निर्देशकहरु अहिले चलचित्रमा व्यस्त कोरियोग्राफरका रुपमा परिचित छन् । त्यो देखेर नै उनी आत्मसन्तुष्टि लिइरहेका छन् । कुनै पनि सीप भनेको आफूले जति बाँड्न सक्यो त्यति नै फाइदा हुने उनको भनाइ छ । निर्देशनमै निरन्तर आफूलाई उभ्याइराख्ने उनको लक्ष्य रहेको छ । अझ राम्रा राम्रा सिर्जना गीतसंगीतको क्षेत्रमा दिइरहन चाहन्छु, भट्टले भने – तर म यस क्षेत्रदेखि टाढा हुन भने चाहन्नँ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु