सांगीतिक काव्यभित्रकी काव्य

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७१, मंगलवार

काठमाडौं, २४ असार । गीतहरुको संग्रह गीतिकाव्य भएजस्तै संगीतभित्रको सम्पूर्ण विविधतालाई चिर्दै बजारमा छाउन सफल भएकी काव्य आचार्यको ‘काव्य’ पनि उत्तिकै सशक्त भएर आएको छ । कपिलवस्तु कोपवा ९ मा जन्मिएर सानैदेखि गीतसंगीतको दुनियाँलाई नजिकबाट आत्मसात गरिरहेकी काव्य आचार्य यतिबेला एउटा राम्रो प्रतिभाका रुपमा नेपाली सांगीतिक बजारमा दह्रिएकी छन् । सानैदेखि स्कुलमा हुने कार्यक्रम हुन् वा गाउँमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुन् उनी नृत्य गर्नका लागि सधैं तप्पर हुन्थिन् र आफ्नो जादुमय नृत्यले सबैलाई उत्साहित बनाउँथिन् । नृत्यबाट सुरु भएको उनको सांगीतिक यात्रा यतिबेला भने एउटा सफल गायनको बाटोमा मोडिएको छ ।
काव्य आचार्यको आफ्नो सांगीतिक छवि यतिबेला उचाइतर्फ मोडिएको छ । सुरुमा नृत्यबाट गायनमा आउनका लागि धेरैको प्रशंसाको पात्र भएकी छिन् काव्य । गाउँमा हुने कार्यक्रम होस् वा स्कुलमा हुने कार्यक्रम उनी प्रायजसो प्रथम द्वितीय हुँदै आउने गर्थिन् । उनको प्रतिभालाई देखेर स्कुलका शिक्षक, साथीभाइले गायिका बन्नुपर्छ भनेर उर्जा थपिदिन्थे अनि त्यो उर्जालाई आफ्नो परिवारबाट अझ उत्साहित बनाउँदै नृत्य र गायनको समन्वय गराउने गर्थे । त्यही उर्जाले आज गायिका काव्य आचार्य गायिको पंक्तिमा दह्रिएकी छिन् । उनलाई यस क्षेत्रमा ल्याउन सधैं उर्जाशील गराउनेमा कपिलवस्तुमा रहेको एनजिओ प्रेरणा माउन्ट एभरेष्ट सोसल डेभलपमेन्ट अर्गानाइजेशन (मेस्डो नेपाल) रहेको उनी कहिल्यै पनि भुल्दिनन् । जुन संस्थाले गाउनमा प्रेरित ग¥यो, आर्थिक र भौतिक हिसाबमा पनि गायनलाई सबल बनाउन संस्थाको महत्वपूर्ण हात रहेको काव्य बताउँछिन् । त्रिभुवन युनिभर्सिटीबाट नेपाली विषयमा स्नातकोत्तरसमेत गरेकी काव्यले राम्रो गीत सिर्जना गर्नुका साथै राम्रो संगीत पनि गर्ने गर्छिन् । भनौं उनको स्वरको जादुसँगै संगीत र शब्दको सिर्जनामा पनि उनको सिर्जनशीलता अग्रगतिमा रहेको छ । शब्द, संगीत र गायनको त्रिवेणीमा रमेकी काव्य एउटा सांगीतिक काव्यका रुपमा परिचित हुने क्रममा छिन् ।

kabya acharya

काव्य आचार्यले गाएको पहिलो गीत ‘चरिले गुँड छाडेर गयो’ उनको जीवनमा नै सफलताको कडी बन्न सफल भयो । श्रीकृष्ण बममल्लको संगीत र कर्ण चापागाईंको शब्दमा रहेको चरिले गुँड छाडेर गयोबाट काव्यले दोश्रो म्यूजिक खबर म्यूजिक अवार्डमा नवगायिकाको अवार्डसमेत चुम्न सफल भइन् । त्यस्तै उनले बजारमा ल्याएको पहिलो आधुनिक गीतिएल्बम ‘काव्य’का गीतहरु एकाएक चर्चामा पुग्न थालेपछि सांगीतिक क्षेत्रमा उनको नाम पनि परिचित बन्न सफल भयो । काव्य एल्बमको अर्को गीत किन आज… बाट तेश्रो रापती म्यूजिक अवार्डबाट उत्कृष्ट नवगायिकाको अवार्ड चुम्न सफल भयो । त्यस्तै तेश्रो म्यूजिक खबर म्युजिक अवार्डमा काव्य एल्बमकै तिम्लाई आफ्नो ठानेर बोलको गीतबाट उत्कृष्ट सुगमसंगीत गायिकाको उत्कृष्ट पाँचभित्र पर्न सफल भइन् । त्यस्तै विभिन्न मानसम्मान र पुरस्कार पनि उनलाई मिल्न थाल्यो । काव्यको सांगीतिक सफलताले गर्दा उनको जीवनका पाइलाहरु अझ उर्जाशील बनेको उनी बताउँछिन् ।

यतिखेर उनले दुई दर्जनभन्दा बढी गीतहरुमा स्वर दिइसकेकी छिन् । कलेक्सन एल्बमका गीत रेकर्डिङमा उनी व्यस्त हुनुका साथै शिक्षण पेशामा पनि उनको नियमितता रहेको छ । श्री संगीत पाठशालामा गुरु चण्डीप्रसाद काफ्लेसँग चारवर्षदेखि संगीत शिक्षा लिइरहेकी गायिका काव्य आचार्यको उद्देश्य भनेकै सफल गायिकाको हो । उनले गायनमा सुरु गरेको सांगीतिक यात्रा जीवनको आरोह अवरोहसँगै अघि बढाउनेमा उनी केन्द्रित रहेकी छिन् । आफ्नो जीवनको सुरु र अन्त्य नै संगीतमा समर्पित गरेको बताउने गायिका काव्य आचार्य एउटा सुमधुर स्वरकी धनी हुन् भन्ने कुरामा कसैको द्विविधा छैन ।
– सुमन बैरागी

kabya-2 kabya

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु