• राष्ट्रपति निवासमा कविहरु पुरस्कृत

    म्यूजिक खबर
    प्रकाशित: २३ जेष्ठ २०७४, मंगलवार

    जेष्ठ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा विजयी कविहरूलाई पुरस्कार तथा पदक प्रदान गरेकी छन् । प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा राष्ट्रपतिले सो पुरस्कार प्रदान गरेकी हुन् ।

    maniraj singh
    समारोहमा गत वर्ष र यस वर्ष कविता महोत्सवमा विजयी हुन सफल कविहरूलाई पुरस्कृत गरिएको थियो । समारोहमा यसै वर्षको असार ९ गते आयोजित कविता महोत्सवमा प्रथम भएका कवि मणिराज सिंह, द्वितीय स्थान हासिल गर्न सफल पुरु लम्साल र तृतीय स्थान हासिल गर्ने कविहरू असीम सागर, त्रिलोचन आचार्य र मञ्जुश्री गिरीलाई पदक, प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरिएको थियो ।

    यसै गरी गत वर्ष आयोजित कविता महोत्सवमा तृतीय भएका कविहरू राजु स्याङ्तान, सोझो गाउँले र सुदेश सत्याललाई राष्ट्रपतिले पुरस्कृत गरेकी हुन् । प्रतिष्ठानको नियमविपरीत भएकाले गत वर्षका प्रथम र द्वितीय स्थान हासिल गरेका कविलाई भने पुरस्कार दिइएन ।

    bidhyadevi bhandari
    प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरियो । समारोहमा पुरस्कृत कविहरूले आ–आफ्ना कविता सुनाए । सिर्जना र प्रतिभालाई मञ्च दिनु आवश्यक रहेको औँल्याउँदै लोकतन्त्र स्थापनामा साहित्यको अमह् भूमिका रहेको उल्लेख राष्ट्रपति भण्डारीले गरिन् ।

    प्रतिष्ठानले वि।सं। २०२२ देखि आफ्नो स्थापना दिवसका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । पहिलो स्थापना दिवसका अवसरमा आयोजित महोत्सवमा भैरव अर्याल प्रथम भएका थिए । त्यो बेला वानीरा गिरी द्वितीय र गोविन्द भट्ट तृतीय भएका थिए । समारोहमा तृतीय स्थान प्राप्त भट्टको ‘नैतिकता’ शीर्षक कविता पनि सुनाइएको थियो ।

    गत दुई वर्षअघिदेखि विगतमा भन्दा पृथक् ढङ्गले कविता महोत्सवको आयोजना गर्ने गरिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए । ‘कवितासम्बन्धी विमर्शसहित गत दुई वर्षअघिदेखि हामीले राष्ट्रमा बोलिने विभिन्न मातृभाषाका कविताको महोत्सव पनि आयोजना गर्न थालेका छौँ’, उप्रेतीले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु