‘कहिले सम्झेर अनि कहिले भुलेर…’

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७१, शुक्रबार

ललितपुर, ३ असोज । ‘लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ …’ बाट सुरु भयो यस वर्षको तेस्रो पलेँटी उत्सव । बिहीबारदेखि नेपालयको आयोजनामा जावलाखेलको डिएभी स्कुलमा सुरु भएको पलेँटी उत्सवमा सङ्गीतकार एवम् गायक आभासले आफ्ना गीत गरे । दुई चरणमा विभाजन गरी सुरु गरिएको सङ्गीतकार आभासका गीतमा पहिलो चरणमा बालगीतको लहर चलेको थियो जसमा ‘लेकका हामी केटाकेटी…..’, ‘हिउँखोलाको पानी छुनै नहुने…’, ‘सै सैला…’, ‘दुग्गुर दुग्गुर ए कुहिरा…’ र ‘ढल्काएर शरीर, नाच्यो आज मुजुर..’ लाई गायकगायिकाको टोलीले सामूहिक स्वरमा सुनाएको थियो ।
त्यसपछिको चरणमा भने पश्चिमा शास्त्रीय सङ्गीतमा प्रचलित र नेपालमा पनि केही वर्षअघि मात्र आभासकै गुरु अम्बर गुरुङले भित्र्याउनुभएको ‘क्यान्टाटा’को थियो । नेपालीकरण गर्दा आफ्नै पारा अपनाइएको सो काव्य सङ्गीतको परिचय भने अभि सुवेदीले दर्शकलाई गराउनुभएको  थियो । एक घन्टा लामो यो ‘नीर चरीको गीत’ सुनाएपछि सकिएको छ । गत वर्षदेखि वार्षिक रुपले आयोजना हुँदैआएको सो उत्सव गत वर्ष मात्र दिवङ्गत सदाबहार गायक एवम् अभियानका पहिलो प्रस्तोता फत्तेमानको सम्झना गरेर सुरु भएको थियो । आजसम्म सार्वजनिक नभएको उनको गीत ‘मर्छु र म डुङ्गा बन्छु, आउँदा नदी तार्न सकूँ’ सुनाएर आयोजक नेपालयका किरणकृष्ण श्रेष्ठले कार्यक्रम थालनीको घोषणा गरे । पलेँटीकै अर्का प्रतिभा मञ्जुलको रचना र पलेँटीका संयोजक आभासको सङ्गीतमा तयार भएको सो हृदयस्पर्शी गीत बज्दा फत्तेमानका श्रोता भावुक भएका थिए ।दोस्रो दिनको प्रस्तुतिमा कुन्तीले ‘डालीडालीमा हो डालीडालीमा, फुलिरहूँ लाग्छ नि दिलको बारीमा’ गाएर सुरु गरेदेखि नै दर्शकमा उत्साह फैलिएको थियो । त्यसपछि उनको नेपाल आगमनलगत्तै चर्चित बनेको सर्वाधिक लोकप्रिय ‘कहिलेकाहीँ मलाई पनि हेरिदेऊ है फर्किएर’ गुञ्जिएको थियो ।

Paleti-Utsav-2014-artists-Singers-Dipak-Kharel-Kunti-Moktan-and-Aavaas1
शास्त्रीय आधारमा गाइएको सो गीत ८० को दशकताका नेपाली जिब्रोमा स्वाद बसाउन सफलमध्येको मानिन्छ । त्यसपछि लगातार ‘आजदेखि’, ‘खुट्टा तान्दै गर’ र ‘भुइँचालो’ सुनाइएको थियो । अर्को चर्चित ‘चोली राम्रो पाल्पाली ढाकाको’ पछि उहाँले फेरि उही ८० कै दशकतिर दर्शकलाई फर्काउनुभयो र सुनाउनुभयो ‘तिम्रो मायाले मलाई डो¥याइल्यायो’ ।    ‘सुनकै भाउ छ सुन्तला भारीको’देखि ‘गोठालो जाँदा’ र ‘ कोही भन्छन् जिन्दगी यो’ सम्म पुग्दा दर्शक लोकलयमा झुम्न थालिसकेका थिए ।  त्यसपछिको पालो थियो ‘इलामे सहर’ । अन्तिममा भने गायनकै क्षेत्रमा परिचय बनाउँदै गरेका दुई छोरी र श्रीमान्को समेत साथमा कुन्तीले राष्ट्रिय गीत ‘गीत मेरो नेपाल’ सुनाएर कार्यक्रम टुङ्ग्याए । पलेँटी उत्सवअन्तर्गत शनिबार अन्तिम दिनको प्रस्तुति आधुनिक नेपाली सङ्गीतका अर्का लोकप्रिय हस्ती एवम् थुप्रै सदाबहार गीतका गायक दीपक खरेलको थियो ।  खरेलले ‘कति अनौठो छ मानिसको जिन्दगी’ बाट तेस्रो दिनको पलेँटी उत्सव सुरु गरे । सुरुआतबाटै दर्शकको र स्रोताको माया पाउनुभएका उहाँले त्यसपछि ‘सनुसान रातमा म जागिदिएँ’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘कहिले सम्झेर अनि कहिले भुलेर’, ‘पूर्णिमाको रात पनि’, ‘यो कर्मभूमिको…’लगायत गीत प्रस्तुत गरे । यसैक्रममा खरेलले अहिले र पहिलाको गीतसङ्गीतको तुलना गर्दै वर्तमान अवस्थामा डिजिटल प्रविधिले गर्दा गीतसङ्गीत बनाउन निकै सजिलो भएको बताउनुभयो । खरेलका गीतसङ्गीत प्रस्तुत भएसँगै यस वर्षको पलेँटी उत्सव सकिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु