काव्य शृङ्खलामा गुन्जिए हेमन्त र सीता

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७५, मंगलवार

१८ बैशाख, काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा विगत सात महिनादेखि हुँदै आएको छायाँछवि काब्य शृङ्खलाको सातौं संस्करणमा हेमन्त विवश र सीता प्याकुरेल राजधानीमा गुन्जिए । प्रत्येक महिना सम्पन्न हुँदै आएको शृङ्खलाको सातौं संस्करणमा चर्चित युवा साहित्यकार तथा कवि हेमन्त विवश तथा युवा गजलकार सीता प्याकुरेलले आफ्ना काव्य रचना प्रस्तुत गरेका थिए ।


कार्यक्रममा कवि हेमन्त विवशले करिव एक दर्जन कविता सुनाएका थिए । सामाजिक एवं प्रेम भावका विषयमा विवशले आफ्नो जन्मथलो डोटीको सेरोफेरोलाई कविताबाटै प्रस्तुत गरेका थिए भने छन्दमा पनि कविता सुनाएका थिए । कार्यक्रममा युवागजलकार सीता प्याकुरेल प्रेम भावमा डुबेर गजल प्रस्तुत गरेकी थिइन् । गजलकार सीताले संयोगान्त र वियोगान्त शैलीका सामाजिक गजललाई पछ्याएर गजल प्रस्तुत गरेकी थिइन् । श्रष्टाद्वय हेमन्त विवश र सीता प्याकुरेलले कार्यक्रममा आफुलाई समाविष्ट गरिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गरेका थिए ।


कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संस्कृतिविद एवं संगीतकार बुलु मुकारुङ तथा विश्वकै कान्छा निर्देशक सौगाल विष्ट थिए । कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै मुक्तककार÷साहित्यकार एवं कार्यक्रमकी संयोजक रश्मी रोदनले कार्यक्रमको औचित्यवारे प्रकाश पारेकी थिइन् । साहित्य, संगीत र चलचित्रको समायोजन गर्दै छायाँछवि काव्य शृंखला अघि बढेको उनले बताइन् । त्यस्तै छायाँछवि क्रियशनका अध्यक्ष तथा गीतकार शान्तिप्रियले कार्यक्रममा शुत्रधारको भूमिका निर्वाह गर्दै कुनै पनि क्षेत्रलाई चलायमान बनाउन सकिए मात्र त्यस क्षेत्रको समृद्धि हुने बताए । साहित्य, संगीत र चलचित्र एउटै कितावका पत्ताहरु भएको बताए ।


कार्यक्रमका विशिष्ट अतिथि संस्कृतिविद एवं संगीतकार बुलु मुकारुङले श्रष्टाका कविता र गजलमाथि टिपपणी प्रकट गरेका थिए । मुकारुङले कवि विवश र गजलकार प्याकुरेलको सफल यात्राको कामनासमेत गरेका थिए । त्यस्तै कार्यक्रममाअर्का विशिष्ट अतिथि विश्वकै कान्छा निर्देशक सौगात विष्टले आफ्ना दुई कविता प्रस्तुत गर्दै श्रष्टाद्वयलाई शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु