किन एकल साँझ गर्ने निर्णय गरेँ ?

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७०, शनिबार

सन्तोष श्रेष्ठ । म आफूलाई परिचय दिलाउनु पर्दा एउटा संगीतकार हुँ । म सिक्दै गरेको, सिर्जनाको सागरमा पौडिदै गरेको तर पूर्ण पाठ पढिनसकेको एउटा संगीतको विद्यार्थी हुँ । मैले पूर्ण संगीतकार हुन धेरै कुरा सिक्न बाँकी छ । तर एउटा संगीकार बन्दासम्मको मेरो पृष्ठभूमिले मलाई एउटा बाटो देखायो जुन बाटो म आज एउटा एकल साँझ गर्ने निर्णयमा पुगेँ र यसलाई जीवन्तता दिन लागिरहेँ ।
दाङ जिल्लाको हापुरमा जन्मिएर आजको यो संगीत यात्रासम्म आइपुग्दा मेरो पृष्ठभूमी भनेको एउटा गायक बन्ने सपनाभित्र थियो । गायक बन्नुका खातिर मैले आफ्ना जीवनका आरोह अवरोहलाई संगीतभित्र ढाल्ने प्रयास गरेँ । सपनाको संसारमा पौडिँदै गर्दा मैले एउटा गायक बन्ने लक्ष्यलाई पूरा गर्न केही गीतहरु गाएँ । जुन गीतले मलाई गायक त बनायो तर कुन स्थानमा आफूलाई राख्न सफल भयो भन्नेमा भने म पनि अनभिज्ञ रहेँ । मेरो दाङको पृष्ठभूमी लोकगायनको थियो । त्यही लोकलयलाई मैले राप्ती अञ्चलबाट मुलुकभर आफूलाई चिनाउँदै अन्तर्राष्ट्रियस्तरमा लैजाने सोच थियो । अथवा भनौं मेरो गायकीको परिचयबाट आफूलाई सबैका माझ चिनाउने लक्ष्य थियो । फलतः मैले गाएका गीत भन्दा मैले गरेको संगीतले नै मलाई चर्चाको शिखरमा पु¥याउन सफल भयो । लोक गीत गाउँदा केही सम्मान पाएँ होला, दोहोरी कलाकार बनेर होस् या एउटा संगीतकर्मी आफूलाई सबैका सामु चिनाउने प्रयासमा लागेँ । तर समयले कोल्टे फेरेको मैले पत्तो नै पाइनँ । जतिबेला लोकदोहोरीको माहौल थियो व्यापार थियो त्यतिबेला म पनि यही दोहोरीको क्षेत्रमा क्रियाशील थिएँ । आफूलाई गायक बनाउनको खातिरमा मैले केही दोहोरी साँझमा काम गरेर काठमाडौंलाई कर्मथलो बनाएँ । त्यसैबेला मलाई एउटा अवसर प्रदान भयो । जुन अवसर थियो बहराइनमा गीत गाउन जानुपर्ने । अर्थात् बहराइनमा भएको एक दोहोरी साँझमा केही समयका लागि म लगायत केही साथीहरुले दोहोरी गाउनु पर्ने अवसर आयो । त्यसपछि मैले आफूलाई त्यो अवसरबाट भने गुमाउन चाहिनँ । दोहोरीबाट आफ्नो स्थान हासिल गर्न नसकिरहेको अवस्थामा मैले त्यो अवसरलाई पछ्याउन बाध्य भएँ ।
हुन त मैले लोक गीत गाउँदै गर्दाको अवस्थामा एउटा आधुनिक एल्बम बजारमा ल्याएको थिएँ । जुन एल्बमको नाम थियो ‘चिनारी’ । चिनारी एल्बम बजारमा ल्याएपछि मेरो पनि केही चिनारी हुनेछ भन्ने महसुस गरेको थिएँ । तर त्यो अवस्था पनि प्राप्ट हुन निकै कठिनाइ थियो । किनकी म एउटा विद्यार्थी थिएँ तर ठूलो सपना बोकेको थिएँ । उचाइ चुम्न निकै कठिनाइ थियो । म एउटा पाइला चाल्दै गरेको विद्यार्थीका लागि कठिनाइका बाटाहरु धेरै थिए त्यसलाई पार गर्न पनि उत्तिकै चुनौतिका पहाड थिए ।
म केही समय बहराइन बसेर आएपछि मैले एउटा एल्बम निकाल्ने सोचमा एउटा गीत गरेँ । मलाई धेरै समय पहिला लोकराज अधिकारीले एक गीत दिनुभएको थियो, उक्त गीतलाई मैले नेपाल आउने वित्तिकै संगीत गरेँ रेकर्ड पनि गरेँ । अन्जु पन्तको सुमधुर आवाजले बजारमा राम्रो चर्चा कमाइरहेको थियो । त्यसैबेला मैले तिम्ले पराइ ठानेपछि बोलको गीतलाई अन्जु पन्तको स्वरमा रेकर्ड गराएँ । जुन गीत सुगम संगीतको इतिहासमै सफल बन्यो । प्रविधिको प्रयोगसँगै भर्खर भर्खर सिआरबीटी सिस्टम आएको बेला तिम्ले पराइ ठानेपछि बोलको गीतले सर्वाधिक डाउनलोड हुन सफल भयो । जसले गर्दा मलाई सुगम संगीतको इतिहासमा सफलताको श्रेणी मिल्यो, हौसला मिल्यो अनि उत्साह मिल्यो ।
तिम्ले पराई ठानेपछि बोलको गीत मेरो जीवनको कोसेढुंगा बन्यो । जसले मलाई सफल संगीतकारको रुपमा परिचित गरायो । तिम्ले पराइ ठानेपछि बोलको गीतको चर्चासँगै मेरो साधना एल्बमले पनि सफलता पायो । त्यसपछि मलाई सुगम संगीतको क्षेत्रमा संगीतकारको परिचय दियो र त्यसको निरन्तरतामा मैले संगम एल्बम बजारमा ल्याएँ । मैले पहिलो एल्बम चिनारीमा राखेको गीत आउँछु भनी निष्ठुरीले… बोलको गीतलाई यस एल्बममा समावेश गरेँ र अन्जु पन्तको स्वरमा रेकर्ड गराएँ । पहिला रामकृष्ण ढकालको स्वरमा रहेको उक्त गीत संगम एल्बमसम्म आइपुग्दा अन्जु पन्तले गाएपछि अर्को चर्चाको श्रेय मलाई मिल्यो । मलाई एकपछि अर्को सफलता मिल्दै गयो त्यसपछि मैले गरिमा, क्षितिज, मितेरी, सौभाग्य जस्ता एल्बमहरुको एकल संगीतमा गीत रेकर्ड गराउँदै गएँ । यसले गर्दा मलाई संगीत क्षेत्रमा उत्साह मिल्दै गयो ।
जसरी संगीतमा मेरो उचाइ बढ्दै गयो त्यसैगरी मैले आफ्ना संगीतबद्ध गीतहरुलाई लिएर जन्मथलो दाङमा एकल साँझ गर्ने सोच बनाउन थालेँ । म पहिला गायनबाट प्रवेश गरेका कारण म आफूले संगीत गरेका गीतहरुलाई न्यायपूर्वक गाउन सक्छु भन्ने दृढ विश्वास थियो । मेरो एकल साँझलाई सफल बनाउन राप्ती साहित्य परिषद् पनि पछि पछि सहयोगी बनेर आयो । अब मलाई आँट आयो धेरै साथीहरुसँग यसभन्दा अघि नै भन्ने गर्थें ‘म दाङमा एकल साँझ गर्न लागेको कस्तो होला ?’ यो प्रश्नले धेरै संगीतकर्मी, पत्रकार, गायक, गायिकाहरु समक्ष मत सर्वेक्षण गरिरह्यो । सबैबाट तपाईं संगीतकार पक्कै पनि गाउन सक्नु होला भन्ने हौसला मिलेपछि मैले त्यसलाई आँटे । अब एकल साँझ गर्नुको पछाडि म एउटा संगीतकार भएर धेरै गायक गायिकालाई गाउन लगाएको छु भने म आफैंले संगीत गरेका गीत गाउन पक्कै पनि सक्छु भन्ने आँटका साथ अघि बढेँ । एकातिर राप्ती समाजको भवन निर्माण सहयोगार्थ मेरो एकल साँझ उभियो भने अर्कोतिर मेरो एकल संगीतको १० एल्बम र फुटकर संगीतको ढेड दुईसयको हाराहारीमा संगीत गरिएका गीतहरुबाट उत्कृष्ट गीतहरु गाउने सोच गरे ।
यही माघ २१ गतेका दिन मेरो जन्मदिनका अवसरमा मैले दाङमा एकल साँझमा आफ्नो संगीतबद्ध गीतलाई स्वरबद्ध गरेँ । मेरो परिवार, मेरा साथी, पत्रकार, संगीतकर्मी सबैको माया, सद्भाव, सहयोगबाट मेरो आँटलाई सफलता मिल्यो । यो मेरो गौरव थियो, सम्पूर्ण सहयोगी हातहरुको गौरव थियो । संगीत क्षेत्रको विकास र विस्तारमा मैले गरेको यो प्रयास सानै भए पनि सफल भयो भन्नेमा मेरो पूर्ण विश्वास छ भने एउटा साहित्य कला संस्कृतिको क्षेत्रमा लागेको राप्ती साहित्य परिषद्को भवन निर्माण सहयोगार्थ मैले गरेको यो अभियानले थोरै नै भए पनि समाजसेवाको अभियानमा हौसला प्रदान गरेको छ । मेरो डेढ दशकको संगीत यात्रालाई अझ पूर्णता दिने काम यो एकल साँझले गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु