“किबोर्ड बोकेरै गाउँ फर्किएँ”

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७३, मंगलवार

सुदीप सागर, संगीत संयोजक

काठमाडौं धेरैको सपनाको शहर बनेको छ । यही सपनाको शहरमा हराउनेहरु र यहीँबाट विदेश पलायन हुनेहरु पनि धेरै छन् । जान्दा यही सुन फल्छ भने नजान्दा कतिको सपना देख्दादेख्दै जिन्दगीले नेटो काट्छ । तर एउटै लक्ष्य र सपना बोकेर आउनेहरुले अठोटका साथ निरन्तर आफ्नो कार्यमा लाग्दा सफलता पनि हात पारेका छन् । तिनैमध्येका एक हुन् उम्दा संगीत संयोजक सुदीप सागर । खाँचीकोट–५ अर्घाखाँचीका सुदीप सागर पनि संगीतभित्र नै हराउन थालेका छन् । उनको सपना संगीतमा नै केही गर्छु भन्ने थियो । मध्यम परिवारमा जन्मिएका सुदीपले स्कुलस्तरमै पनि संगीतमा पुरस्कृत हुँदै आएका थिए । लोक, आधुनिक गीत गाउने, बाजा बजाउने गर्दै गर्दा स्कुलबाट संगीतको सागरमा होमिएका हुन् उनी ।

sudip-sagar1
उनी सानै छँदा आफ्ना काका बसन्त श्री सागरले लोकदोहोरी एल्बम ‘मथुराबेशीमा’ बजारमा ल्याएका थिए । तिनै काकाको संगतले उनलाई संगीतमा लाग्ने प्रेरणा मिल्यो । २०६४ सालमा म्यूजिकका लागि काठमाडौं छिरेका सुदीपले गुरुदेव कामतसँग दुई वर्ष संगीतको कक्षा लिए । काठमाडौंमा बसेर संगीतमा लाग्नका लागि परिवारको पनि सपोर्ट थियो । तत्कालिन समयमा एउटा किबोर्ड किनेको थिएँ । मलाई किबोर्ड किनाउनेले यतिभए संगीत संयोजनका लागि काम हुन्छ भन्दै ठूलो रकम खर्चिदिए तर जमाना कम्प्युटरबाट नै एरेन्जका काम हुन थालिसकेका रहेछ, मलाई फसाइएको रहेछ भन्ने पछि बुझें, सुदीपले भने । त्यसपछि काठमाडौंको बसाई मलाई असहज बन्दै गयो पुनः किबोर्ड बोकेर गाउँ फर्किएँ, सुदीपले पुराना दिन सम्झँदै भने मेरो लागि काठमाडौंमा ठाउँ रहेनछ जस्तो लाग्यो ।

सुदीप गाउँ फर्किएपछि भैरहवामा आफ्ना काकासँग सँगै बसे । करिब डेढ वर्ष भैरहवामा बस्दा पनि उनीभित्र संगीतकै नशा थियो तर समय अनुकुल बन्न सकेको थिएन । किबोर्डमै दिन बिताउँदै थिए सुदीपले, त्यो देखेर काकाले उनलाई पुनः काठमाडौं प्रवेश गराए । सपनाको शहर काठमाडौंमा उनलाई फेरी दुःखका दिन सुरु भयो । शून्यबाटै उनले संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भयो । साथीहरुसँग मिलेर काठमाडौंमा एक दुई वर्ष बिताए । संगीतकै शिलशिलामा उनले धेरै साथीहरु भेटे, स्टुडियो दौडिए, कहीँ गएर केही हुन्छ की भन्नेमै दिन बित्दै थिए । जब उनले चर्चित संगीत संयोजक आशिष अबिरललाई भेटे तब उनको दिनचर्यामा परिवर्तन आउन थाल्यो । आफ्नो एरेन्जको गुरु नै आशिष अबिरल भएको उनी कहिल्यै भुल्दैनन् । क्लासिकल म्यूजिक सिक्ने उद्देश्यका साथ उनी संगीतको दुनियाँमा छिरेका संगीत संयोजक (एरेन्जर) तिर बाटो मोडिएको पत्तै पाएनन् । उनलाई संगतले संगीत सिकायो र एरेन्जरको पेशामा लगायो । उनी काठमाडौंमै भौंतारिने क्रममा संगीत संयोजन सिक्दै थिए । त्यतिबेला अलंकार रेकर्डिङ स्टुडियोमा उनलाई धेरैले भेट्न पाउँथे । त्यही स्टुडियोमा कहिले टेक लिएर त कहिले साथीभाइसँग गफिएरै भए पनि दिन बितिरहेका थिए । एक दिन उनी स्टुडियोमा गायिका विन्दु परियारको टेक लिँदै थिए । विन्दुले झ्याप्पै मन प¥यो बोलको गीत गाउँदै थिइन् । अकस्मात उनलाई पनि विन्दु मन परेको पत्तै भएन । उनीहरुबीच पनि झ्याप्पै मन परेछ त्यसको छोटो अवधिमै एरेन्जर सुदीप सागर र गायिका विन्दु परियारबीच विहे भयो । उनीहरु एउटा सांगीतिक जोडी बन्न पुगे ।

bindu-pariyar-sudip-sagar
संगीत संयोजन गर्नु चानचुने कुरा होइन । एउटा संगीतकारले दिएको गोरेटोलाई पीच गर्ने काम संगीत संयोजकको हो । सुरु सुरुमा उनले म एरेन्जको काम गर्छु भन्दा पत्याउँदैनथे । तर काम गर्न छाडेनन्, अरुको विश्वास जित्ने काम गरिरहे । नाम चलेका संगीतकारहरुसँग काम गर्ने र आफ्नो कामलाई सकेसम्म राम्रो गरेर देखाउने उनको चाहना थियो । त्यो उनको अब पूरा हुने क्रममा छ । उनीसँग संगीतकार सन्तोष श्रेष्ठ, वसन्त सापकोटा, महेश खड्का, राजकुमार बगर, दिपक शर्मा, लोकराज अधिकारी जस्ता गीतसंगीतका व्यक्तित्वहरुले सहकार्य गरिरहेका छन् । तिज म्यूजिक अवार्डबाट उत्कृष्ट एरेन्जरको अवार्ड पाइसकेका सुदीप सागर म्यूजिक खबर म्यूजिक अवार्ड, विन्ध्यवासिनी अवार्डसमेत उत्कृष्ट पाँचभित्र पर्न सफल भएका थिए । काम गर फलको आशा नगर भन्ने सोचमा लागेका सुदीपले संगीतको सागरमा डुब्दा आनन्दित भएको बताउँछन् ।

व्यवसायिक हिसाबले संगीत संयोजनको काम राम्रो छ तर राम्रो मान्छे भेटाउन र विश्वास जित्न पनि चुनौति नै बन्ने गरेको छ, उनले भने – ‘यो पेशा रोमान्टिक छ, दुनियाँ बिर्साउँछ तर प्रविधि अनुसार आफूलाई चलाउन पनि गाह्रो छ ।’ संगीतकै नियमभित्र रहेर उनले संगीत संयोजन गरिरहेका छन् । तर हतारम ागर्ने दबाब दिने प्रचलन धेरैमा छ । संगीतकारले बुझिदिए भने संगीत संयोजन पनि राम्रो हुन्छ तर हतार गर्दा बिग्रन्छ । महिनामा १५ देखि २० वटाको हाराहारिमा उनले संगीत संयोजन गरिरहेका छन् । लोक, आधुनिक, चलचित्र, पप शैलीका गीतमा उनले संगीत संयोजनको कार्य गरिरहेका छन् । अब उनको पूरा समय कम्प्युटरका किबोर्डसँगै बितिरहेको छ । उनी यसै पेशाबाट आफ्नो लाइफस्टाइल बदल्ने सोचमा छन् । बरु गाउँ फर्किन्छु तर विदेश जान्न किनकी मलाई मेरै देशको माटोले धेरै कुरा सिकाएको छ, सुदीपले भने ‘यो रमाइलो दुनियाँमा वनर भएर बसेको छु, अब वर्कर बन्न किन विदेश जाने ?’

सुमन बैरागी/म्यूजिकखबर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु