कोइरालाको निधन, राजकीय सम्मान दिइने

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०७२, मंगलवार

नेपाली कांग्रेसका सभापति एवं पूर्व नेपाल सरकारका प्रधानमन्त्री सुशील कोइरालाको गएराति १२ः५० बजे निधन भएको छ । कोइराला परिवारको बिरासत थाम्दै १२ औं महाधिवेशनमा सभापति चुनिएका कोइरालालाई ठूलो जस चाँही संविधान निर्माणको जान्छ । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तरार्धमा सुरु भएर थाति रहेको काम थियो ।

सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी थिए । अविवाहित सुशील वन अधिकृत बाबुसँगै नेपालगन्ज पुगे । त्यसपछि कोइरालाको स्थायी बसोबास उतै भयो ।

दोस्रो संविधानसभामा ठूलो पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । २०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । ०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२÷६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए ।

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशील पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए ।

sushil koirala

लामो समयसम्म क्यान्स रोगबाट ग्रसित कोइराला संविधान निर्माणपछि लामो समय अमेरिकामै घुमफिरमा बिताएका थिए । कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिए । आफूलाई बिरामी भएकाले आराम गर्नुपर्ने नेताहरुको दबाब प्रतिवाद गर्दै कोइरालाले केही दिनअघिमात्रै भक्तपुरमा भनेका थिए, ’क्यान्सर जितेर आएको छु, अब म स्वस्थ्य भएको छु ।’ उनको संकेत आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी प्रष्टै थियो । तर, महाधिवेशनमा संस्थापन समूहका महाधिवेशन प्रतिनिधि, जिल्ला र क्षेत्रीय प्रतिनिधिले अग्रता लिइरहँदा मंगलबार बिहान एक्कासी सुशील कोइरालाले क्यान्सर जिते तर काललाई जित्न सकेनन् । दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगञ्जमै बिहान १२ बजेर ५० मिनेटमा निधन भएको हो ।

राजकीय सम्मान दिने सरकारको निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राति निधन भएका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । तोप सलामीसहित अन्त्येष्टिको व्यवस्था गर्न मन्त्रिपरिषद्ले रक्षा र गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

कोइरालाको निधनले स्तब्ध भएको भन्दै मन्त्रिपरिषदले शोकमा भोलि बुधबार १ दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । यस्तै, आजदेखि तीन दिनसम्म नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यी तीन दिन कुनै औपचारिक सरकारी कार्यक्रम पनि गरिने छैन । माघ २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा शोक पुस्तिका राखिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु