कोरोला नाका खुलाउन आयो ‘हाम्रो मुस्ताङ’

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७४, मंगलवार

८ फागुन, काठमाडौं । हिमाल पारीको जिल्ला पर्यटनको आकर्षकको केन्द्र बनिरहेको मुस्ताङ प्राकृतिक रुपले मात्र होइन धार्मिक तथा पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । त्यति मात्र होइन मुस्ताङमा रहेको चाइनासँग जोडिएको नाका ‘कोरोला नाका’ खोल्ने हो भने व्यापारिक र पर्यटकीय हिसाबले समृद्ध मुस्ताङ बन्ने उद्देश्यका साथ गीति एल्बम ‘हाम्रो मुस्ताङ’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।

प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा,एल्बमका गीतकार बिपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीसहितका व्यक्तित्वले उक्त एल्बम विमोचन गरेका हुन् ।

समारोहमा मुस्ताङको सुन्दरतालाई वर्णन गर्दै रचना गरिएको एल्बमको शीर्षक गीत ‘हाम्रो मुस्ताङ’ को म्युजिक भिडियो प्रिमियर समेत गरियो । उक्त गीतमा गायिका टीका प्रसाईंको स्वर छ । सन्तोष कोन्मेको निर्देशन, छायाँकन तथा सम्पादन रहेको उक्त भिडियोका परिकल्पनाकार बादल थकाली हुन् । पर्यटकीय दृष्टिकोणबाट विश्वकै सुन्दर ठाउँ मुस्ताङको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार गर्ने उदेश्यले उक्त म्युजिक भिडियो तयार पारिएको हो ।

विमोचन समारोहमा एल्बमका परिकल्पनाकार बादल थकालीले एल्बममार्फत मुस्ताङको प्राकृतिक सौन्दर्यसहित कोरला नाका खुलाउनका लागि आह््वान समेत गरिएको जानकारी दिए । गीतकार बिपिन किरणले शब्दमार्फत मुस्ताङको सेरोफेरोमात्र समेटेका छैनन्, गीतैमार्फत कोरला नाका खोल्न आग्रह समेत गरिएको छ ।

मुस्ताङको प्रचार–प्रसार गर्ने उदेश्यले तयार पारिएको उक्त गीति एल्बममा सात वटा गीत समावेश छन् । एल्बमका गीतमा टीका प्रसाईंसहित कृष्ण काफ्ले, रेश्मा पुन तथा लेखराज गुरुङका स्वरहरु सुन्न सकिन्छ । एल्बमका सबै गीतमा मिलन मोक्तानको संगीत निर्देशन छ । एल्बमका गीतमार्फत मुस्ताङको पर्यटकीय आकर्षण, धार्मिकस्थल, कला, संस्कृतिलाई उजागर गरिएको छ ।

विमोचन समारोहमा युवा नेता रविन्द्र अधिकारीले गीत–संगीतको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य राखिएकोमा खुशी व्यक्त गरे । गीतकार बिपिन किरणले गीतमार्फत मुस्ताङको झझल्को दिन खोजिएको बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु