चुनावी सरगर्मीमा तातेका संगीतकर्मी, रहर की बाध्यता ?

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७४, आईतवार

मंसिर १७, काठमाडौं । देशका गहना भनिन्छ कलाकारलाई । हुन पनि न भुगोल, न भाषा, न धर्म न त पार्टी, केहि हुँदैन कलाकारहरुको । सबैका साझा हनुपर्छ कलाकारले । तर यो भनाइ अहिले सान्दर्भिक छैन हाम्रो मुलुकका लागि । कलाकारहरु पार्टीका झण्डामुनी सांघुरिंने प्रथा बढ्दो छ । हुनसक्छ, कलाकारको बाध्यता पनि । किनभने देश बन्ने भनेको राजनीतिले नै हो ।

राजनीतिज्ञहरुको घिनलाग्दो स्वार्थबाट वाक्क भएर नै होला हाम्रा देशका संगीतकर्मीहरु कलाकारिता भन्दा माथी उठेर राष्ट्र सेवामा होमिएका छन् । या त राजनीतिमा जोडिनु उनीहरुको कुनै स्वार्थ हो त्यो आगामी दिनले नै बताउला ।

त्यस्तै यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्तालाई मात्र नभएर कलाकारहरुलाई पनि उतिकै व्यस्त बनाएको छ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले । मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी माहौल बनाउन कलाकार लागेपछि मतदाताले राजनैतिक भाषण र आश्वासनसहित गीत संगीतको समेत मज्जा लिन पनि पाएका छन् । बाम गठबन्धन र लोकतान्त्रिक गबन्धनमा आवद्ध उम्मेदवारलाई मत माग्दै कलाकार नै निर्वाचन अभियानमा केन्द्रित भएपछि चुनावी सरगर्मी बढेको छ ।

बद्री पंगेनी:
लोक दोहोरी गायक बद्री पंगेनी हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भइसकेका छन् । संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निर्वाचनमा हामी कलाकबार हौं भनेर बस्ने अवस्था आएन, त्यही भएर बाम गठबन्धनका लागि मतदान गर्न आग्रह गर्दै चुनावी अभियानमा लागेको बताउँने लोक गायक बद्रि पंगेनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएको चितवन क्षेत्र नं. ३ मा मत माग्न व्यस्त छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी दुई दर्जनभन्दा बढी चुनावी सभामा गीत गाएका पंगेनीले एमाले महासचिव इश्वर पोखरेल, स्वतन्त्र उम्मेदवार दिएका हृदयेश त्रिपाठीदेखि माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा समेत आफ्नो प्रस्तुति दिएका छन् ।

कोमल वली:
लोक गायिका एवं नेतृ कोमल वलीलाई पनि चुनावी सरगर्मी बढेको छ । बामगठबन्धनका लागि भोट माग्नमा व्यस्त छिन् । उनले केपी वलीको गृहनगरमा केपी वलीका लागि भोट मागिन् भने आफ्नै गृहनगर दाङमा बाम गठबन्धनका उम्मेदवार शंकर पोखरेलका लागि भोट माग्दै गीत गाइन् । थुप्रै स्थानमा उनले आफनै चर्चित लोकभाकालाई तोडमोड गरेर भोट मागिरहेकी छिन् ।

चेतन सापकोटा
गायक तथा संगीतकार चेतन सापकोटाको व्यस्तता पनि पंगेनीको भन्दा कम छैन ।। देशव्यापी रुपमा चुनावी अभियानमा संलग्न हुनुहुन्छ । उठ युवा हो, जाग युवा हो भन्न्े गीत बढी मतदाताले मन पराएका छन् –संगीतकार सापकोटाले बताए । यस्तै गायक तथा संगीतकार सापकोटाले पनि हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भएको बताए ।

राधिका हमाल
लोक गायिका राधिका हमाललाई पनि आजकल फुर्सद छैन लोकदोहोरी गायिका राधिका हमाल गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार नै भएकी थिइन् । उनको व्यस्तता पनि लोभलाग्दो नै छ । लोकगायक विमलराज क्षेत्री लोकतान्त्रिक गठबन्धनलाई मत माग्दै चुनावी अभियानमा छन् । गायिका हमालले रोल्पाको चुनावी अभियानपछि दाङ, गाइघाट, पाल्पा बुटवल लगायतका स्थानका चुनावी अभियानमा सहभागी भईसकेकी छिन् । लोकतान्त्रिक गठबन्धन विशेषगरी कांग्रेसलाई कांग्रेसलाई भोट माग्दै हिंडेको हमालले बताइन् ।

विष्णु खत्रीः
चर्चित लोक गायक विष्णु खत्री पनि निरन्तर चुनावी अभियानमा छन् । उनी पहिलो चरणको निर्वाचनमा बाग्लुङमा मतदान सकेपछि दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा व्यस्त छन् । अझै २० भन्दा बढी चुनावी अभियानको निम्तो आएको उनको भनाइ छ ।

माओवादी अध्यक्ष प्रचण्ड सहभागी हरेक कार्यक्रममा सहभागी भएर गीत गाएका विष्णु यसपालिको चुनावमा बामगठबन्धनका लागि सबैभन्दा धेरै गीत गाउने कलाकारका रुपमा चिनिन्छन् ।

खत्री जस्तै माओवादी र वाम गठबन्धनका धेरै गीत गाउने मध्येका अर्का कलाकार नविन खड्का पनि हुन् । उनले टीका पुनको साथमा थुप्रै गीत गाउनुका साथै वाम गठबन्धनका सभाहरूमा सहभागी हुने गरेका छन् ।

प्रकाश कटुवाल
लोक गायक प्रकाश कटुवाललाई पनि चुनावी अभियानले राम्रैसँग तानेको छ । ‘कांगे्रसलाई विजयी गराऔं’ भन्दै दर्जनौं स्थानमा मत माग्दै हिंडेका छन् ।

यस्तै गायक नविन खड्का र गायिका टिका पुन पनि चुनावी अभियानमा हुनुहुन्छ । गायक झंकार बुढामगर पनि निरन्तर चुनावी अभियानमै छने खड्काले गाएको मध्यपश्चिमको लोकलयमा आधारित ‘सिंगारु टप्पा’ नै उनले बढी गाउँदै हिंडेका छन् ।

यस्तै लोक गायक राजु ढकालले पनि कांग्रेसलाई पनि मत दिन आग्रह गरिएको चुनावी गीत गाएका छन् । अर्का लोकगायक विमलराज क्षेत्रीलाई पनि आजकल चुनावले राम्रैसँग तानेको छ । क्षेत्री पनि कांग्रेसको दर्जनौं चुनावी अभियानमा सहभागी भएका छन् । उनले ‘भोट हालौं रुखमा’ भन्ने गीत तयार पारेका छन् ।

यस्तै लोकगायक पुरुषोत्तम न्यौपानेले पनि चुनावी गीतमार्फत बाम गठबन्धनलाई मत मागिरहेका छन् । उनको भोट केमा सुर्यमा भन्ने गीत चर्चामा छ । मौलिक लोकलयमा तयार पारिएका चुनावी गीत नै बढी चर्चित देखिएको कलाकारहरुको भनाइ छ ।

-सविता पोखरेल

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु