जन्मभूमिको ‘सारङ्गी’ भित्र रेटिँदैछन् रोहित

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७४, शुक्रबार

१९ माघ, काठमाडौं । जति मान्छे आफू जन्मिएको भूगोलभन्दा पर जान्छ त्यति मनभरि पीडा र वेदना अनि जन्मभूमिप्रतिको प्रगाढ माया बोकेर बस्न बाध्य हुन्छ । जन्मभूमिपछिको कर्म दिने ठाउँ प्यारो लाग्नु स्वभाविक नै हो तर भूगोलको सीमाभित्र जन्मभूमिको सुगन्ध हुन्छ । आफ्नो भाषा, पहिचान, धर्म, लिंग र वर्णसँगको सामिप्यता जन्मभूमिको माया नै हो ।

परिवेश फरक होला तर देश उही नै छ, समय फरक होला तर सम्झना पुरानै छ गीतकार रोहित सुवेदीसँग पनि । उनी भुटानमा जन्मिएका होलान् तर नेपाली भाषी भएकै कारण त्यो माटो छोडेर हिंड्नुपरेको बाध्यतामा नेपालीभाषा र नेपालीपनभित्र उनको मन पनि यतै रमाएको पक्कै हो । धर्ती एउटै भए पनि भूगोलको सीमाभित्र आफ्नो ‘सारङ्गी’लाई रेट्न बाध्य छन् रोहित सुवेदी । जन्मिएको ठाउँमा टेक्ने जमिन नभएपछि त्यो जन्मभूमिको अर्थ रहँदैन गीतकार सुवेदी भन्छन्– ‘जन्मभूमि त्यो हो जसले माया, स्नेह दिएर टेक्ने जमिन दियो ।’

 

गीतकार सुवेदीभित्र नेपालीपनभित्रको नेपाली संस्कृतिले जरो गाडेको छ । यही देशभित्रको कलासंस्कृतिभित्र उनी रुमलिएका छन् । प्रवासको मरुभूमिभित्रको कहालीलाग्दो दैनिकीमा घरबासको यादमा चुर्लुम्म डुबेका छन् उनी । घरबासको गुन्द्रुक र ढिंडोसँग कहिल्यै दाँज्न सक्दैनन् उनी प्रवासको पिजालाई । स्वतन्त्र र आत्मनिर्भरताको भूगोल छोडेर प्रवासको जन्जिरभित्र बस्नुपरेको उनको पीडा मनभित्र ताजै छ । हो त्यही मनभित्र नेपाली कलासंस्कृति, साहित्य, भाषा र धर्मले उकुसमुकुस बनाइरहेको छ गीतकार सुवेदीलाई ।


धनी कलासंस्कृति भएको देश नेपालमा उनले कहिले मुर्चुङ्गाको गीत कोर्छन् भने कहिले सारङ्गीको कथा लेख्छन् । कहिले मादलु र टेम्कोको कुरा गर्छन् भने विनायो र खैचडीको कुरा गर्छन् । जे छ यही भूगोलभित्र भएको आफ्नो पहिचानसँग उनको आत्मीयता गाँसिएको छ ।

गत वर्ष मात्रै वर्षा गीतिसंग्रह बजारमा ल्याएका गीतकार सुवेदीले दोस्रो गीतिसंग्रह स्वरुप ‘सारङ्गी’ एल्बम लिएर आएका छन् । उक्त संग्रहमा जम्मा ९ वटा गीतहरु रहेका छन । उनका ‘सारङ्गी को मिठो धून गीतमा नेपाली संस्कृति झल्केको पाइन्छ भने ‘हामी भूटानी‘’ गीत मा आफ्नो देश बोलेको पाइन्छ । मायाप्रेम र बिछोडलाई भूगोलसँग मितेरी लगाएको कोसेली हो ‘सारङ्गी’ ।

उनका अलावा यस संग्रहमा गीतकारहरु दिपक आचार्य, वीरेन सुब्बा, अबी बाबु अधिकारी, यदुनाथ अधिकारीका उत्कृष्ट शब्दहरु रहेका छन् । जसमा हरि लम्साल, अलोक श्री , सन्तोष श्रेष्ठ, देबेन्द्र नेवा, मनिष चामलिङ, दिल्ली गुरूङ र केन मैनालीले संगीत भरेका छन् । उक्त सारङ्गीमा भारत, भूटान र नेपालका चर्चित गायक गायिकाहरु शिशिर योगी, प्रमोद खरेल, राज सिग्देल, सीडी बिजय अधिकारी, मनरथ तिवारी, देबेन्द्र नेवा, मनिष चामलिङ, केन मैनाली, अन्जु पन्त, संजीवनी र टिका पारसाईले सुमधुर आवाज दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु