डा.थापा र बुढालाई चोमोलुङ्मा सम्मान

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७३, आईतवार

नेपाली साहित्य, कला र संगीत क्षेत्रमा क्रियाशील रहेको संस्था चोमोलुङ्मा प्रतिष्ठानले यस वर्षको चोमोलुङ्मा सम्मान २०७३ बरिष्ठ समाजसेवी तथा साहित्यकार डा. रेनुका थापा (सोलु) र बाद्यवादक खर्क बहादुर बुढामगरलाई सम्मान गरिएको छ । चोमोलुङ्मा प्रतिष्ठान नेपालले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीको दरबार रोधी क्लबमा एक कार्यक्रमको आयोजना गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको हातबाट सम्मान प्रदान गरिएको हो ।

renuka-thapa
डा. थापालाई ‘चोमोलुङ्मा मनलक्की साहित्य सम्मान २०७३’ बाट र बुढामगरलाई ‘चोमोलुङ्मा पविधन खालिङ संगीत पुरस्कार २०७३’ बाट सम्मान गरिएको हो । यो सम्मान प्रतिष्ठानका संस्थापक अध्यक्ष संगीतकार पविधन खालिङले स्थापना गरिदिएकोे एक लाख बराबरको अक्षयकोषबाट ‘चोमोलुङ्मा पविधन खालिङ संगीत पुरस्कार’ प्रदान गरिँदै आइएको हो भने सगरमाथा फाइनान्सका सिइओ मन बाहिङले स्थापना गरिदिएको अक्षयकोषबाट चोमोलुङ्मा मनलक्की साहित्य सम्मान प्रदान गरिँदै आइएको अध्यक्ष जर्सिहाङ राईले जानकारी दिए । दुवै पुरस्कारको राशी चोमोलुङ्माको उचाई ८८४८ मिटर बराबर ८८४८ रुपैयाँ रहेको छ ।

kharka-bahadur-buda
सम्मानित डा. थापाले आफ्नो साहित्यिक यात्राको क्रममा नेपाली समाजमा देखिएका कुसंस्कार अनि विभिन्न नाममा हुने विभेद अन्त्यको लागि आजाव बुलन्द गर्दै आइरहेकी छिन् भने बाध्यवादनमा संगीत प्रविणको उपमा हासिल बुढामगर कुशल मादल र तबला बादक हुन् ।
सोही समारोहबीच सुमधुर स्वरकी धनी गायिका संगीता (मेखा) राईको साहिल नामक गीति एल्बमको विमोचन पनि गरिएको थियो । सात वटा फरक फरक किसिमका गीतहरु समेटिएको सो एल्बम संगीताका श्रीमान् चन्द्र राईको सहयोगमा निर्माण भएको हो । एल्बममा समेटिएको दुई वटाको म्युजिक भिडियोसमेत निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको थियो भने गायिका संगीताले कार्यक्रममा गीत गाएर सुनाएकी थिइन् ।
कार्यक्रमको प्रमुख अतिथिको आसिनबाट बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले चोमोलोङ्माले सबैभन्दा अग्लो उचाईबाट गर्ने हरेक कार्य जस्तोसुकै बादलले पनि नछेक्ने बताएका थिए । साहित्य, कला र संगीत क्षेत्र केवल मनोरञ्जनको साधनमात्रै नभई देश र समाज बदल्ने महत्वपूर्ण अस्त्रसमेत रहेको ठोकुवा गरे ।

sahil
बरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राईले विमोचित साहिल एल्बमको समिक्षा गर्दै यो एल्बमले नेपाली सांगीतिक क्षेत्रमा नयाँ आयम थप्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बरिष्ठ गीतकार टिका चाम्लिङ, सांस्कृति संस्थानका महाप्रबन्धक राजेश थापा, बरिष्ठ संगीतकार प्रकाश गुरुङ, मदनसिंह नेपाली, भूपेन्द्र रायमाझीलगायतले प्रतिष्ठानको प्रगतिको शुभकामना दिएका थिए ।

jarsihang-rai
त्यस्तै प्रतिष्ठानका अध्यक्ष जसिहाङ राईले प्रतिष्ठानले आफ्नो बाटोको पहिचान गर्दै ट्याक खोल्ने काम सकेर पीच गर्ने क्रममा रहेको बताए । महासचिव पूर्ण राईले संस्था स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रजहरुलाई सम्बोधन गर्दै पुर्खाको विरासत जोगाउनुका साथै थप रचनात्मक कार्य गर्नु आफुहरुको मुख्य दायित्व भएको बताए । कार्यक्रम संस्थाका सचिव सुवास जमरकट्टेलले सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रमपश्चात विभिन्न मनोरञ्जनात्मक गीत, कविता, गजल तथा रचनाहरु प्रस्तुत गरिएको थियो ।

२०६५ सालमा स्थापना भएको प्रतिष्ठानको आजिवन सदस्य, साधारण सदस्य तथा कार्यसमिति गरी जम्मा पाँच दर्जन भन्दा बढि साहित्य, कला र संगीतकर्मीहरु संगठित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु