दुर्जकुमारलाई वंशको सम्मान

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०७३, बिहीबार

काठमाडौं । शसस्त्र प्रहरी बल महानिरीक्षक दुर्जकुमार राई आफ्नो वंश तथा दाजुभाईबाट सम्मानीत भएका छन् । उनलाई रुङ्माहाङ् वान्तवा राई वात्तोङ समिति बेलायतले बुधबार राजधानीमा एक भव्य समारोहबीच सम्मान तथा बधाई प्रदान गरेको हो ।

डेढ दशकदेखि बेलायत बस्दै आएका गायक तथा पूर्वब्रिटिस आर्मी भूमिराज राईको संयोजत्वमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक राईलाई ताम्रापत्र र दोसल्ला ओढाए सम्मान गरेको हो । राई समुदायबाट पहिलोपटक प्रहरी महानिरीक्षक जस्तो गरिमामय तथा सर्वाेच्च पदमा पुग्न सफल भएको भन्दै उनलाई गरिएको संयोजक भूमिराजले बताए । ‘दुर्जकुमार राई अर्थात् मेरो काकालाई आज यस स्थानमा सम्मान तथा बधाई दिन पाउँदा गर्व लागेको छ’, प्रहरी महानिरीक्षक दुर्जकुमारको नाताले भतिज भूमिराजले भने, ‘मैले त नेपालमा सेवा गर्न पाइनँ । तर, दुई सय वर्षको गोर्खाली इतिहास निर्माण गर्नमा भने मेरो पनि योगदान छ ।’ दुर्जकुमारले आफ्नो एक्लो प्रयासले समग्र राई जातिकै शिर उँचो बनाएको भन्दै उनलाई शुभकामना र बधाई दिन राई समुदायका नेता, समाजसेवी, कलाकारलगायत विभिन्न पेसा र क्षेत्रमा आवद्ध व्यक्तित्वहरु कार्यक्रममा पुगेका थिए । उनीहरुले आफ्नो कार्यकाल अवधिभर नेपाल र नेपालीको सुरक्षा गर्न सफल भई एक सफल सुरक्षा व्यक्तित्वको इतिहास रच्न समेत सुझाए ।

apf amber
दुर्ज कुमार राई गत १४ बैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले शसस्त्र प्रहरी बल महानिरीक्षक पदमा नियुक्त पाएका हुन् । त्यसअघि ०७२ पौष ३ गते उनलाई सशस्त्र प्रहरीको कायम मुकायम महानिरीक्षकको जिम्मेवारी दिइएको थियो ।

amber gurung
पूर्वको विकट जिल्ला भोजपुरको दिल्पाकात्तिके नागी–४ ०१८ साल मंसिर १ गते जन्मिएका दुर्जकुमार ०४३ साल फाल्गुण ३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाटसेवा आरम्भ गरेका थिए । आफ्नो वंश तथा दाजुभाईबाट सम्मान र बधाई पाएपछि दुर्जकुमारले भने, ‘म आज जुन स्थानमा छु । त्यसमा मेरो आमा–बाबुको पनि ठूलो देन छ ।’ उनले आफ्नो बाल्यकाल र प्रहरी अहिले प्रहरी महानिरीक्षक पदसम्म पुग्दासम्मको स्मरण गरे ।

साथै, यसै अवसरमा गायक तथा कार्यक्रमका संयोजक भूमिराजले किराँत माङ्खिम भवन निर्माणका लागि १ लाख एक हजार १ सय १५ रुपैयाँ प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु