
हेयर स्टालिष्ट निल डेभिड कटुवाल (निल डेभिड कटुवाल) को सलुन भारतका विभिन्न स्थानमा पनि विस्तार भएको छ । उनको निल डेभिड्स सलुन भारतका विभिन्न स्थानपछि कोलकोतामा पनि विस्तार भएको हो।
सोमबार भारतको पश्चिम बंगालको राजधानी कोलकोतामा निल डेभिड युनिसेक्स सलोनको निलका साथमा प्रमुख अतिथी बंगाली अभिनेत्री श्रीलेखा मित्राले शुभारम्भ गरेकी हुन्।
हेयर स्टाइलको क्षेत्रमा नेपाली ब्राण्ड बनेका निल डेभिडको लोकप्रियता नेपालसँगै भारतको पश्चिम बंगालमा पनि बृद्धी हुँदै गएको छ । सिलगुढी, दार्जलिङ, गान्तोक, कालिमपोङ, दुर्गापुर, बंगाल, झारखण्डलगायतका स्थानमा सलुनले सफलता हासिल गरेपछि कोलकोताको मागबमोजिम कोलकोतामा पनि सलुन सञ्चालनमा ल्याएको निलले जानकारी गराए ।
‘एउटा नेपालीको हेयर कलाले देशमा बाहेक विदेशमा पनि लोकप्रियता पाईरहेको देखेर खुशी लागेको छ। यहाँको सलुनका लागि सोमा तालुकदारले फ्रेन्चाइजी लिनु भएको हो। सन् २०२० सम्म निल डेभिड्स युनिसेक्स सलुन भारतका प्रमुख शहरमा हुनेछ भन्ने विश्वास लिएको छु। धेरै ठाउँबाट माग आईरहेको छ’ निलले भने।
झापाको लक्ष्मीपुरका निलले सन् २००६ मा काठमाडौंबाट सञ्चालनमा ल्याएको निल डेभिड्स सलुन अहिले नेपालका विभिन्न १० स्थानका साथमा भारतमा पनि १० स्थानमा सञ्चालनमा छन्। नेपालको हेयर स्टाइलको क्षेत्रमा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको महिला पुरुषको हेयर सौन्दर्यको काम एकै छानामूनि एकैसाथ हुने गरी युनिसेक्स सलुन सञ्चालन गरेर क्रान्ति ल्याउका निलले ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअप तथा फिल्मी मेकअपको कडा र लाभदायी कोर्ष पूरा गरेका थिए।
झापा लक्ष्मीपुर कन्काई नगरपालिकाका निलले विश्वका धेरै देशबाट हेयर स्टाइलिङ र फेशन डिजाइनिङ कोर्ष पूरा गरी स्वदेश फर्केर हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याएका छन्। १५ वर्षअगाडि सन् २००१ मा सिंगापुर घुम्न जाँदा पुरुषले महिला र महिलाले पुरुषको हेयर स्टायल बनाएको देखेर आप्mनो देशमा पनि जमानाअनुसार यो सुविधा किन नगर्ने भन्ने सोचबाट प्रोत्साहित भएका निलले यसबारे औपचारिक कोर्ष पूरा गरी अत्याधुनिक सुविधासहितको सलुन सञ्चालनमा ल्याएपछि त्यसलाई पछ्याउँदै विभिन्न स्थानमा स्तरिय सलुन स्थापनाको श्रेय पाएका छन्। हेयर स्टाइलकै कोर्ष पूरा गरी यो पेशालाई अगाडि बढाएर क्रान्ति ल्याउने पहिलो नेपाली हेयर स्टाइलिष्ट मानिएका उनले विभिन्न सेलिब्रेटीलाई हेयर स्टाइल परिवर्तन गरी नयाँ रुप दिएका छन्।
सन् १९९९मा भारतको दिल्लीस्थित दिल्ली इन्टरनेशन इन्ष्टिच्युट अफ फेशन टेक्नोलोजीबाट फेशन डिजाइनिङ कोर्ष लिएका उनले सिंगापुर घुम्न जाँदा नारी पुरुष समान भन्ने मान्यताअनुसार महिलाले पुरुष र पुरुषले महिलाको कपाल सजावट गरेको देखेपछि फेशन डिजाइनर बन्ने योजनलाई पर सारी दिल्ली पुगेर हेयर स्टाइल कोर्ष गरेका थिए भने थाइल्याण्डको फुकेट कसमोबाट हेयर ड्रेसिङ र स्टायल कोर्ष गरेका थिए। हेयर स्टायलमै करियर बनाउने उद्येश्यले निलले बेलायतका विश्वप्रसिद्ध हेयर स्टाइलिष्ट टोनी एण्ड गाइजबाट क्रियट्रिभ हेयर स्टाइलिङ एण्ड कलर कोर्षसमेत गरेका थिए भने ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअप तथा फिल्म मेकअपको कोर्ष पूरा गरेका थिए।
नेपालको पहिलो अन्तराष्ट्रिय मान्यताप्राप्त हेयर स्टाइलिष्ट निलले २००८ मा आँखामा पट्टी बाँधेर २५ मिनेटमा ५ विभिन्न हेयर कट गरी किर्तीमानसमेत कायम गरेका थिए।