फागुन १४ बाट लोक सांस्कृतिक मेला

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७०, बुधबार

काठमाडौं, १७ पुस । विभिन्न देशहरुमा सांस्कृतिक भाइचाराको रुपमा अगाडि बढिरहेको लोक सांस्कृतिक मेला नेपालमा हुने भएको छ । नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सांस्कृतिक मेलाको रुपमा परिचित इन्टरनेशनल फल्क फेस्टिबल सातौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०१४ फागुन १४ देखि २३ गतेसम्म विभिन्न शहरमा आयोजना गरिने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सांस्कृतिक भाइचारा अभिबृद्धि गर्नुका साथसाथै आफ्नो देशको परिचय स्थापित गर्न यस्ता लोकसांस्कृतिक मेलाले ठूलो टेवा दिने विश्वास गरिएको छ । फागुनको दोश्रो सातादेखि प्रारम्भ हुँदै गरिएको यो मेलामा भाग लिन जर्मनी, श्रीलंका, भारत, घाना, बंगलादेश, इजरायल, इन्डोनेशिया, कोरियाजस्ता देशहरुले सहभागिता जनाउने छन् भने उक्त अवसरमा नेपालको पनि आफ्नो सांस्कृतिक प्रस्तुति रहनेछ । दुई सयभन्दा बढी कलाकारहरु सहभागी हुन आउने उक्त मेलामा माथि उल्लेखित देशहरुले सहभागिता जनाउने सहमति जनाइसकेका छन् भने मेक्सिको तथा बुल्गेरियाले चाँडै नै सो सांस्कृतिक मेलामा सहभागी हुने निर्णय गर्दै गरेको आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल नेपाल ग्रुपका अध्यक्ष आरसी कोइरालाले जानकारी गराएका छन् ।
सरकारी सहयोग बिना नै निजीस्तरको संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपले यसरी विभिन्न देशका धेरैभन्दा धेरै कलाकारहरुलाई सहभागी गराई सांस्कृतिक आदानप्रदान गर्न थालेको सातौं पटक भइसकेको छ । हरेक दुई वर्षको अन्तरमा नेपालमा पनि यसखाले अन्तर्राष्ट्रिय सांस्कृतिक मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्दै गरेको छ । काठमाडौंमा उद्घाटन गरी देशका विभिन्न शहरहरुमा आयोजना गरिने यसखाले सांस्कृतिक मेलाको समापन पनि काठमाडौंमै गरिने एभरेष्ट नेपाल कल्चरल ग्रुपले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु