बसको छतमा चढेर काठमाडौं आएको हुँ

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

टीका भण्डारी, संगीतकार

टीका भण्डारी नेपालको सदूर पूर्वी जिल्ला झापाको शान्तिनगरमा जन्मिनुभएको हो । भण्डारी झापाको धुलाबारीमा रहेको कवि शिरोमणी प्राविमा प्राथमिक तहको अध्ययन र धुलाबारी माविमा माध्यमिक तहको अध्ययन गरिसकेपछि २०४० सालमा बनारसतर्फ संगीत शिक्षाका लागि जानुभएको थियो । बनारसमा रहँदा तीन वर्ष शास्त्रीय संगीत, वेष्ट्रन म्यूजिक लगायत संगीतका नोटेशन सिक्नुभएको थियो । सोही बखत प्रमाणपत्र तहको अध्ययन पूरा गरी ०४२ सालतिर काठमाडौं प्रवेश गर्नुभएका भण्डारी रेडियो नेपालका उपनिर्देशकसमेत हुनुहुन्छ । नारायणगोपाल युवा संगीत पुरस्कार, रेडियो नेपालबाट देशव्यापी आधुनिक गीत प्रतियोगितमा स्वर्ण पदक, मदन स्मारकबाट बाल संगीत पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, एमएन म्यूजिक अवार्ड, नेपाल जेसिसको अवार्ड, त्रिविबाट एमएमा प्रथम भएर दुईवटा स्वर्णपदक, महेन्द्र विद्या भुषणलगायत ६ वटा स्वर्ण पदक प्राप्त गरिसक्नुभएका संगीतकार भण्डारीसँग म्यूजिकखबरका लागि सविता पोखरेलको कुराकानी ः

रेडियो नेपाल कसरी प्रवेश गर्नुभयो ?
त्रिचन्द्रमा अध्ययन गर्दाताका भएको एउटा कार्यक्रममा उनको सांगीतिक प्रस्तुति देखेर सबै चकित परेका थिए । जुन कार्यक्रममा मैले गिटार भ्वाइलिन र मेन्डोलियम बजाएर गीत गाएको थिएँ । मेरो प्रस्तुति देखेर त्यहाँ वान्स मोर भयो मैले क्याम्पसका विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान दिन सफल भएको थिएँ । त्यतिबेला मेरो क्लासमेड संगीतकार  बुलु मुकारुङ हुनुहुन्थ्यो । बुलुजीले मलाई समाउनु भयो र सोध्नु भयो तपाईं को हो ? के गर्नुहुन्छ ? मैले उहाँलाई आफ्नो कोठा घट्टेकुलोमा देखाएँ । उहाँ शनिबारको दिन मेरो कोठामा आउनुभयो र सबै मेरो बारेमा बुझ्नु भयो । उहाँले रेडियो नेपालमा हल्लीखल्ली मच्चाउनुभएछ । नातिकाजी, शिवशंकर, तारादेवीले बोलाउनुभयो र मैले अन्तरवार्ता दिएँ पनि । सोही बेला रेडियो नेपालमा बाद्यवादनको आवश्यकता भएको रहेछ । बाद्यवादनका लागि मलाई टेक बेसिसमा काम गर्न नातिकाजी, शिवशंकरले भन्नुभयो मैले हुन्छ भने । जुनबेला रेडियो नेपालमा एउटा भ्वाइलिन र मेन्डोलियम मात्र थियो । मैले एउटा गीतमा बजाएको २० रुपैयाँका दरले मेन्डोलियम बजाउने काम पाएँ । दिनमा दुईवटा गीत रेकर्ड हुन्थे । त्यतिखेर मेन्डोलियम बजाउने कोहि पनि रहेनछन्, जसले गर्दा मेरो परिचय भनेको नै मेन्डोलियम बजाउनेको रुपमा रेडियो नेपालमा स्थापित भयो ।

कसको प्रेरणाबाट संगीतमा लाग्नुभयो ?
मेरो काका चन्द्र भण्डारी पत्रकार संघका महासचिव हुनुहुन्थ्यो । उहाँ आफैं मेन्डोलियम बजाउने हुनुहुन्थ्यो । दाजु मित्र भण्डारी पनि मेन्डोलियम बजाउनुहुन्थ्यो । त्यस्तै मेरो आमा भजन गाउनुहुन्थ्यो भने बुबा हारमोनियम बजाएर गाउनुहुन्थ्यो । मेरो सांगीतिक परिवारले मलाई संगीतमा लाग्ने प्रेरणा दिलायो । मेरो बंशज नै सांगीतिक भएपछि मैले स्कुल पढ्दाताका पनि गीत गाउने गर्थेँ । स्कुलका कार्यक्रममा प्रथम हुँदै कलेजका कार्यक्रममा पनि प्रथम हुने भएपछि  म रेडियो नेपालमा प्रवेश हुने अवसर पाएँ ।

तपाईंको सांगीतिक यात्रामा भएका संघर्ष ?
मैले रेडियो नेपालमा आएपछि संगीत गरेको पहिलो गीत नागेन्द्र श्रेष्ठले गाउनुभएको छ । जुन मसँगै पढ्ने साथी अरुण तिवारीले लेख्नुभएको थियो । साउन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन्, जिन्दगीमा आउनेहरु किन त्यसै तर्सिदिन्छन् बोलको गीत संगीत गरेपछि नातिजकाजी, शिवशंकरले पनि मलाई अहो तिमी त राम्रो संगीत पनि गर्दा रहेछौं भनेर स्याबास पनि दिनुभयो । त्यसपछि मैले जीवनको यात्रा भन्ने गीत गाएँ, जसले मेरो स्वरले पनि स्याबास पायो । मेरो आवाजले स्वर परीक्षामा उत्तीर्ण भयो । त्यसपछि मेरा गीतहरु क्रमशः प्रकाश श्रेष्ठ, ज्ञानु राणा, मिरा राणा, नागेन्द्र श्रेष्ठ लगायतका गायकले गाउनुभयो भने पछि पछि आउने राजेशपायल राई, रामकृष्ण ढकाल, यम बराल, कर्णदास लगायतले पनि मेरा संगीतमा गीत गाउनुभएको छ । त्यसपछि मेरो सांगीतिक यात्राको सुरुवात भयो । मेरो संगीतलाई अरुले मान्न थाले, म भ्याइनभ्याइ भएँ अनि चुजी पनि बन्दै गएँ ।
२०५२ सालमा जब म रेडियो नेपाल १०० मेगाहर्ज सुरु भयो त्यसपछि रेडियो नेपालमा काम गरेका दश जनामध्ये मेरो स्वर राम्रो भएर छानिएँ । पहिलोपटक पहिलो रेडियोमा बोल्ने अवसर पाएँ, जसले मेरो स्वर अझ धेरैले सुन्ने मौका पाए । मेरो आवाज पनि चिनिन थाल्यो । २०५४÷५५ तिर मैले चलचित्रमा संगीत गर्ने अवसर पाएँ । तेजेन्द्र भुर्तेल भन्ने डाइरेक्टर हलिउडबाट पढेर आउनुभएको थियो । उहाँको चलचित्र विहानीमा मैले संगीत गर्ने मौका पाएँ । त्यो चलचित्रमा भएको गीत सुन हे धर्ती आकाश, चिसो चिसो सुनकोशी बग्यो सलल अहिले पनि उत्तिकै बज्ने गर्छन् । ती गीतहरु चर्चित बनेपछि बहादुर चलचित्रमा अशोक श्रेष्ठले लिनुभयो भने गोपाल कर्माचायले गाउँले चलचित्रमा लिनुभयो । गाउँलेमा गोली सिसाको बोलको गीत निकै चर्चित बन्यो । त्यो गीतले एमएन म्यूजिकको एमएन अवार्ड पनि प्राप्त ग¥यो । त्यसपछि मैले चलचित्रमा संगीत गर्न व्यस्त हुन थालेँ । एल्बमहरुमा पनि संगीत दिएँ, स्वर दिएँ ।

सांगीतिक क्षेत्रमा लाग्दाका अविश्मरणीय क्षण ?
अब सांगीतिक क्षेत्रको अविश्मरणीय क्षण भन्दा धेरै छन् । मेरो काठमाडौं प्रवेश नै बसमा टिकट काटेर चढेर आएको होइन । बसको छतमा चढेर काठमाडौं आएको थिएँ । घरको आर्थिक अवस्था निकै नै कमजोर थियो । बनारस पढ्न जाँदा पनि म घरको खर्च लिएर गएको थिइनँ । देउसी खेलेर जम्मा गरेको रकम बोकेर म बनारस गएको थिएँ । गाउँका मान्छेहरुले हामीले गाएको जनताको गीतहरु मन पराउँथे । हामी जनवादी गीत गाउने भएकाले गाउँलेहरुले मेरोमा आइदिए हुन्थ्यो भन्ने गर्थे । तत्कालिन अवस्थामा रामेश, रायन, मन्जुल, जेबी टुहरे जस्ता व्यक्तित्वहरुको गीतहरुबाट मान्छेहरु प्रभावित भइरहेको बेला हाम्रो एउटा टोली नै जनवादी गीत गाएर हिंड्थ्यौं । जसले समाजमा हाम्रो पहिचान बनाएको थियो । गाउँगाउँमा गएर मान्छे ब्यूँझाउँदा धेरैलाई रुवाउने, हँसाउने र चेतना फैलाउने काम हुन्थ्यो । जसबाट आएको रकमले नै मैले बनारस पढ्न गएको थिएँ । तर अहिलेको अवस्थामा म गरीब छैन । म निरन्तर संगीतमा लाग्ने व्यक्ति भएकोले कहिल्यै प्यासिभ भएर बस्न सकिनँ र नै आजको यो स्थान हासिल गरेको छु ।

sabita pokhrel_tika

तपार्इंको पहिलो एल्बम ?
२०४७ सालमा ‘प्रथम भेट’ नामक १२ वटा गीत समावेश भएको एल्बम निकालेँ । जसमा रविन श्रेष्ठ, नागेन्द्र श्रेष्ठ, किरण प्रधान, ज्ञानु राणा, लोचन भट्टराई, सुक्मित गुरुङ, सपना श्री, रामकृष्ण ढकाललगायत म आफ्नै पनि स्वर रहको छ ।

कार्यक्रममा विदेश कत्तिको जानुहुन्छ ?
मैले विश्वका धेरै देशको भ्रमण गरिसकेको छु । विदेशबाट धेरै अवसर आउँछन् तर आफ्नै कारणले म जान नपाएका धेरै ठाउँ छन् । २०६३ सालमा अमेरिकामा एउटा रेडियो संचालन भएको थियो त्यसमा एक कार्यक्रम चलाउनका लागि र एएनएनए कन्भेन्सनको उद्घाटन गीत बनाउनका लागि प्रस्ताव आएको थियो । भृकुटी बुद्ध जन्मिएको पवित्र देश नेपाल अब त शान्ति फैलियोस् भन्ने ज्ञानेन्द्र गदालले लेख्नुभएको गीत नेपालका १८ जना गायकगायिकाले गाउनुभएको थियो । त्यो गीत लिएर पनि म त्यहाँ जाने अवसर मिलेको थियो । त्यहाँ गएपछि ६ वटा एल्बम बनाएँ । दीपक जडितको एक अन्जुली माया, भूपेन्द्र महतको अभिप्सा, शेखर ढुंगेलको कुनै दिन, मिन थापाको इतिहास लगायतका थिए ।

संगीतमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । मलाई मान्छे देख्दा नचिने पनि कसैले मेरो नाम भनिदीयो भने ए हजुर नै हो भनेर मायाले हेर्नुहुन्छ । नाम सुनेपछि लाग्छ सायद मलाई नचिन्ने कोही हुनुहुन्न होला । अहिले पनि मेरो नै क्रियशन खोज्ने रोज्नेहरु धेरै आउनुहुन्छ । गायक गायीका तथा नायक नायीका सहित भएको कार्यक्रममा मेरो क्रेज कम देख्दिन । कतिपय ठाउँमा त अरु चलेका नाम भन्दा पहिले र बढी मेरो अटोग्राफ माग्न आउँछन् । यस्तै यस्तै कारणले पनि मलाई यो फिल्डले सन्तोष दिएको छ । कुनै पश्चाताप छैन ।

संगीतको बजार खस्किएको भनिन्छ नि ?
नेपाली सांगीतिक बजार खस्किएको अवश्य हो । तर म के भन्छु भने अहिलेको बजारमा फाइदा बेफाइदा दुबै छन् । कतिपय कलाकारले यहि क्षेत्रबाट जिवीकोपार्जन गरिरहेका छन् । विश्व घुम्न पाउनु भएको छ । सञ्चार सँगै संगीत पनि एउटै भएको छ । हिजो रेडियो टेलिभिजनबाट हिट हुन्थे, एल्बमहरु बिक्री हुन्थे तर अहिले गीतसंगीतको बजार झन् विस्तार भएको छ । विश्वमा रहेका नेपालीहरुले नेपाली गीतसंगीत सजिलै सुन्न पाएका छन् । हो पहिले बिक्री हुन्थ्यो तर अहिले बिक्री भएको छैन तर प्रविधिको माध्यमबाट पाउने फाइदा त पाएकै छन् नि ।

पहिले अहिलेको संगीत ?
पहिला रेडियो टेलिभिजनबाट गीतहरु हिट हुन्थे तर अहिले अनलाईन, यूट्यूब लगायत सामाजिक सञ्जालबाट गीत हिट हुन थालेका छन् । रेडियो टेलिभिजनमा गीत बजेर हिट हुने अवस्था अहिले छैन । अहिले प्रविधिले बजार विस्तार गरेका छ । सामाजिक सञ्जालहरुमा गीतहरु हिट हुँदै गइरहेका छन् । गीत सुन्ने र हेर्ने जमात प्रविधिको सदुपयोग गरिरहेका छन् । मेरो गीतहरु यो माया भन्ने चिज कस्तो, बर्षात्मा उनी रुझ्दा, हाँस्दैमा हाँस्दै जाउ, रंगीयो सिउँदो, खुशी त कहाँ जित्न सकिन्छ जस्ता गीतहरु राम्रो चर्चा पाइसकेका गीतहरु हुन् भने पछिल्लो समयमा स्वरुपराज आचार्यले गाउनुभएको आधि बाटो बोलको गीतले राम्रै चर्चा पाएको छ । मेरो चर्चा हेरिरहन पाउँ भन्ने तर पछाडि फर्कन नपरोस् भन्ने लागेको छ ।

अब कस्ता गीत चल्छन् ?
गीत बिक्ने र टिक्ने हुन्छन् । मानिसले प्रविधिलाई जित्न सक्दैन । अब मानिसले कस्तो खालको गीत सिर्जना गर्ने भन्ने कुरा हो । स्रोताको मन जित्न सक्ने गीत नै बिक्ने हो र सदाबहार बन्ने हो । मानिसको सोचाइभित्र नै सत्य हुन्छ । कोहिलाई साहित्यिक गीत मन पर्ला भने कतिलाई सतही गीतहरु मन पर्छ ।

संगीतमा लागेर बाँच्न सकिन्छ ?
नेपालमा केही स्रष्टा बाहेक गीतसंगीतबाटै जीवन चलाउन सक्ने कलाकार बन्न सकेका छैनन् । प्रविधिले जति राम्रो बनायो उति नराम्रो पनि बनाएको छ । पहिला बिक्री हुन्थ्यो भने अहिले प्रविधिले त्यसलाई बिक्री हुनबाट बञ्चित बनायो तर विस्तार भने भएको छ । त्यस्तै पाइरेसीले गीतसंगीतमा नोक्शान बनाएको छ । अहिले बजारमा गीतसंगीत बिकेर बाँच्ने भन्ने कलाकार औंलामा गन्न सकिने मात्र छन् । पाइरेसीलाई प्रविधिले प्रोत्साहन गरेको छ ।

पाइरेसी नियन्त्रण कसरी गर्ने ?
पाइरेसी नियन्त्रण गर्ने संगीत रोयल्टी, प्रस्तोता समाज, उत्पादक समाज, संगीत नाट्य प्रज्ञा प्रतिष्ठान, संगीतकार समाज, रजिष्ट्रारको कार्यालय, रेडियो नेपाल लगायतका संघसंस्थाहरु छन् । तर सतहमा पुगेर कसैले पनि पाइरेसी नियन्त्रण गर्न सकेका छैनन् ।

अहिलेसम्म कतिवटा एल्बम बजारमा ल्याउनुभएको ?
अहिलेसम्म २२ वटा एल्बम छन् भने केही प्यारोडी गीतका एल्बमहरु पनि छन् । कलेक्सन एल्बमहरुमा पनि धेरै गीतमा संगीत दिएको छु । एकैचोटी नौ वटा एल्बम रिलिज गर्नु भनेको एउटा संयोग मात्र थियो । सबै गीतकारहरुको काम गर्दै जाँदा संयोग मिल्यो र थोरै खर्चमा विमोचन गरिएको छ । संगीतकार भनेको एउटा माध्यम हो, लगानीकर्ता अर्कै हुन्छ ।
करिब ७ सय आधुनिक गीतमा संगीत स्वर दिएको छु भने एक दर्जन लोक गीतहरुमा स्वर दिएको छु । राम थापा, पाण्डव सुनुवार, उषाकिरण अधिकारी, जानकी भट्टराई, तारा थापा, ज्ञानु राणालगायतका गायकगायिकासँग मैले लोकगीत पनि गाएको छु । त्यस्तै मेरो जीवन ८ वर्ष रेडियो नेपालमा बाद्यवादनकै रुपमा कार्यरत भएँ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु