भरियादेखि अमेरिकाको यात्रासम्म

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७१, बिहीबार

काठमाडौं, १८ बैशाख । भनिन्छ, ‘संघर्षपछिको सफलता मीठो हुन्छ’ हिजोआज यस्तै अनुभूति गर्दै छन्, पूर्वेली स्रष्टा गौतम सागर राई । कुनै समय रुचि पूरा गर्न भारीसमेत बोक्ने गर्थे उनी । तर, राईले लोकसंगीतमा लागेर अहिले नामसँगै दाम पनि कमाउन थालेका छन् । पूर्वेली लोकसंगीतमा छुट्टै पहिचान बनाउन सफल राईले भने, ‘संघर्ष र मिहिनेत गरे फल साँच्चै पाइँदोरहेछ ।’
सोलुखुम्बु पावै–९ का राईले गायक बन्ने सपना सानैदेखि पालेका थिए । त्यसैले एसएलसी उत्तीर्ण गर्नेबित्तिकै उनी काठमाडौं झरे । गायक तथा कविसमेत रहेका राईले भने, ‘गायक बन्नकै लागि ०६३ सालमा १८ सय ५० रूपैयाँ बोकेर राजधानी आएको हुँ । मेरो उद्देश्य गायक बन्ने भएकाले यहाँ आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस ‘आरआर’मा संगीत विषय लिएर भर्ना गरेँ ।’ उनका अनुसार त्यो १८ सय ५० त्यतिखेर एक साता सालु–नाम्चे भारी बोकेर कमाएको पैसा थियो ।
राजधानी छिरेको ठ्याक्कै दुई वर्षपछि उनले ‘दोधारे माया’ नामक एल्बम ल्याए । एल्बम बजारमा ल्याएपछि एउटा इच्छा पूरा भएको अनुभव भएको राईले बताए । उनले भने, ‘दोधारे माया मेरो पहिलो प्रयास भएकाले त्यति चर्चामा त आएन तर एल्बम ल्याएपछि सानैदेखि एउटा रुचि भने पूरा भएको महसुस भयो ।’
गायक तथा कवि राईले हालसम्म चार एल्बम ल्याइसकेका छन्, जसबाट उनले नामसँगै दामसमेत पाइरहेका छन् । ‘दोधारे माया’ पछि ‘कान्छी मोरीलाई’ र ‘जीवन घामछायाँ’ लोकगीति एल्बम ल्याएका राईले हालै दिलको ड्राइभर’ ल्याएका छन् । यहाँसम्म आइपुग्दा उनले पूर्वेली लोकगीति क्षेत्रमा छुट्टै परिचयसमेत बनाएका छन् । गायक राई भन्छन्, ‘जीवन घाम छाया एल्बम ल्याएपछि नै गायकका रूपमा चिनिन थालेको हुँ । पछिल्लो एल्बम दिलको ड्राइभरले त मलाई स्टेज कार्यक्रममा पनि व्यस्त बनाउन थालेको छ ।’
गायक राई लोकगायनमा मात्र सीमित छैनन् । उनले विभिन्न पत्रिकाको सम्पादनसमेत गर्न भ्याए भने रेडियो सोलु र मिर्मिरे रेडियो काठमाडौंमा कार्यक्रम सञ्चालन गरेको अनुभवसमेत उनीसँग छ । गायन, रेडियो जंकी ‘आरजे’ र समाचार सम्पादनको अनुभवले मात्र नपुगेर उनले कवितासमेत कोर्न थाले, परिणामस्वरूप ‘बिएफबिएस’ रेडियोले ०६७ सालमा विश्वव्यापी आयोजना गरेको कविता प्रतियोगितामा नेपालको तर्फबाट तृतीय भए । त्यसपछि नै उनको नाममा ‘कवि’ झुन्डिएको हो । राईले भने, ‘जब कविता प्रतियोगितामा तृतीय भए, त्यससँगै साथीभाइले समेत कवि भन्न थाले । त्यसपछि कविता लेखनलाई पनि निरन्तरता दिन थालेको हुँ । चाँडै संग्रह निकाल्ने सोचमा छु ।’
सोलु–नाम्चेको भारी बोकेरै गायन करिअर सुरु गरेका राईले आफ्नो इच्छा त पु¥याए नै, उनलाई निरन्तर भाग्यले साथ दिन थाल्यो । गायनमा उचाइ पाइरहेकै बेला राईलाई अमेरिकाको डिभी प¥यो । डिभी भिसामा अमेरिका उड्ने तयारीमा रहेका राईले भने, ‘यी सबै मेरो मिहिनेतको फल हो ।’ यो महिनाभित्र अमेरिका उड्ने बताउँदै उनले भने, ‘त्यहाँ गएर पनि नेपाली गीत÷संगीतलाई निरन्तरता दिइरहनेछु किनकि, गीत÷संगीत मेरो सानैदेखिको रुचि हो ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु