म सस्तो लोकप्रियताका लागि दौडिने गायक होइन

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७१, शुक्रबार

काठमाडौं, १९ बैशाख । गायक एवं संगीतकार सागर अधिकारी आफूलाई सस्तो लोकप्रियताका लागि अगाडि नल्याउने सोचमा छन् । अहिले गुणात्मकता भन्दा संख्यात्मकतातिर संगीतको बजार लम्किरहेको हुँदा संगीत उद्योग नै धरासायी बनिरहेको परिप्रेक्ष्यमा सागर अधिकारी भने थोरै गीत सिर्जना गर्ने तर राम्रो गर्ने भन्ने सोचमा छन् । जुन गीतले संगीतको बजारमा सधैं जीवन्त बन्न सक्छ त्यस्तो गीतको निर्माण गर्नु आजको आवश्यकता भएको बताउने गायक एवम् संगीतकार सागर अधिकारीसँग म्यूजिक खबरका लागि गरिएको कुराकानी यस प्रकार छ ः

तपाईं एउटा गायक एवं संगीतकार, रेकर्डिङ स्टुडियो खोल्नु भएको छ के अब व्यापारतिर लाग्नुभएको हो ?
म सँग भएको खुबी एकातिर भयो भने यो अर्कोतिरको कुरा हो । यसलाई व्यवसाय नै भनौं । हुन त सिर्जनाको व्यापार हुँदैन तैपनि सिर्जनाको उत्पादन गर्ने, बजार प्रबद्र्धन गर्नु चाहिँ एउटा ब्यवसाय नै हो । अहिले स्टुडियो खोल्दैमा व्यापार मात्र गरिएको भन्ने पनि नसोचौं, यहाँ व्यापार र सहकार्य दुबै हुन्छ । अझ भन्नु पर्दा म आफै एउटा स्रष्टा भएकाले सबैसंग भेटघाट हुने एउटा थलोको रुपमा लिएको छु । त्यसो त गीत संगीत क्षेत्र आफैमा धरासायी छ, त्यसैले मैले आफूलाई व्यवसायीकरण पनि गर्नुपर्छ । म संगीतकै विद्यार्थी हुँ भने मेरो व्यवसाय पनि यही क्षेत्रसँग सम्बन्धित भयो भने पक्कै सफलता मिल्छ ।

नेपाली गीत संगीतको वर्तमान अवस्थालाई कसरी मूल्याङकन गर्नुहुन्छ ?
संगीतको वर्तमान अवस्थाका बारेमा भन्नु पर्दा कुनै एउटा पक्षलाई मात्र आधार मानेर समग्र संगीतको मूल्याङकन गर्न त्यति सहज छैन । तैपनि समय परिवर्तनशील छ, समयको परिवर्तन संगै केही सकारात्मक र केहि नकारात्मक परिवर्तन भएका छन् । आजको युग प्रविधिको युग भएकाले निकै सहजता भएको छ । संगीतको उत्पादन, बजार व्यवस्थापन, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा गीत संगीतको प्रचार प्रसार एवं पहुचको दृष्टिले ठीक छ तर पछिल्लो समयमा व्यवसायीक दृष्टिले नेपाली गीत संगीतको बजार निकै खस्किएको छ । यहाँ गुणात्मक भन्दा पनि संख्यात्मकतारित कलाकारहरु लम्किएका छन् । यसको व्यापार छैनभने भनौं भने संगीतकार, एरेन्जर गायक गायिका, स्टुडियो सधैं व्यस्त छन् । बजारमा गीतसंगीत पनि आइरहेका छन् । व्यापार छ भनौं भने कुनै पनि गीत बजारमा गएपछि आउने प्रतिफल शून्य छ ।

sagar sharad

तपाईको विचारमा नेपाली संगीतको स्वर्णीम युग कुन हो जस्तो लाग्छ, की आउनै बाँकी छ ?
नेपाली सुगम संगीतको इतिहासलाई हेर्दा आदर्णीय अग्रज स्रष्टाहरु स्वर सम्राट नारायण गोपाल, भक्तराज आचार्य, गोपाल योञ्जन, अरुणा लामा लगायतका स्रष्टाले जुन समयमा नेपाली गीत संगीतलाई एउटा उचाइमा पु¥याएका थिए, त्यही समयनै नेपाली संगीतको स्वर्णीम युग हो जस्तो लाग्छ मलाई । त्यसपछिको समयका प्रविधिको विकाससँगै धेरै कलाकारहरु जन्मे, संख्यात्मक हिसावले निकै गीत संगीतहरु सिर्जना भए । तर तुलनात्मक रुपमा नेपाली गीत संगीतको स्तर त्यति धेरै माथि जान सकेको भने छैन । भोलिको समय भनेको केवल अनुमान गर्न सकिने कुरा हो । त्यसैले जुन अवस्थामा छ, त्यो भन्दा निकै माथि उठ्नु जरुरी छ ।

अध्ययनबिना कलाकार बन्नेहरुको बीचमा तपाईंले चाहिँ संगीतमा मास्टर्स नै गर्नु पर्ने त्यस्तो के आवश्यक देख्नु भयो ?
भनिन्छ शिक्षा जीवनको ज्योति हो । त्यसैले संगीत मात्र नभएर हरेक विषयको औपचारिक ज्ञान हुनु जरुरी छ । संयोगले गीत संगीत बजारमा चल्नु चर्चित हुनु मात्र सफल कलाकार हुनु होइन यदि विषयगत ज्ञान छ भने अवश्य पनि त्यो कलाकारको विकास एवं स्तरोन्नतिका लागि राम्रो योगदान पु¥याउन सफल हुन्छ । संगीतको विकास एवं स्तरोन्नतिका लागि र अन्र्तराष्ट्रिय स्तरमा समेत लैजानका लागि यस विषयमा ज्ञान हुनु जरुरी छ । आफू जुनसुकै क्षेत्रमा लागे पनि औपचारिक शिक्षा विना मानिस पूर्ण बन्न सकेजस्तो मलाई लाग्दैन । त्यसैले पनि हरेक क्षेत्रको औपचारिक ज्ञान हुनु जरुरी छ ।

जतिसुकै पढेपनि शब्द, सिर्जना, स्वर राम्र्रो भएन भनेत दर्शक स्रोताले रुचाउँदैनन् नि ?
अवश्य पनि स्रोता दर्शकले एउटा गायकलाई रुचाउनका लागि आवाजमा मिठास हुनु, भावनामा डुबेर गाउन सक्नु, सुर तालमा राम्रोसँगखेलेर गाउन सक्नु, गीतको प्रकृति अनुसारको गायकी प्रस्तुत गर्नु र सप्तकमा खुलेर गाउन सक्नु पर्छ । यी क्षमता भएमा मात्र स्रोताले रुचाउने एउटा राम्रो कलाकार बन्न सकिन्छ । यी सबै कुरामा पूर्ण हुनका लागि औपचारिक ज्ञान र सही ढंगले गरिएको अभ्यास विना असम्भव छ । यद्यपि कुनै कलाकारमा स्वतः स्पूर्त रुपमा केहि औपचारीक ज्ञान विना पनि राम्रो कला प्रस्तुत गर्ने क्षमता हुन सक्छ, तर ऊ जीवित हुनका लागि धेरै साधना गर्नु जरुरी छ । गहिराइमा पुगेर गीतलाई न्याय गर्नका लागि सुर तालको ज्ञान हुनु जरुरी छ । स्वर भएर मात्र हुँदैन त्यसलाई अभ्यासमा नल्याएसम्म सफल कलाकार बन्न गाह्रो छ ।

सेलीब्रेटी बन्नका लागि रातारात एल्बम निकाल्नेहरु पनि छन्, राम्रो कला भएर पनि तपाई किन दर्शक स्रोतामाझ गुमनाम हुनुहुन्छ ?
सेलिव्रेटी हुने रहर सबैलाई जस्तै मलाई पनि छ । व्यवासायिक संगीत पनि गरेको छु । म सस्तो लोकप्रियताका लागि दौडिने गायक होइन । केवल चर्चा कमाउन र सेलिव्रेटी बन्नकै लागि अति सस्तो र विकृति ल्याउने किसिमको गीत संगीत गर्दिनँ । आज रातारात हिट भएर भोलि हराउनु भन्दा दिगो रहने सोचले संगीतमा अघि बढ्ने मेरो सोच हो । म गुमनाम भएको भने पटक्कै होइन मेरो पहिलो रेकर्डिङ २०५७ सालमा डा गोविन्द आचार्यको आधुनिक गीति एल्वम ‘जलन’ मा ‘म तड्पिएको हेर्ने हो भने, मरुभूमि भई हेर, जलेको मलाई हेर्ने हौ भने, मलामी भई हेर’ शीर्षकको आधुनिक गीतबाट मेरो सांगीतिक यात्रा शुरु भएको हो । जुन गीत विशेषगरी मध्यपश्चिममा बढी चर्चित पनि भयो । त्यसपछि काठमाडौंको रत्न राज्य क्याम्पसमा संगीतको औपचारिक अध्ययनमा लागे । त्यसैबीच झण्डै ७ वर्षजति संगीत शिक्षकको रुपमा विभिन्न शिक्षण संस्थामा काम गर्दै आए । केहि गीत रेकर्डिङ गर्दै अधि बढ्ने क्रममा २०६६ साल देखि ‘आलाप रेकर्डिङ स्टुडियो’ सञ्चालन गर्दै आएको छु । यसबीचमा विभिन्न राष्ट्रिय स्तरका प्रतिस्पर्धात्मक कायक्रमहरु जस्तैः रेडियो नेपालद्वारा २०५९ सालमा आयोजित राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरे, त्यसै वर्ष राप्ती सामाजले नेपालमै पहिलो पल्ट आयोजना गरेको राष्ट्रिय गजल गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरे । त्यसैगरी विभिन्न भजन प्रतियोगितामा दोस्रो, तेस्रो हुँदै केहि गजल, आधुनिक गीत, भजन, पिल्मी, स्वदेश गीतमा आवाज तथा संगीत दिरहेको छु । ती मध्ये भञ्ज्याङ म्यूजिकले केहि समय अघि सार्वजनिक गरेको ‘जिन्दगीले आफैलाई छल्दा खेरी रोए धेरै’ बोलको आधुनिक गीतमा मैले स्वर र संगीत दिएको छु । जुन गीतको म्यूजिक भिडियो पनि निमार्ण भइसकेको छ भने महिला स्वरमा अन्जु पन्तको आवाजमा पनि रेकर्ड भएको छ । केहि भजनका पनि म्यूजिक भिडियोहरु सार्वजनिक भएका छन् साथै केही गीत गजलको म्यूजिक भिडियो पनि सार्वजनिकको संघारमा छन् । जबसम्म ती कुराहरु मिडियाबाट सार्वजनिक हँुदैन तबसम्म कलाकारका बारेमा थाहा नै हँुदैन । किनकी आजभोली गीत संगीत सुन्ने भन्दा हेर्ने धेरै भएको छ । म आफ्नो सिर्जनामा निरन्तर छु ।

भोलिको तपाईंको पहिचान के ?
म गायक बन्ने सपना बोकेर हिंडेको मान्छे, म संगीत क्षेत्रमा रहेसम्म आफ्नो पहिलो पहिचान गायककै रुपमा बनाउन चाहन्छु । गायनकै क्रममा संगीत पनि गरौं भन्ने रुची भयो र पछि बुझ्दै जाँदा गायनलाइ राम्रो बनाउन वा गायकी राम्रो बनाउनका लागि पनि संगीतले निक्कै मद्दत गर्ने कुरा थाहा भयो त्यसै क्रममा संगीत गर्दै जादा साथी भाइहरुबाट राम्रो संगीत गर्न सक्छौ भन्ने प्रतिकृया आउन थालेपछि संगीतलाई पनि निरन्तरता दिएको छु । अव संगीतमा पनि त्यति नै रुची छ मेरो दोस्रो पहिचान संगीतकारको रुपमा बनाउन चाहन्छु । तर म गीतसंगीतमै रम्न चाहन्छु, सुरु र अन्य यसैलाई ठानेको छु ।
प्रस्तुतीः राधिका अधिकारी

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु