युवा संगीत पुरस्कार शिव परियारलाई

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७०, शुक्रबार

काठमाडौँ । राष्ट्रिय युवा सेवा कोषले यस वर्षको नारायणगोपाल ‘युवा सङ्गीत पुरस्कार’ शिव परियारलाई प्रदान गर्ने निर्णय गरेको छ । नारायणगोपाल युवा सङ्गीत पुरस्कार छनोट समितिका अध्यक्ष प्रा दीपक जङ्गमको अध्यक्षतामा विहीबार बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशि रु ४० हजार नगद, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।
विसं २०४८ मा स्थापित सो पुरस्कार विविध साङ्गीतिक विधाहरूमा निरन्तर सक्रिय रही सङ्गीत, गायनका कलात्मकता एवम् सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, सांस्कृतिक, साङ्गीतिक क्षेत्रमा प्रतिबद्ध रही योगदान पु¥याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रदान गरिन्छ ।
त्यसैगरी कोषद्वारा राष्ट्रिय विभूति अरनिको सम्मानको साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न विसं २०५७ मा स्थापित ‘अरनिको युवा कला पुरस्कार’ यस वर्ष युवा चित्रकारद्वय कपिलमणि दीक्षित र सम्झना राजभण्डारीलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कार छनोट समितिका अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति ठाकुरप्रसाद मैनालीको अध्यक्षतामा विहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
पुरस्कारको राशि संयुक्तरूपमा रु ५० हजार नगद, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु