रहरले रोधी पु¥याउँथ्यो

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७४, मंगलवार

सुमन बैरागी/म्यूजिक खबर


स्याङ्जा एलादी गाविस—४ खाल्टेकी शर्मिला गुरुङ लोकदोहोरीको क्षेत्रले कहिल्यै नभुल्ने नाम हो । उनको आवाजमा धेरै गीतहरु सुनिसकेका छन् नेपाली लोकगीतप्रेमीहरुले । रेडियो नेपालबाट २०५६ स्वर परीक्षा पास गरेकी गायिका शर्मिला गुरुङलको पहिलो रेकर्ड भएको गीत भने ‘निलो पछ्यौरी’ हो । पुरुषोत्तम न्यौपाने र राजेन्द्र लम्साल क्षेत्रीसँगै उनले गाएको नीलो पछ्यौरी त्यो जमानाको चर्चित गीत थियो । त्यसपछि निरन्तर गीत गाउँदै आएकी शर्मिलाले मिर्मि मुनी काली थुनेको, बल्लै भो भेट, काली गंगा तरेँ, फर्क मुग्लानी, सालैजो, कौडा गरी करिब दुई हजारको हाराहारीमा गीत गाइसकेकी छन् । आफ्नो एकल एल्बमका रुपमा ‘गहना’ बजाएमा ल्याएकी शर्मिलामा नेपाली माटो सुहाउँदो लोकगीत गाउन सक्ने खुबी छ ।

गायिका शर्मिलाका लागि गायनमा पहिलो अवसर दिने व्यक्तित्व भने गायक पुरुषोत्तम न्यौपाने हुन् । तर उनलाई गायनमा आउनै पर्छ भन्ने गोपाल जीटी, सुविन गुरुङको नाम कहिल्यै बिर्सन सक्दिनन् उनी । उनीहरुले शर्मिलाई लिएर सांस्कृतिक कार्यक्रमहरुमा हिंड्ने, गीत गाउने अवसर दिने, हौसला दिँदै यो क्षेत्र तिमीले छोड्नुहुन्न भन्ने गर्थे । त्यही हौसलाले आज उनी नेपालीहरुको मन मुटुमा बस्न सफल भएकी हुन् ।


गाउँमा लुकीछिपी रोधी बस्ने गायिका शर्मिलाको सांगीतिक करिअरलाई हेर्ने हो भने पोखराको सरगम दाहोरी साँझबाट सुरु भएको देखिन्छ । सरगमपछि सोल्टी दोहोरी साँझमा उनले काम गर्दै पोखरामा कलाकारिताको बाटो खोज्दै गरिन् । त्यसपछि रेडियो नेपालमा स्वर परीक्षा दिन काठमाडौं छिरेकी गायिका शर्मिलाले रेकर्डको अलावा काठमाडौंको पहिलो दोहोरी साँझ पुकार दोहोरी साँझमा गीत गाउन थालिन् । पुकारपछि छहारी दोहोरी साँझमा काम गरेकी शर्मिलाले पुराना दिन सम्झिँदै भनिन्– ‘तत्कालिन समयमा दोहोरी निकै रमाइलो नै हुन्थ्यो, तलबभन्दा टिप्स धेरै पाइन्थ्यो । अझ त्योभन्दा धेरै सम्मान मिल्थ्यो । हामीले काम गर्दा बसेर गाइन्थ्यो, पारिवारिक वातावरणमा दोहोरीको मज्जा लिन पाइन्थ्यो । अनुशासनमा रहेर काम गरिन्थ्यो तर अहिलेको परिस्थितिमा दोहोरी उच्शृंखल बन्दै गएको छ ।’ अहिलेको दोहोरीमा अनुशासनको खडेरी छ । व्यवसायिकताको नाममा दोहोरीलाई फोहोरी बनाइयो । पारिवारिक रुपमा सँगै बसेर सुन्ने खालको दोहोरी बजारमा आउन छाडे, दोहोरी साँझमा त झन् पाहुनासँगै बसेर नखाएसम्म जागिर नपाउने अवस्था सिर्जना हुँदै गएको देखिन्छ । छाडापनसँगै गाइएको दोहोरीले व्यवसायिक बनेपनि दीर्घकालिन नबन्ने हुँदा सम्मानको खडेरी देखिन्छ ।

गायिका शर्मिलाले गायिका बन्छु भनेर सोचेकी पनि थिइनन् । गाउन रहर लाग्थ्यो, कहाँ गएर गाउने होला भन्ने हुन्थ्यो तर गाउँमा पनि रोधी बस्न जान पाइँदैनथ्यो । परिवारले धेरै पढोस्, राम्रो घर गरिखाने बनोस् भन्ने सोचेकै कारण रोधीतर्फ जानुहुन्न इज्जतको कुरा हुन्छ भन्नुहुन्थ्यो तर रहरले ती कुरा तोडेर रोधी पु¥याउँथ्यो उनलाई । नसोचको कुरा हो यो क्षेत्र, गीत गाउँछु भन्ने रहर थियो, गाउँदै आउँदा आउँदै परिचित भइयो, सबैले आज गायिका भनेर चिन्ने वातावरण बन्यो ।


गायनको यात्राले डेढदशक पार गरिसकेको छ शर्मिलाको । अहिलेसम्मको जीवनको यात्रामा उनले देखेको सांगीतिक क्षेत्र नराम्रो भने छैन । राम्रो क्षेत्रका रुपमा लिन्छिन् लोकदोहोरीलाई शर्मिलाले । तर जस्तो काम गरियो त्यस्तै फल पाउनेमा भने उनी विश्वस्त छिन् । समयलाई चिनेर निरन्तरता दिनु नै सफलता ठान्छिन् उनी । गीतसंगीतमै बाँचिएको छ, जीविकोपार्जन चलेकै छ भने यस क्षेत्रलाई नराम्रो कसरी भन्ने । मानसम्मान र इज्जतसँगै जिन्दगी चल्नु भनेको दाम कमाउनुभन्दा ठूलो हो, शर्मिलाले भनिन् । सुरुसुरुमा गीत गाउनेहरुले पैसाबिना नै गाउने अवसर पाउँथे, त्यसमै खुशी हुनुपर्ने अवस्था थियो तर म भाग्यमानी गायिकाको रुपमा यो क्षेत्रमा आएको रहेछु, उनले भनिन् – ‘खानामै सीमित राखेर गीत गाउने चलनको अन्त्यमा म आइपुगेको रहेछु अर्थात् पारिश्रमिक पाउने समयमा मेरो इन्ट्री भएको हो ।’

पहिले पहिले गाउँघरमा फलानको छोरी गीत गाउने भइ बिग्री भन्थे तर मैले भने आफ्नो काम, कर्तव्य र विश्वासलाई त्यागिनँ । अहिले तिनीहरु नै राम्रो गरिस् भन्छन्, गीत गाउने पनि सभ्य हुन्छन् भन्ने बनाइयो । ५५ सालतिरको कुरा हो भाइलाई हात भाँचिएर पाल्पा हस्पिटल लगेर फर्किँदा गाडी एक्सिडेन्ट पर्दा भाइको पुनः हात अप्रेशन गर्नुपर्ने भयो । आफ्नो पनि हातमा खुट्टामा ओठमा चोट लाग्यो त्यो दिन कहिल्यै बिर्सन सक्दिनन् शर्मिला ।

गायिका शर्मिलाको जीवनमा सबैभन्दा मन पर्ने गीत भने ‘रानीघाटैमा किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा’ हो । दुई हजार गीत गाइसक्दा उनको मनमा भने रानीघाटैमा बोलको गीतले डेरा जमाएको छ । युके, जापान, कोरिया, हङकङ, युरोप, सिंगापुर, खाडी मुलुक, मलेसिया, बू्रनाइ डेढ दर्जन मुलुकहरुमा सांस्कृतिक कार्यक्रममा गइसकेकी शर्मिलाले अरुले करोडौं लगानी गर्दा पनि नआउने नाम कमाइएकोमा गर्व लाग्छ । पैसा मात्रै ठूलो सोचिएको भए यो मानसम्मानको जिन्दगी उहिल्यै अन्त्य हुन्थ्यो, उनले भनिन् । अब छिट्टै लोकगीतको एल्बम लिएर आउँदै गरेकी शर्मिला गुरुङ सदाबहार गायिकाको रुपमा नेपालीहरुका माझ चिनिएकी छिन् र गुन्जिरहने छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु