व्यापारमा भन्दा सङ्गीतमा सन्तुष्टि मिल्छ

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७३, सोमबार

प्रल्हाद बोगटी, सङ्गीतकारpralhad bogati
अध्यक्ष, बी ब्रदर्श कम्पनी

प्रल्हाद बोगटी, पेशाले व्यापारी, विधाले सङ्गीतकार । पारिवारिक पृष्ठभूमि व्यापारी भएकै कारण अहिले उनी व्यापारतर्फ आकर्षित भएका हुन् । हुन त उनको सानैदेखिको रुचि भने संगीत नै हो । ०५२ सालतिरबाटै संगीतमा लागेका संगीतकार बोगटीलाई व्यापारतर्फ तत्कालिन समयमा ध्यान नै थिएन । उनका बाबा व्यापारी थिए तर उनी भने संगीतको वातावरणमा रमाउन खोज्दै थिए । उनले पहिलो संगीत गरेको गीत भने काठेभाकाको लोकदोहोरी नै थियो । काँडेतारको बार बोलको गीतबाट संगीतको यात्रामा दौडिएका बोगटीले ४० भन्दा बढी गीतमा संगीत भरिसकेका छन् । लोकदोहोरीबाट संगीतको यात्रा सुरु गरे पनि उनले आधुनिक, पप, चलचित्रका गीतमा पनि संगीत दिएका छन् ।

अध्ययनको कालखण्डमा उनले संगीत गुरुका रुपमा विद्यालयमा काम गर्दै आफ्नो रहरलाई पूरा गर्दै थिए । केही गीतमा संगीत दिइसकेपछि बोगटीले आफूलाई बुबाको पेशातर्फ लगाए । अन्ततः उनी १५ वर्षजति संगीतभन्दा बाहिर रहेर व्यापारिक पृष्ठभूमिमा आफूलाई तल्लिन गराए । व्यापारबाट विस्तारै आर्थिक अवस्था र आधारभूत आवश्यकताहरुलाई व्यवस्थित गराएपछि अहिले उनी फेरी संगीतमा नै फर्किएका छन् ।

बोगटी बी ब्रदर्श कम्पनी प्रा.लि. अर्थात् क्याराभान सुजका अध्यक्ष हुन् भने नेचुरल हर्बल वल्र्डका संचालक हुन् । उनका चार दाजुभाइ मिलेर संचालनमा ल्याएको क्याराभान सुज बजारमा राम्रो स्थान पाएको कम्पनी हो । आर्थिक अवस्थालाई सुदृढ गराएपछि मात्र संगीतमा लाग्नुपर्ने अवस्था देखेर उनले १५ वर्षको अवधि संगीतभन्दा व्यापारमा लगाए । आर्थिक पाटो सबल बनाउनका लागि व्यापार सबैभन्दा उत्तम उपाय हो भने आत्मसन्तुष्टिका लागि संगीत उत्तम हो, बोगटीले भने – ‘आधारभूत आवश्यकता अब पूरा गरेको छु त्यसैले अब व्यापारमा भन्दा सिर्जनात्मक काममा आफूलाई लगाउने सोचमा छु ।’ पहिला पहिला व्यापारमा लाग्दा धेरै दौडधूप हुन्थ्यो तर अहिले थोरै समय दिँदा पनि व्यापारका लागि पुग्ने गरेको उनले बताए ।

pralhad bogati2
संगीतमा धेरै खर्च हुने तर आम्दानी कम हुने क्षेत्र हो भन्ने प्रश्नमा उनी भन्छन्– खर्च धेरै हुन्छ बुझेर पनि म संगीतमा नै लागिरहेको छु । तर म व्यवसायिक रुपमा संगीत सिर्जना गर्ने काममा छु, मेरो पारिश्रमिकभन्दा धेरै खर्च हुन्छ र पनि मलाई संगीतमा रमाउन मन लाग्छ ।’ संगीतबिना कोही पनि चल्न नसक्ने हुँदा जुनकुनै व्यापारसँग संगीत जोडिएको उनी दाबी गर्छन् ।

pralhad bogati1
लामोसमय व्यापार गरिरहेका उनी गत वर्ष मात्र एक्सन चलचित्रबाट आफूलाई संगीतमा पुनः भित्र्याएका हुन् । त्यसपछि गीतकार प्रभात सुवेदीको ‘प्रभात’ एल्बममा एकल संगीत दिएर सांगीतिक यात्रामा हामफालेका संगीतकार बोगटीलाई चिनाउने गीत भने प्रभात एल्बमकै अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो आफ्नो मान्छे’ हो । अब अहिले पनि प्रभात सुवेदीकै शब्दमा एकल संगीतकारका रुपमा देखा पर्दैछन् बोगटी । किन प्रभात सुवेदीसँग मात्रै सहकार्य हुन्छ भन्ने प्रश्नमा बोगटी भन्छन्– ‘प्रभातजीसँग मेरो सांगीतिक र व्यवसायिक दुवै सम्बन्ध गाँसिएको छ । जसले गर्दा हाम्रो सहकार्य सम्भव भएको छ भने मैले उहाँको मन जित्ने संगीत सिर्जना पनि गर्न सकेको कारण सँगसँगै हिंड्ने मौका मिलेको छ ।’ नयाँ एल्बमको नामाकरण गर्न बाँकी नै रहे पनि केही समय पहिला मनोजराज शिवाकोटीको स्वरमा किन हान्छ्यौ नजरले बोलको गीत रेकर्ड भइसकेको छ । ६ वटा गीत रहने एल्बममा ५ वटाको संगीतको काम सकिएको भए पनि अब रेकर्डिङको काम मात्र बाँकी रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु