स्रष्टा तथा पत्रकारलाई ‘राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार–२०७४’

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७४, बुधबार

मङ्सिर ६, काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रको मातृ संस्था नेपाल सांगीतिक संघले नेपाली गीतसंगीतको विकासका लागि अतुलनिय योगदान दिएका स्रष्टा तथा साधकहरुको सम्मानार्थ राष्ट्रिय सांगीतिक विशिष्ट सम्मान तथा पुरस्कार–२०७४बाट नेपालको संगीत क्षेत्रमा लागिपरेका विभिन्न श्रष्टाहरु र एकजना पत्रकारलाई सम्मान गरेको छ ।

गायक, गायिका, गीतकार, संगीतकारका हकअधिकारका लागि भन्दै खुलेको नेपाल सांगीतिक संघको आयोजनामा राष्ट्रकवि माधव प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा प्रदिप नेपाल राष्ट्रिय साङ्गीतिक पुरस्कार यादव खरेललाई प्रदान गरिएको थियो ।

त्यस्तै लाल समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कारबाट नीर शाह, मधुबाबु राष्ट्रिय सांगीतिक पुरस्कारबाट बुद्धिकृष्ण लामिछाने, अम्बर गुरुङ राष्ट्रिय सांगीतिक पुरस्कारबाट शान्टि ठटाल, फत्तेमान राष्ट्रिय साङ्गीतिक पुरस्कार अन्जु पन्त, शिबशंकर राष्ट्रिय सांगीतिक पुरस्कार शक्ति बल्लभ, पुष्प नेपाली राष्ट्रिय सांगीतिक पुरस्कार गुरुदेव कामतलाई प्रदान गरिएको थियो ।

सोहि अवसरमा राष्ट्रिय सांगीतिक विशिष्ट पुरस्कार सुवर्ण लिम्बुलाई प्रदान गरिएको थियो भने संघले विगत १७ वर्षदेखि सञ्चार क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सुमन वैरागीलाई राष्ट्रिय संगीत पत्रकारीता सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रकवि माधवप्रसाद घिमिरे, संघका अध्यक्ष मिलन मोक्तान लगायत अन्य अतिथीहरुको हातबाट पुरस्कार तथा सम्पान प्रदान गरिएको हो ।

नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक फत्तेमान राजभण्डारी, पुष्प नेपाली, शिवशंकर लगायतको स्मृतीमा विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत राखिएको थियो ।

सम्मानित स्रष्टा तथा पत्रकारहरुलाई प्रमुख अतिथी माधवप्रसाद घिमिरेले बधाई तथा शुभकामना दिंदै विशुद्ध संगीत विकासका लागि खरो साधना गर्नलाई सुझाव दिएका थिए । त्यस्तै संघका संस्थापक अध्यक्ष कुमार बस्नेतले आफ्नो मन्तव्यमा सदैव संघको हित होस् भन्ने चाहना व्यक्त गरेका थिए । संघका उपाध्यक्ष शशि शर्मा मजगैंयाले कार्यक्र सञ्चालन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु