८ खर्ब १९ अर्ब ६४ करोड ८८ लाखको बजेट

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७२, बुधबार

अर्थमन्त्री रामशरण महतले बजेट प्रस्तुत गरेपछि संसद् १५ मिनेटलाई स्थगित भएको छ ।  महतले आगामि वर्षका लागि ८ खर्ब १९ अर्ब ६४ करोड ८८ लाखको बजेट प्रस्तुत गरेका छन् ।

सहरमा ठूला सवारीलाई प्राथमिकता

बजेट ले काठमाडौं उपत्यकाका मुख्य सडकमा ४० सिटभन्दा कम क्षमताका भाडाका सवारीलाई निरुत्साहित गर्न खोजेको छ । बजेटसुनाउँदै अर्थमन्त्री रामशरण महतले ४० सिटभन्दा कम क्षमताका हाल चलिरहेका साना भाडाका सवारीलाई सहायक सडकमा मात्रै चल्न दिइने बजेट मा व्यवस्था गरिएको छ ।

४० सिटभन्दा कम क्षमता भएका भाडाका सावरीको नयाँ दर्तामा रोक लगाइएको छ भने ४० सिटभन्दा माथि क्षमता भएकाको सहकारी र सवारी चलाउने संस्थामार्फत् आयात गरिएमा ५ प्रतिशत मात्रै भन्सार शुल्कको व्यवस्था गरिएको छ ।

यसबाट सरकारले उपत्यकामा सानो क्षमतामा ट्याम्पु र माइक्रोजस्ता सवारीलाई सरकारले निरुत्साहित गर्न खोजेको देखिन्छ । १० देखि २० जना बोक्नसक्ने भाडाका सवारी बढी भएकाले काठमाडौंको सार्वजनिक सवारी व्यवस्थित हुन नसकेको आवाज उठ्ने गरेको छ ।

बजेट   ८ खर्ब १९ अर्ब, ६४ करोड ८८ लाखकाे

अागामि अार्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब, ६४ करोड ८८ लाखकाे बजेट अर्थमन्त्री रामशरण महतले सार्वजनिक गरेका छन् । चालु खर्च ४ खर्ब ८४ खर्ब छ । यसैगरी विकास लक्ष्यित पूँजिगत खर्च २ खर्ब ८ अर्ब र वित्तिय व्यवस्थातर्फ १ खर्ब २६ अर्ब छुट्याइएको छ । पूँजिगत खर्च यस वर्षभन्दा झन्डै दोब्बर बढाइएको छ ।

यो बजेट ४ खर्ब ७५ अर्ब अान्तरिक राजश्वबाट, वैदेसिक अनुदा १ खर्ब १० अर्ब, वैदेसिक ऋण ९४ अर्ब ९६ करोड, आन्तरिक ऋणबाट ८८ अर्ब र यस वर्षको बजेट बाट बचत ४८ अर्ब ५६ करोडबाट पुरा गरिनेछ ।

कर्मचारीको तलब बढेन

बजेट भाषणपछि निजामति कर्मचारीको तलब नबढ्ने भएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री रामशरण महतले भूकम्पका कारण स्रोतकाे अभाव भएकाले अहिलेकै अवस्थामा तलब बढाउन नसकिएको बताएका हुन् । तर, अागामि दिनमा भने तलब सुविधा बढाइने पनि उनले बताएका छन् ।

वृद्ध भत्ता दोब्बर

७० वर्षभन्दा माथिका वृद्ध वृद्धाहरुलाई दिंइदै आएको भत्तामा दोब्बर वृद्धि गरिएको छ । ५ सय भत्ता दिंइदै आएकोमा औषधिका लागि थप ५ सय थपिएको छ । त्यस्तो भत्ता पाउने वृद्ध वृद्धाको संख्या ९ लाख १२ हजार ७ सय ६७ रहेको छ ।

सरकारले सामाजिक सुरक्षा शीर्षकमा जेष्ठ, एकल महिला, पिछिडिएका क्षेत्रका जात जातिका २१ लख ५२ हजार ८ सय ६९ जनालाई भत्ता दिने गरेको छ । उनीहरुलाई दिंइदै आएको भत्ता बैंकिङ प्रणालीमा ल्याइने छ ।

मुटु, मृगौला, क्यान्सर जस्ता दीर्घ रोगहरुको उपचारमा सरकारले उपलब्ध गराउँदै आएको योगदानलाई निरन्तरता दिइएको छ । सरकारी अस्पताल र स्वास्थ्य चौकीबाट वितरण गरिदै आएको बजेट लाई दोब्बर गरिएको छ । सरकारी अस्पतालमा कानुन अनुसार गराइने गर्भपतन र २८ दिनसम्मको शिशुको उपचारलाई निशुल्क गरिएको छ ।

budget-fy-2015-16

अर्थमन्त्री रामशरण महतले पेश गरेको बजेट मा कृषि क्षेत्रका लागि २६ अर्ब छुट्याइएको छ भने सडक निर्माणमा ५४ अर्ब छुट्याइएको छ । जलविद्युत्मा ४५ अर्ब छुट्याइएको छ । यो वर्ष १९ सय ४२ किलोमिटर नयाँ सडक, ७ सय ९५ किलोमिटर कालोपत्रे सडक र १ सय ७० वटा पुल बनाउने घोषणा गरिएको छ ।

शिक्षा क्षेत्रमा ९८ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।

भूकम्पपछिको पुनर्निमाणलाई उनले प्राथमिकतामा राखेका छन् । यसका लागि दुरसंचारमा १ प्रतिशत कर लगाउने लगायतका कार्यक्रम उनले घोषणा गरेका छन् । निर्माण व्यवसायीका कारण पनि विकास खर्च पुरै खर्च हुन नसकेको भन्दै निर्माण व्यवसायीलाई जवाफदेहि बनाउने पनि उनले बताएका छन् ।

खानेपानी र गाविस गाभ्ने प्राथमिकता

राजधानी जोडने वैकल्पिक मार्ग बनाउने, उच्च आर्थिक वृद्धि हासिल गर्ने, सबैलाई खानेपानी सुविधा पुर्‍याइने र मेलम्चीको पानी नआइपुगिञ्जेल काठमाडौंमा समय तालिका बनाएर ट्याङकरबाट पानी बाँड्नेजस्ता केही लोकप्रिय कार्यक्रम पनि उनले घोषणा गरेका छन् । तोकिएको समयमा पानी नबाड्ने कार्यालयको हाकिमलाई कारबाही गर्ने पनि उनले घोषणा गरेका छन् ।

स्थानिय निकायमा पनि उनले केही नयाँ कार्यक्रम ल्याएका छन् । गाविसहरुलाई गाभिन प्रोत्साहन गरिएको छ । यसका लागि उनले दुईदेखि ५ वटासम्म गाविस गाभिएमा ५० लाखदेखि अढाई करोडसम्म अनुदान दिने घोषणा गरेका छन् ।

५ बर्षभित्र पुर्ननिर्माण गर्ने अठोट व्यक्त गर्दै महतले त्यसका लागि पहिलो चरणमा ६ खर्ब ६६ अर्ब छुट्याएका छन् । पुर्ननिर्माण ऋणपत्र जारि गरिने र ७४ अर्बको पुर्ननिर्माण कोष बनाउने पनि उनले घोषणा गरेका छन् । यसमध्ये आवासमा ५० अर्ब, उत्पादनमा ६ अर्ब र सामाजिक क्षेत्र ६ अर्ब छुट्याइएको छ ।

पुर्ननिर्माण प्राधिकरणलाई १७ अर्ब

पुर्ननिर्माण प्राधिकरणले काम नगरेसम्म बिषयगत मन्त्रालयबाट काम हुने व्यवस्था उनले गरेका छन् । कोषबाट हुने बाहेक थप १७ अर्ब अन्य निकायबाट खर्च गरिने व्यवस्था बजेट मा मिलाइएको छ ।

घर पूर्ण रुपमा क्षति भएका भूकम्प पीडितले सरकारले तोकेको मापदण्ड अनुसार आफैले घर बनाउने हो भने सरकारले २ लाख सम्मको अनुदा सहयोग गर्ने घोषणा उनले गरेका छन् । भूकम्प प्रभावित जिल्लाका ५० हजार युवालाई सिममूलक तालिम दिइने पनि बजेट मा उल्लेख गरिएको छ ।

विदेशी लगानी ल्याउनक लागि ऐनमा सुधार गरिने, विदेशीलाई अपार्टमेन्ट किन्न सहज बनाइने घोषणा उनले गरेका छन् ।

अर्को वर्ष लगानी सम्मेलन गर्ने पनि उनले घोषणा गरेका छन् । पुर्वाधार बिकास बैंक स्थापना गर्ने प्रारम्भिक काम गरिने छ । एनआइडिसी र जलविद्युत कम्पनीको पुर्नसंरचना गर्ने बताउँदै उनले १५ प्रतिशत बढी मूल्य परेपनि सरकारी निकायले स्वदेशी सामान किन्नुपर्ने व्यवस्था गरिएको छ ।

तरार्इमा १० सुविधासम्पन्न सहर बनाइने

रामेछापको ठोसेमा फलाम खानीको संभाव्यता अध्ययन गरिने । विमानस्थल पुर्ननिर्माण र सुधार गर्न ५ अर्ब छुट्याएका छन् भने तराइ मधेशमा १० वटा सुविधासम्पन्न सहर बनाइने घोषणा गरेका छन् । यी सहरहरुमा ६ लेनको व्यापारिक बाटो बनाइने, नेपालगञ्जमा चक्रपथ बनाइने घोषणा गरिन बजेट ले गरेको छ ।

फास्ट ट्रयाकलाई १ अर्ब तथा भैरहवामा निर्माणाधीन विमानस्थलका लागि २ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

भुकम्प प्रभावित क्षेत्रमा एकिकृत वस्ती गुरुयोजना २५ करोड विनियोजन गरिएको छ भने हुम्ला र डोल्पालाई सडकले जोड्ने कार्यक्रम घोषणा गरिएको छ । निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत डेढ करोड र सबैलाई २० लाख दिएर अर्थमन्त्रीको सभासद् रिझाउने प्रयास गरेका छन् ।

नयाँ नगरपालिकालाई १ करोड

नयाँ नगरपालिकालाई निशर्त १ करोड पँुजीगत अनुदान दिने कार्यक्रम उनले घोषणा गरेका छन् । काठमाडौ, निजगढ र लुम्बिनीमा एक एक वटा स्मार्ट सिटि बनाउने र संघीयताको परिप्रेक्ष्यमा काठमाडांै शहरलाई राष्ट्रिय राजधानी शहरका रुपमा बिकास गर्ने घोषणा गरिएको छ ।

काठमाडौं उपत्यकामा ४ सय सार्वजनिक शौचालय बनाइने पनि उनले घोषणा गरेका छन् ।

…………………………..

अर्थमन्त्री रामशरण महतले बजेट भाषण गर्दै आगामि दिनमा आउनसक्ने विपत् व्यवस्थान र भूकम्पपछिको पुनर्निमाण र पुनस्थापनाका लागि राष्ट्रबैंक मातहत कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

आगामि ३ वर्षमा सबै निर्वाचन क्षेत्रमा बाह्रै महिना चल्ने सडक बनाउने पनि उनको बजेट भाषण्मा उल्लेख गरिएको छ । पुनर्निमाणमा ६ खर्ब ६६ अर्ब लाग्ने पनि उनले बताएका छन् ।

शान्ति प्रक्रियासँग जोडिएका दुई महत्वपूर्ण आयोगका लागि बजेट छुट्याएको उनले बजेट भाषणमा बताएका छन् । सबै जनसंख्यालाई खानेपानी पुर्‍याउने प्रतिबद्दता जनाएका छन् ।

…………………………..

अर्थमन्त्री रामशरण महतले आगामि आर्थिक वर्ष २०७२/७३ काे बजेट भाषण सुरु गरेका छन् । केहीबेरअघिको मन्त्रिपरिषद् बैठकले बजेटप्रस्ताव स्वीकृत गरेको छ ।

…………………………..

अर्थमन्त्री रामशरण महतले आगामि आर्थिक वर्ष २०७२/७३ का लागि करिब ८ खर्ब १९ अर्बको बजेट प्रस्तुत गर्दैछन् । केहीबेरअघिको मन्त्रिपरिषद् बैठकले बजेट प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री महत बजेट भाषण गर्न संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन् ।

…………………………..

४ बजे व्यवस्थापिका संसद्मा महतले बजेट प्रस्तुत गर्दैछन् । यसका लागि सांसद्हरु संसद्मा पुग्ने क्रम सुरु भएको छ ।

यसपटक आयकर छुटको दर र सीमा परिवर्तन नहुने स्रोतले बताएको छ । पूनर्निमाण कर नलाग्ने भएको छ भने भ्याटको थ्रेसहोल्ड (कर नलाग्ने सीमा) २० लाखबाट ५० लाख बनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु