पौष ८, काठमाण्डौ । नेपाली सांगीतिक धरातलमा लगभग तीन दशकको यात्रामा आफूलाई अग्र स्थानमा राख्दै आएका सदावहार गायक आनन्द कार्की नामजत्तिकै आनन्ददायक गायकका रूपमा परिचित छन् । सुमधुर स्वरका धनी सदाबहार गायक कार्कीलाई विशेषतः गजल गायनमा बढी रुचाइएका छन् । यतिबेला उनै चर्चित एवं लोकप्रिय गायक आनन्द कार्कीेको सुनसान रातमा लेखेको कहानी हराएको छ । कार्कीको पन्ध्रौ एल्बम ‘लभ यू फरेभ’मा समावेश गरिएको ‘सुनसान रातमा लेखेको कहानी हरायो’ बोलको गजल पछिल्लो समयमा सांगीतिक क्षेत्रमा चर्चित छ ।
सार्वजनिक भिडियोको गजलमा गायक कार्कीलाई संजिवनीले साथ दिएकी छन् । यसमा शब्द शेर्पिनी कान्छीको हो भने संगीत शिखर सन्तोषले दिएका छन् । यो गजल मुम्बईमा रेकर्डिङ गरिएको हो । भिडियोमा जवानीको मायाप्रेमका कुरालाई वृद्ध अवस्थामा पनि सम्झिएको कुरा देखाइएको छ । दिपेन्द्र केसीको निर्देशनमा भिडियो तयार भएको हो । अनिल थापा र प्रियंका एमभिको अभिनय रहेको भिडियोलाई रामकुमार केसी र सुदिप बरालले खिचेका छन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीलले गरेका हुन् ।
आनन्द कार्कीको पन्ध्रौ एल्बम लभ यू फरेभरमा १० वटा गीत गजल राखिएका छन् । पहिले नै निकै चर्चामा रहेको ‘जीवनमा धेरै खोला तर्नु छ’ बोलको गजललाई रिमेक गरिएको छ । एल्बममा ए मेरी माया, देखें जबदेखि, आज फूलसँग साट, खुलेनन् कि नयन तिम्रो, यो मन तिमीलाई दिएँ, मरे भने प्रियसी म बोलका गीत छन् भने छाडी जाँदैछु म शहर बोलको गजल पनि छ । यो एल्बममा उनले स्वदेशी सामानको प्रयोग गरौं भन्ने सन्देशमुलक गीत पनि समावेश गरेका छन् । यो गीतमा गायनमा कार्कीलाई इन्दिरा जोशीले साथ दिएकी छन् ।
लभ यू फरेभरका गीतहरुमा प्रकाशपुञ्ज, डा. ध्रुबचन्द्र गौतम, शेर्पिनी कान्छी, गजेन्द्र रन्जित, ज्ञानुवाकर पौडेल, आनन्द अधिकारी, शिला पन्त, स्वप्निल बराल, रघु भन्डारी र गणेश क्षेत्रीको शब्द रचना छन् । एल्बमका गीतहरुमा सन्जय खड्गी, शक्ति बल्लभ, शिखर सन्तोष, मनोहर सुनाम, दिपक जंगम, रामचन्द्र अन्जान र स्वयं गायक कार्कीले संगीत भरेका छन् । यो एल्बमलाई आनन्द इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।
भिडियो: