• बरालको ‘मन भमरा’ सँगै पुनरागमन

    म्यूजिक खबर
    प्रकाशित: ३ फाल्गुन २०७३, मंगलवार

    फागुन ३, काठमाण्डौ । गायक यम बरालको नयाँ गीति एल्बम ‘मन भमरा’ सार्वजनिक भएको छ । मंगलबार राजधानीको दबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित एक समारोहबीच उनको एल्बमको उपराष्ट्रपति नन्दबहादुर पुनले विमोचन गरे ।
    एल्बममा समावेश बरालका र गायिका कोमल वलीले संयुक्त रुपमा स्वर भरेको गीत ‘मन भमरा’, यसैगरी नायिका रेखा थापासँग गाएको ‘भुइँको माया टिप्न खोज्दा’, उनको एकल स्वरको ‘सप्तरंगी इन्द्रेणी’ र ‘सागरबीचको मोती’ बोलका चारका म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

    man-bhamara-58a271964e2831.88847553
    कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले बराल आफूलाई मनपर्ने गायक भएको भन्दै एल्बम बिमोचन गर्न पाउँदा खुशी लागेको बताए । आफू नेपाली गीत–संगीतमा खर्चेको लामो समय खेर जान नदिउँ भन्ने संकल्पका साथ नेपाल फर्किएको बताउँदै यमले पुनरागमनका रुपमा लिन आग्रह गरे ।
    कार्यक्रममा बरालले ‘उनका कुरा’, ‘अब चोटहरूले’, ‘दिलमाया’, ‘निष्ठुरीले छोडेर गइहाली’ जस्ता आफ्ना नयाँ तथा पुराना गीतहरू गाएर सुनाएका थिए । एल्बममा समावेश अन्य गीतहरूमा ‘मरी लानु क्या छ र’, ‘उनका कुरा’, ‘सारंगीको धुन’, ‘पिउँदै नपिउने मान्छे’, ‘मेरो बदनाम’, ‘जिन्दगीभरिलाई’ र ‘म मात्तिएको बेला’ लगायत १० गीत समावेश छन् ।

    विन्ध्यवासिनी म्युजिक कम्पनीद्वारा उत्पादित एल्बममा यी गीतमा शब्द राजेन्द्र थापा, मुकुन्दराज शर्मा, जेपी ढुंगेल, विमल डाँगी, रोशन पाल्पाली, बरन राना, राम लामा तथा प्रकाश गौचनको रहेको छ भने संगीत दीपक शर्मा, शान्तिराम राई, गणेश पराजुली, आलोकश्री, विमल डाँगी, किरण श्रेष्ठको रहेको छ । तीन गीतमा बराल आफैंले संगीत भरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु