काठमाडौं । पत्रकार डब्बु क्षत्रीको पहिलो कथा संग्रह ‘नमस्ते काठमान्डू’ पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा कलाकारहरूले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरेको छ ।
संग्रहका कथाको भाव समेटेर बनाईएको गीत ‘नमस्ते काठमान्डू’ पनि सोही कार्यक्रममा सर्वजनिक गरिएको थियो । जुगल डंगोलको संगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरूले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए ।
पुस्तक लोकार्पण पछि सो कथासंग्रहमाथि अन्तरक्रिया आयोजना गरियो । लेखक सचिन घिमिरेले सहजीकरण गरेको सो अन्तरक्रिया कार्यक्रममा अभिनेत्री ऋचा शर्माले संग्रहका कथामा उल्लेखित घटना र पात्रहरू आफुले आफ्नै समाजमा देख्दै आएको बताईन् ।
संग्रहका थुप्रै कथाका पात्रहरू आफुलाई मन परेको र ती पात्रको रूपमा अभिनय गर्न आफ्नालागि चुनौती बन्ने सक्ने भनाई राख्दै उनले भनिन्, ‘कथामा समेटिएका कतीपय पात्रहरू यस्तो मनोविक्षिप्त छन की उनीहरूको भूमिका निर्वाह गर्न पनि निकै चुनौतीपूर्ण मैले ठानेको छु ।’
पत्रकार यज्ञशले सञ्चारकर्मी डब्बु क्षत्री लामो समयदेखि पत्रकारितामा आबद्ध भएको र संग्रहका कथामा पत्रकारिताको लेखन शैली झल्किएको बताए । कथाहरूमा नयाँ प्रयोग गरिएको बताउँदै समाजका बर्ग अनुसारको यौन अबस्था र त्यसको स्थितिलाई कथामा समेटिएको बताए ।
क्षत्रीले कथामा आफ्नो छुट्टै पन बनाएको र समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिंगलाई टिपेर कथामा उनिएको भन्दै यज्ञशले कथाहरू सबै बर्गका लागि लेखिएको बताए । उपन्यासकार जया ओझाले अन्तरक्रियामा बोल्दै नमस्ते काठमाडौंका कथाहरू यौनमा केन्द्रित भएर पनि पटक्कै अश्लिल नभएको बताईन् । तर कथाहरूलाई शिर्षकमा बर्ग नछुट्याई कुन कथा कुन बर्गको हो भनेर छुट्याउने जिम्मा पाठकलाई नै दिएको हुन्थ्यो भनिन् । तथापि कथाले जो कोहीको मन छुने पनि उनले बताईन् ।लेखक डब्बु क्षत्रीले आफुले समाजमा देखेका घटनाहरूलाई कथामा ढालेर यो संग्रहमा ल्याएको बताए ।
‘नमस्ते काठमान्ड’ कथाहरूलाई यौन अस्लिलता नभएर यौन बिद्रोहको रूपमा कथाकार क्षत्रीले व्याख्या गरे । समाजमा जे देखेको त्यही घटनालाई कथामा बुनेको पनि बताए । संग्रहमा १८ ओटा कथा रहेका छन् ।