![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
मङ्सिर ६, काठमाडौं । जनताका मर्म, वेदना र भोगाईलाई शब्दको माध्यमबाट संगीतमा उनेर गीत गाउने जनवादी गायक खुशिराम पाख्रिनको आज चितवनको ज्ञानेश्वर सामुदायीक बनमा तामाङ संस्कार अनुसार अन्त्यष्टी गरिएको छ ।
बाम गठबन्धनले मंगलबार आयोजना गरेको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै पाख्रिन लाई हृदयघात भएको थियो । लगत्तै उपचारका लागी नारायणी सामुदायीक अस्पताल भरतपुरमा पुर्याइएका पाख्रीनको मंगलबार नै उपचारका क्रममा निधन भएको हो ।
विक्रम संवत २००९ साल कार्तिक ९ गते जन्मनु भएका पाख्रिनका श्रीमती, १ छोरा र २ छोरी हुनुहुन्छ । २ छोरा मध्य १ छोराको जनयुद्धकै क्रममा २०६१ सालमा ज्यान गएको थियो । २०३८ सालमा सगरमाथाको काखवाट भन्ने प्रगतिशील गीतवाट साङगीतिक यात्रा आरम्भ गर्नुभएका पाख्रिनका ५ सय भन्दा बढी रचना प्रकाशित भएका छन् ।
पाख्रिनको शवलाई आज अन्तिम श्रद्धान्जलिका लागी माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता राम वहादुर थापा बादल, अमिक शेरचन, एमाले नेता, साध्यवहादुर भण्डारी,केशवलाल श्रेष्ठ लगायतका नेता पार्टी कार्यालय पुगेका थिए ।
पाख्रिनको शवलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न पार्टी कार्यालयमा सयौंको संङख्यामा नेता कार्यकर्ता उपस्थित भएका थिए । पाख्रिनको निधनले पार्टी,नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साहित्यक, साँस्कृतिक आन्दोलनमा अपुरणीय क्षती पुगेको माओवादी केन्द्रले जनाएको छ ।