काठमाडौँ । प्रमोद खरेल नेपाली सांगीतिक क्षेत्रका चर्चित र लोकप्रिय गायक हुन् । गायकीमा प्रशंसा बटुलेका गायक कविता लेख्नमा पनि अब्बल देखिएका छन् । कोरोना महामारीका कारण भएको लकडाउनको सदुपयोग गर्दै लेखेको कवितामा उनले देशमा बढ्दो भ्रष्टाचार र विसंगीतलाई व्यंग्य गरेका छन् । कवितामा आम नागरिकको पीडालाई उनले सम्बोधन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको उनको उक्त कविता जस्ताको तस्तै पढौं –
म बन्द कोठा भित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ
मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारी को भेलले
घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु।।।
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु।।।
पुर्खा को इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ
कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ
देश र जनताको नामको पर्चा छर्छन् यहॉ
दुनो सोझ्याउनु त छ सबैलाइ
भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहॉ
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोल को अभावले मर्छन यहॉ
म बन्द परिवेश भित्र थुनिएको छु
डर र त्रास ले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु …
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु …