‘देवर ज्यूको बिहे’लाई उत्साहजनक भ्यूज, ह्वात्तै बढ्यो सब्सक्राइब

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७९, आईतवार

काठमाडौं । युट्युब च्यानल र भ्यूज प्रति सामान्यतया हाम्रो एउटा बुझाई छ– जति धेरै ‘सब्स्क्राइब’ उति धेरै दर्शक, अनि जति धेरै दर्शक उति धेरै कमाइ ।’ तर यो बुझाई यतिबेला गलत भएको छ । सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता हात पारेकी गायिका सिन्धु मल्लले नयाँ च्यानलमा नयाँ गीत ‘देवर ज्यूको बिहे’ सार्वजनिक गरिन् । च्यानल नयाँ थियो, ४०० पनि सब्सक्राइब नपुगेको (गीत अपलोड हुँदा) । तर यो गीतले उत्साहजनक भ्यूज मात्रै पाएन, सब्स्क्राइब पनि ह्वात्तै बढाएको छ । यो समाचार तयार पारिरहँदा यो गीतलाई ७ लाख ६८ हजार बढीले हेरिसकेका छन् । झण्डै १४ हजार सब्सक्राइब पुगिसकेको छ । यसोत यो गीत आउँदैछ भन्ने खबरसँग शुभचिन्तकहरु यसको व्यग्र पर्खाइमा थिए ।

हिट गीत ससुरालीको सिक्वेल जस्तै मानिएको हुँदा पनि गीत पहिल्यैबाट प्रतिक्षित थियो । वर्षौं अघि ससुरालीमा मार्फत सहकार्य गरेको जोडी सिन्धु र गायक बद्री पंगेनीको पुनः सहकार्य देखेर पनि फ्यानहरु आतुर थिए उनीहरुको गीत सुन्न । १० वर्ष पछि बद्री र सिन्धुले सँगै गाएको गीत सार्वजनिक भएको हुँदा पनि उनीहरुको फ्यानहरूको तिर्खा मेटाइदिएको यो गीतले ।

गीतमा सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको पनि स्वर रहेको छ। भिडियो सिन्धु मल्लको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। गीत सिन्धु मल्ल आफैले लेखेकी हुन् भने गीतमा संगीत सुदाम थापाले दिएका छन्।

सुप्रिम, पूजा पछिल्लो समयमा श्रोताको रोजाइमा पर्ने गायक गायिका भएको हुँदा पनि गीत रुचाइनुमा अर्को कारण मान्न सकिन्छ ।
समग्रमा गीत निकै कर्णप्रिय बनेको छ । शब्द, संगीत र स्वरको राम्रो तालमेल भएको छ ।

गीतको भिडियो पनि उतिकै राम्रो सजिलै बुझ्ने गरि बनाइएको छ । निर्देशन समेत संगीतकार सुदाम थापाले गरेका हुन्। भने गीतको कोरियोग्राफी चर्चित निर्देशक शिव विकले गरेका छन्। भिडियोमा बसन्तराज सन्जेल, बिमला उपाध्याय, गायिका उपाध्यायको अभिनय रहेको छ । त्यस्तै सक्षम सिंह थापा, सुप्रिया थापा र निवेदिता थापाले नव कलाकारको रुपमा अभिनय गरेका छन् भने गायक बद्री पंगेनी, गायिका सिन्धु मल्ल, गायक सुप्रिम मल्ल, गायिका पूजा देबकोटा समेत भिडियोमा देखिएका छन् ।

गीतमा आएका रियाक्सनहरू पनि निकै उत्साहजनक छन् । अहिलेसम्म गीतले करिब २६ हजार लाइक्स र हजारभन्दा बढी प्रतिक्रिया पाइसकेको छ । प्रतिक्रियाहरू अधिकांश सकारात्मक छन् र सिन्धु र बद्रीकोे प्रशंसामा केन्द्रित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु