काठमाडौं । भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचार सम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आज रेडियो नेपालमा आयोजित प्रतियोगितामा रामजी थापा (रोचक)को शब्द रचना रहेको होसियार खबरदार बोलको गीतले प्रथम स्थान हासिल गरेको हो ।
उक्त गीत भानुभक्त ओली, पासाङ डोमा शेर्पा, अन्जु गौतम, केशब अधिकारी र लिलाबहादुर श्रेष्ठले गाउनुभएको थियो ।
त्यस्तै, खड्ग गन्धर्वको शब्द रचना रहेको भ्रष्टाचार नियन्त्रण सुशासन बोलको गीतले द्वितीय स्थान हासिल गरेको छ । गीतमा करुणा गन्धर्व र स्मृति शाहीले स्वर दिनुभएको थियो ।
प्रतियोगितामा गोरखाका निश्चल गुरुङ तृतीय र इलामका टेकनाथ दियाली सान्त्वना हुनुभएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा मूलकभरबाट सहभागी ७६ जना प्रतियोगीहरू मध्यबाट १५ जना छनौट गरी उनीहरुबीच आज रेडिया नेपालको प्राङ्गणमा प्रत्यक्ष प्रतिस्पर्धा गरिएको हो ।