३३औं पारिजात स्मृति दिवस सम्पन्न, चार सिर्जनशील व्यक्तित्व सम्मानित

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०८३, सोमबार ०२:१८

काठमाडौं । ३३ औं पारिजात स्मृति सभा २०८३ साल वैशाख ५ गते पारिजात स्मृति भवन, म्हेपीमा सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् महिला नेतृ अष्टलक्ष्मी शाक्य रहेकी थिइन् । पारिजात स्मृति केन्द्रका संरक्षक सुकन्या वाइबाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पारिजातको सिर्जनशील व्यक्तित्वका बारेमा डा। सिर्जना शर्माले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पारिजात बालसाहित्य सम्मान – २०८२ बाट रामबाबु सुबेदीलाई , पारिजात कला सम्मान – २०८२ बाट शरद पौडेललाई, पारिजात सङ्घर्षशील नारी सम्मान – २०८२ बाट देवि खड्कालाई र पारिजात सिर्जन सम्मान – २०८२ बाट नविन विभासलाई सम्मानित गरियो ।

पुरस्कृत स्रष्टाहरूको बारेमा र सोही कार्यक्रममा विमोचन गरिएको वेदना साहित्यिक त्रैमासिकको बारेमा स्मृति केन्द्रका सदस्य डा। अमृता शर्माले परिचयात्मक मन्तव्य राखेका थिए । सम्मानित प्रतिभाहरूले पनि कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राजनैतिक विश्लेषक श्याम श्रेष्ठ , संबिधान सभा सदस्य बिन्दा पाण्डे, पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्षहरू डा. महेश मास्के , डा. राजेन्द्रप्रसाद अधिकारी, मातृका पोखरेल, भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्ट, महिला नेत्री उषाकिरण तिम्सिना, कोशी प्रदेशका पूर्व सभामुख बाबुराम गौतम लगायत ठुलो संख्यामा राजनीतिक व्यक्तित्व एवम् साहित्यकारहरूको उपस्थिति थियो ।

कार्यक्रमको संचालन महासचिव दिलसुन्दर श्रेष्ठले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु