
काठमाडौं । बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाउनुभएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त कृतिको लोकार्पण गरिएको थियो। कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित हुने बताए । पुरस्कार, प्रतियोगिता र प्रचारका भरमा स्थापित हुने चाहना राख्ने सर्जकहरूको भीडमा केदार सङ्केत फरक देखिएको उनको भनाइ थियो । प्रयोगवादी शैली, विषयवस्तुको विविधता र कथानकको गम्भीरताले गर्दा राम्रो कृतिले समयसँगै आफैँ मूल्याङ्कन पाउँदै चर्चा प्राप्त गर्ने उहाँले बताए ।
कृतिमाथि समीक्षा गर्दै साहित्यकार प्रगति राईले केदार सङ्केतका कथाहरू फरक धारमा आएको उल्लेख गर्दै यथार्थवाद र प्रयोगवादलाई प्रश्रय दिएको बताए । उनले कृतिका रूपमा आइपुग्दा कथाहरू यथेष्ट परिमार्जित र परिष्कृत बनेको उल्लेख गर्दै आगामी लेखनकर्म अझ सशक्त रूपमा अघि बढोस् भनी शुभकामना व्यक्त गरे ।
कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै भएको बताउँदै आकर्षक कलेवर र साजसज्जामा आएको पुस्तकमा मूर्धन्य साहित्यकारहरूको भूमिका रहनुले कृतिको स्तरीयता पुष्टि हुने बताउनुभयो । उहाँले केदार सङ्केतका कलात्मक प्रस्तुति र कथाहरू नेपाली साहित्यको समृद्धिमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
सभापति खेमनाथ दाहालले प्रस्तुत कथाहरू नयाँ शैलीमा लेखिएको र आफू ती कथाबाट अत्यन्त प्रभावित भएको उल्लेख गर्दै गहन समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
कृतिकार केदार सङ्केत भौतिक रूपमा उपस्थित हुन नसके पनि भिडियो कलमार्फत आफ्नो लेखकीय मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखकले सिर्जनाका माध्यमबाट आफ्ना कुरा अभिव्यक्त गर्ने भएकाले धेरै बोलिरहनु नपर्ने उहाँको भनाइ थियो । पाठकको प्रतिक्रिया नै लेखकका लागि ठूलो पुरस्कार भएको उल्लेख गर्दै प्राप्त प्रतिक्रियाका आधारमा आगामी लेखनकर्म परिमार्जन गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।
सो अवसरमा रचना साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे, साहित्यकार तथा सुनुवार सेवा समाजका उत्तम कातिजलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार, सानु श्रेष्ठ, सोजुहाङ किराँत, गंगाप्रसाद भेटवाल, जयराम बिडारी, अक्कल कुवँरलगायत लेखक तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रम मिलाप मासिकका सम्पादक कृष्ण भुसालको मन्तव्यसहित सम्पन्न भएको थियो ।