अमेरिकी सपनाको कालबाटोः ‘डङ्की’ रुटको भयानक दृश्य डा. चन्द्र गिरीको उपन्यासमा

म्यूजिक खबर
प्रकाशित: १८ असार २०८३, बिहीबार २३:५२

काठमाडौं । अवैध र जोखिमपूर्ण मार्ग (डङ्की रुट) प्रयोग गरी अमेरिका छिर्न खोज्ने नेपाली युवाहरूको संघर्षपूर्ण यात्रामा आधारित उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ सार्वजनिक भएको छ। असार १४ गते, काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित एक विशेष समारोहका बीच कृतिकार डा. चन्द्र गिरी, मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी, पत्रकार तथा उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ र कवि शंकर गिरी ‘पथिक’ले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो। बुकहिल प्रकाशनले बजारमा ल्याएको यो उपन्यासले नेपाली युवाहरूको विवशता र आप्रवासनको तीतो यथार्थलाई समेटेको छ।


स्थलगत अध्ययन र गहिरो अनुसन्धानमा आधारित
विज्ञान क्षेत्रमा स्थापित व्यक्तित्व लेखक डा. चन्द्र गिरीले कोलम्बियाको नेकोक्ली सहरमा डङ्की रुटमार्फत अमेरिका जाने तयारीमा रहेका नेपाली युवासँग प्रत्यक्ष भेट गरेपछि यो उपन्यास लेख्ने प्रेरणा पाएको बताउनुभयो। पुस्तकमा मानव तस्करको पञ्जा, ड्यारियन ग्यापको भयानक जङ्गल, मरुभूमिको उखरमाउलो राप र सीमाको पर्खाल पार गर्दा भोग्नुपर्ने कष्टकर त्रासदीलाई गहिरो स्थलगत अनुसन्धान र तथ्यसहित उतारिएको छ। लेखक गिरीका अनुसार, यो कृति केवल एउटा कथा मात्र नभएर सुन्दर सपनाको खोजीमा हिँडिरहेका असंख्य प्रवासीहरूको सजीव र करुण मानवीय दस्तावेज हो।

समीक्षकहरूको दृष्टिकोणः ‘तल्लो बाटो’भन्दा आधिकारिक र जीवन्त
लोर्कापण समारोहमा बोल्दै वरिष्ठ आख्यानकार कृष्ण धरावासीले ‘डङ्की’ आद्योपान्त पठनीय आख्यान भएको उल्लेख गर्नुभयो। आफ्नो पूर्वप्रकाशित उपन्यास ‘तल्लो बाटो’ ९२०७४० सँग विषयवस्तु मिल्दोजुल्दो भए पनि यसको प्रस्तुति बिलकुलै फरक र परिपक्व रहेको उहाँको भनाइ थियो। धरावासीले भन्नुभयो, ‘मैले अमेरिका पुगेका केही पात्रहरूसँगको संवादका आधारमा उपन्यास लेखेको थिएँ, तर डा. गिरीले सम्बन्धित भूगोलमै पुगेर प्रत्यक्ष अध्ययनका आधारमा लेख्नुभएकाले यो कृति अझ बढी प्रामाणिक, विश्वसनीय र आधिकारिक बनेको छ।’

बहस र ध्यानाकर्षणको नयाँ मोड
समारोहका अन्य वक्ताहरूले देशको यो जल्दोबल्दो र गम्भीर सामाजिक समस्यालाई साहित्यमार्फत सशक्त ढङ्गले उजागर गरिएको भन्दै यस विषयमा सरकार तथा नीतिनिर्माताहरूको समेत ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए। काठमाडौँमा पूर्ण लोकार्पण हुनुअघि यस पुस्तकको आवरण (कभर) अमेरिकाको कोलोराडोमा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका क्रममा सार्वजनिक गरिएको थियो। रहर र बाध्यताले विदेशी भूमिमा ज्यान जोखिममा राख्ने नेपालीहरूको ऐनाका रूपमा रहेको यो उपन्यास अहिले बजारमा उपलब्ध भइसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु