ए मान्छे : १२ वर्षपछि फर्किए गायक सचिन रौनियार

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७५, बिहीबार

काठमाडौं । पुराना गायक सचिन रौनियारले झन्डै १२ वर्षपछि फर्किएका छन् ‘ए मान्छे’ गीत लिएर । पछिल्लो समयको समाजको यथार्थ चित्रणलाई प्रस्तुत गर्दै उनी गायनमा फर्किएका हुन् । डेढ दशक अगाडीको गीतसंगीतमा सुनिने र गुन्जिने नाम भएता पनि झन्डै १२ वर्षपछि उनी गायनमा कमब्याक भएका हुन् । एनलगको जमानामा चलेका गायक सचिन डिजिटल युगको पहिलो गीत ए मान्छे लिएर आएको बताए । केहि नयाँ गर्ने सोच्दा सोच्दै समय वितेको पत्तै पाइदो रहेनछ । १२ वर्ष भइसकेछ । यसपटक नयाँ परिवेश , प्रविधिमा काम गर्दा फरक र रमाइलो अनुभूति भयो उनले भने । क्यूज सिनेमाको हलमा भिडियो सार्वजनिक गर्दै सचिनले आफू अब गायनमा फर्किएको बताएका थिए । मनोरञ्जनसँगै अनेकतामा एकताको सन्देश समेत दिने गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ ।

 

भिडियोमा सचिनसँगै गायक सञ्जय श्रेष्ठ, बबिन प्रधान, भिम तुलाधर विशेष रुपमा देखाइएको छ । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ‘मनमगन’ पछि यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै कन्जुस्याईं नगरेको बताएका छन् । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन, भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

सचिनले गायनमा झन्डै अढाई दशक बिताईसकेका छन् । बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ’सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । सर्चसँगै स्पर्श , नशा , सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन । छ भनौ कि छैन भनौ , यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी , ए माया कहाँ छौ कहाँ , झन् झन् बढ्यो याद तिम्रो , आफ्नो मान्छे लगायतका उनको गीतले पछिल्लो पुस्तासम्म उनलाई पुर्याएको छ । १२ वर्षको अन्तरालमा ए मान्छे लिएर आएका सचिनले अब संगीतलाई निरन्तरता दिने बताएका छन् ।

कार्यक्रममा संगीतकार न्ह्यू बज्राचार्य, गायक जेम्स प्रधान, योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, बबिन प्रधान, भीम तुलाधर सुकमित गुरुङ, अभिनेत्री सनी रौनियार लगायतले सचिन रौनियारलाई शुभकामना दिएका थिए । एकआपसमा हाँस्यव्यंग्यसहित उनीहरुले सचिनको कमब्याकको प्रसंशा गरेका थिए । कार्यक्रम नरेश भट्टराईले संचालन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु