सुगम संगीतमा भविष्य कोर्दाकोर्दै एकाएक भजनमा मग्न बबिना

म्यूजिक खबर
प्रकाशित: १५ आश्विन २०७९, शनिबार

काठमाडौं । समाजलाई सकारात्मक र नैतिक जागरणतर्फ प्रेरित गराउने संगीतको एक बिधा हो भजन गीत । प्रायः गायक–गायिकाले आफ्नो सांगीतिक करिअर अवधीभर एकाध दुई भजन गाउँछन् । प्रमोद खरेल, रामकृष्ण ढकाल, आनन्द कार्की, अञ्जु पन्त, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, पशुपति शर्मा, खुमन अधिकारी, राधिका हमाल, देवी घर्ती, देवीका वन्दना जस्ता मूलधारकै अधिकांश गायक–गायिकाले पनि भजन गाएका छन् । तथापी भजन गायनमा व्यवसायिकता भने हुन सकेको छैन । भजन गाउनुलाइ उनीहरु केवल आत्मसन्तुष्टिसँग जोड्छन् । पूर्णकालिन भजन संगीतमा लाग्नेहरु नगण्य छन् । ती मध्येमा पछिल्लो समय भजनलाई रोज्दै आएकी गायिका हुन् बबिना भट्टराई ।

उसो त बबिनाले नेपाली सांगितिक क्षेत्रमा झण्डै डेढ दशक समय खर्चिसकेकी छिन् । नेपालका चर्चित गायक तथा संगीतकारहरु जगदिश समाल, दिपक शर्मा, नरहरी प्रेमी, देबेन्द्र नेवा, सिमान्त सन्तोष लगायतका कलाकारसँग उनले सहकार्य गरेकी छिन् । नेपाली, हिन्दी गीतहरु मज्जाले गाउँछिन् । उनले गाएको ‘तिमीले बाचा तोड्यौ भने’ गीतले सांगीतिक बजारमा राम्रो चर्चा कमाएको थियो । युट्युबमा सर्च गर्दा पनि उनको मधुर स्वरले सजिएका थुप्रै गीत भेटिन्छन् ।

बबिना पछिल्लो समय भजन गीतमै मग्न छिन् । बबिना पनि आम गायक गायिका झैं सन्तुष्टिकै लागि भजन गाएको बताउँछिन् । उनि भन्छिन् –‘भजन धर्म र संस्कारसँग जोडिएको छ । जसको गायनले मात्र होइन सुन्दा समेत मनलाई आनन्द र शान्त बनाउँछ । मेरा बुझाइमा अधिकांशले आत्मसन्तुष्टिकै लागि भजन गीत ल्याउनुहुन्छ ।’

एक वर्षअघि सरस्वती बन्दना भजनबाट शुरु भएको उनको भजन यात्रा यतिबेला ‘अगिरी नन्दिनी महिषासुरमर्दिनी’ स्तोत्रम सम्म आइपुगेको छ । उनले एक वर्षको अवधीमा २५ भन्दा बढी भजन गाइसकेकी छिन् । जसमध्ये गुरु बन्दना, श्री रुद्राष्टकम स्तोत्रम, हनुमान चालिसा, कृष्ण भजन– श्री कृष्ण गोबिन्द हरी मुरारी, दुर्गा माता भजन– जय अम्बे जय अम्बे लगायत छन् । उनले गाएका भजनहरु सुनेपछि उनको गायकीमा जो कोही मन्त्रमुग्ध अवश्य बन्नेछन् । सार्वजनिक भजनमा कमेन्ट हेर्ने हो भने उनले अहिलेका नयाँ पुस्तादेखि वृद्धवृद्धा, बालबालिका सबैलाई भजनमार्फत मोहनी लगाइरहेकी छिन् । एकपछि अर्को भजन निकाल्दै सबैभन्दा धेरै भजन गाउने गायिकाका रुपमा सक्रिय छिन् ।

सुगमसंगीतमा भविष्य कोर्दाकोर्दै एकाएक भजन तिर किन भन्ने प्रसंगमा उनी भन्छिन् – ‘भजन र गीतमा धेरै फरक छैन नी । गीतमा मायालुको गुनगान गाइन्छ भने भजनमा भगवानको वर्णन गरिन्छ । तर पछिल्लो समयमा भक्ति संगीतमा झूकाव अझ बढी छ । यसकारण पनि भक्ति संगीतमा रमाइरहेकी छु । फेरि हिजो आज भजन पारखी पनि झन् बढ्दै गएको महशुष गरेकी छु । युवापुस्तामाझ पनि भजनको लोकप्रियता उस्तै रुपले बढीरहेको छ । यस कारण भक्ति संगीतमा खुशी भेटेकाले यता लागेकी हुँ ।’

भक्ति संगीतलाई व्यवसायिक रुपमै अंगाल्न सकिएला भन्ने प्रश्नमा बबिना पनि आम गायक गायिका झैं सन्तुष्टिकै लागि भजन गाएको बताउँछिन् । उनि भन्छिन् –‘भजन धर्म र संस्कारसँग जोडिएको छ । जसको गायनले मात्र होइन सुन्दा समेत मनलाई आनन्द र शान्त बनाउँछ । सबैभन्दा ठूलो सम्पत्ति त श्रोता र युट्युबमा आएका कमेन्ट हुन् ।’ भजन गायनसँगै शुभचिन्तक पनि बढेको महशुष गरेकी छिन् । उनी यसमै दंग छिन् । उपलब्धी भएको ठान्छिन् । उनी भन्छिन् ‘म आफूलाई भाग्यमानी ठान्छु । ईश्वरको गुनगान गाउन पाएकी छु । सुखी छु । सन्तुष्ट छु ।’ आगामी दिनमा पनि भजन गाएरै करिअरलाई चलायमान बनाउने बताउँछिन् । ‘यसको मतलब भजन मात्रै गाउने भने चाहिं होइन । मेरो भागमा आइपरेका सबै खाले गीत गाउँन सदैब तयार हुन्छु’– उनले भनिन् ।

सबिता पोखरेल÷म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु